१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

भित्ता सफाइमा ग्राफिती

Share:
  
सडक सफाइबाट शुरू भएको विराटनगरका उत्साही युवाको एक समूहले अब शहरका भित्ता सफा गर्न ग्राफितीको प्रयोग शुरू गरेको छ।

९ चैत बिहान विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको भित्तामा पाँच जना युवाले चुना पोतेर उज्यालो पारे । तीमध्येका एकले सेतो क्यानभासमा कालो रङले कोरेर स्केच बनाए । उनीसँगैका युवाले त्यसमा रङ भरे । तीन घण्टामै प्रदूषण र महिला हिंसा विरुद्ध सचेत बनाउने खालका दुई ठूला चित्र तयार भए ।

नगरलाई सुन्दर बनाउन अभियान नै चलाएका विराटनगरका ‘विचार मिल्ने युवा’ को एक समूहले शुरू गरेको भित्ता सफाइ कार्य अन्तर्गत यी चित्र बनेका हुन् । ‘परिवर्तनका लागि हातेमालो अभियान’ नामक युवा समूहले २०७३ सालदेखि शुरू गरेको बाटोघाटो सफाइको काम विराटनगरमा धमाधम भइरहेको सडक स्तरोन्नतिका कारण अवरुद्ध भएकाले भित्ता सफाइको कार्य शुरू भएको हो ।

विराटनगरको हाटखोलास्थित एक घरको भित्तामा चित्र बनाउँदै युवाहरू । तस्वीरहरूः कमल रिमाल

५० हप्तासम्मको सडक सफाइपछि अभियानमा संलग्नहरूले भित्ता सफाइका लागि ग्राफिती कलाको प्रयोग शुरू गरेका हुन् । अभियानका उपाध्यक्ष राम पोखरेलका अनुसार सडक, मन्दिर, सरकारी कार्यालय र सार्वजनिक ठाउँमा सर–सफाइको काम गरेपछि अहिले सन्देशमूलक चित्र बनाउने अभियान थालिएको हो । भन्छन्, “विद्यालय, मन्दिर आसपासका सार्वजनिक भित्ता गुट्खा, खैनी र रक्सीका प्रचारले भरिएका छन्, यो सबै हटाउँदै जान्छौं ।”

शहर–बस्तीका भित्ता, पर्खालमा विभिन्न सन्देशमूलक चित्र बनाउने, सन्देश लेख्ने प्राचीन कलालाई ग्राफिती भनिन्छ । प्राचीनकालमा यस्ता ग्राफिती ढुंगामा बनाइन्थे, अचेल धेरैजसो स्प्रे पेन्टबाट बनाइन्छ । राजधानी काठमाडौंका भित्ता र पर्खालमा प्रशस्तै देखिने ग्राफिती अन्यत्र उति देखिंदैन । विराटनगरमा भने सडक स्तरोन्नतिबाट अवरुद्ध बाटोघाटो सफाइको अभियान भित्ता सफाइमा स्थानान्तरण हुने क्रममा ग्राफितीले प्रवेश पाउन सक्यो ।

अभियानमा संलग्न युवाहरू हरेक शनिबार बिहान ७ बजे भेला भएर ग्राफिती कोर्न थाल्छन् । यसका लागि एकले रङ खरीद गर्दा अर्काले चियाखाजाको खर्च व्यहोर्छन्, तेस्रोले यातायात खर्च ।

एक हजार युवालाई जोडेको अभियानमा फुर्सद हुनेहरूले हरेक शनिबार सामाजिक काममा योगदान गर्दै आएका छन् । सडक र भित्ता सफाइसँगै अभियानका सदस्यहरूले स्थानीय अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण जस्ता कार्य पनि गर्दै आएका छन् ।

अभियानका सदस्य जगत गिरी युवाहरू निरन्तर लागिरहँदा विस्तारै भए पनि सकारात्मक परिवर्तन आउनेमा आशावादी छन् । भन्छन्, “हामी आफ्नो अभियान चलाइरहन्छौं, सबै जागरुक भए भने कसो परिवर्तन नआउला !”

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम