२४-३० चैत २०७५ | 7-13 April 2019

‘संघ अन्तर्गत राखे जहाँ पनि जान्छौं’

Share:
  

संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा उत्रेको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे भन्छन्, “हाम्रा माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुनेछौं।”

तपाईंहरुको आन्दोलन किन ?

विभेदपूर्ण समायोजनले मुलुकको स्वास्थ्य क्षेत्र धरासायी हुन लागेकाले विरोधमा उत्रिएका हौं । हामीले चाहेको संघीयताको मर्म अनुसारकै समायोजन हो तर, त्यसो भएन ।

समायोजन कसरी विभेदपूर्ण भयो ?

निजामतीतर्फका ६० प्रतिशत कर्मचारीलाई संघ मातहत राखेको सरकारले चिकित्सक भने ९ प्रतिशत मात्रै संघ मातहत राखेको छ । बाँकी ८१ प्रतिशतलाई स्थानीय तहमा र ९ प्रतिशतलाई प्रदेशमा समायोजन गरेको छ । अर्कोतिर दुर्गममा चिकित्सकको अभाव भइरहेका बेला कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना मात्र मेडिकल अधिकृत खटाइएको छ । संघ, प्रदेश वा स्थानीय तह मातहत समायोजनमा पठाइएका चिकित्सकले सधैं ती तह मातहत मात्रै रहनुपर्ने व्यवस्थामा पनि हाम्रो विरोध छ । त्यस्तै वृत्ति–विकास रोक्ने गरी अध्ययन विदा लिएर थप पढ्न पाउने बाटो पनि बन्द गरिदिएको छ ।

तर, तपाईंहरु सुविधासम्पन्न ठाउँमा मात्र बस्न चाहने हुँदा समायोजनको विरोध गरिरहेको आरोप छ नि ?

यो आरोप गलत हो । सरकारी चिकित्सकले विगतमा पनि दुर्गम र अति दुर्गममा बसेर काम गरेकै हुन्, अहिले पनि गर्छन् । मुख्य कुरा संघ अन्तर्गत नहुँदा ठूला केन्द्रीय अस्पतालमा काम गर्न पाउने, अध्ययन अनुसन्धानमा संलग्न हुने जस्ता अवसर पनि बन्द हुने भए । वृत्ति–विकास रोकिने भयो त्यसैले सबै सरकारी चिकित्सक संघ अन्तर्गत रहनुपर्छ भन्ने हाम्रो माग हो ।

समायोजनअघि तपाईंहरुसँग छलफल भएन र ?

हामीले बारम्बार सचेत गराए पनि हाम्रा माग सुनिएन । विज्ञहरुसँग छलफल नगरी केही कर्मचारी र राजनीतिज्ञको स्वार्थका भरमा निर्णय गरिएकाले समस्या आएको होे ।

अब के गर्नुहुन्छ ?

सरकारले सबै चिकित्सकलाई संघ अन्तर्गत नराखे हामी सामूहिक राजीनामा दिन बाध्य हुनेछौं । २२ चैतदेखि देशभरका सरकारी चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रने निर्णय गरिसकेका छौं ।

comments powered by Disqus

रमझम