भोटसँग युद्ध गर्ने तयारीका क्रममा हातहतियार र गोलीगट्ठाको बन्दोबस्त गर्न शुरू गरियो । पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको यारीसम्मका सीमा नाकाहरूमा शस्त्र सज्जित सैनिक खटाउन थालियो । तिनलाई एक वर्षसम्म पुग्ने रसदपानी र भोटको चिसो ठाउँमा युद्ध गर्न लगाउने दोचा–मोचा जस्ता बाक्ला लुगा पनि तयार पार्नुपर्यो । काठमाडौंबाट सुदूरपश्चिमको यारी नाका धेरै टाढा पर्ने भएकाले हतारमा सैनिक र सामरिक सामग्री पुर्याउन सकस पर्ने हुँदा अगाडिदेखि नै सैनिक र युद्ध तथा बन्दोबस्तीका सामग्री हुम्लामा जम्मा पारिंदै थियो । त्यसै क्रममा कप्तान जुद्धवीर अधिकारीको पाल्पाबाट मुस्ताङ सरुवा रद्द गरियो । उनलाई सामरिक सामग्री सहित हुम्ला गई कर्णेल कृष्णध्वज कुँवर राणासँग काम गर्न आदेश दिइयो ।
त्यस्तै, जुम्लाका मेजर कप्तान बर्फानसिंह बस्नेतलाई पनि चन्दननाथ पल्टनमध्ये अत्यावश्यक मात्र त्यहाँ राखी अन्यलाई हातहतियार सहित हुम्ला लगेर कर्णेल कृष्णध्वजले अह्राए बमोजिम काम गर्न भनियो । उक्त आदेशको जवाफमा बर्फानसिंहले हुम्ला जाने तयारी गरिरहेको तर हतियारको खरखजाना र गोलीगट्ठा थोरै बाँकी रहेको, बारुदलाई हिउँको स्याँठले खाएर माटो जस्तै बनेको जानकारी चिठी मार्फत गराए । उनले पुसदेखि चैतसम्म हिमपातका कारण बाटो बन्द हुने भएकाले रसदपानी कात्तिक–मंसीरभित्रै खरीद गरी हुम्ला पुर्याइसक्नुपर्ने पनि अवगत गराएका थिए । अपुग खरखजानाको व्यवस्थापन कर्णेलबाटै हुनेमा आफू आशावादी रहेको बर्फानको चिठीमा उल्लेख छ ।
पाल्पा गौंडा कर्णेल केदारनरसिंह राणाको तैनाथमा थियो । कर्णेल जंगध्वज कुँवर राणालाई उनको मद्दत गर्न पाल्पा पठाइयो । सल्यानको कम्पनी जुम्ला गयो, पाल्पाको बरख पल्टन मुस्ताङ जाने भयो । युद्धको विशेष परिस्थितिमा जंगध्वज मातहतको रणसिंहदल कम्पनी केदारनरसिंहको जिम्मा लगाइयो । प्रधानमन्त्री जंगबहादुर राणाले कर्णेल जंगध्वजलाई बुटवलबाहेक पाल्पा, नुवाकोट, सल्यानको समेत काम जर्नेल रणउद्दीप सिंहले अह्राएबमोजिम गर्न भनेका थिए । यसका साथै उनलाई निकै होशियार भएर काम गर्न, युद्धमा पल्टनको मद्दत चाहिन सक्ने भएकाले तालिम दिएर गोलीगट्ठा र खरखजाना सहित तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको थियो । जंगध्वजले जवाफमा आफू बिरामी भएर थला परेको र सन्चो भएलगत्तै अह्राइएका सबै काम गर्ने व्यहोरा प्रधानमन्त्रीलाई पठाएका थिए ।
श्रीमद्राजकुमार–कुमारात्मज–प्राईम्मिनिष्टरका हजुरमा मेजर कप्तान बर्फान सिंहले लेखि चह्राइ पठायाको
साविक बमोजिम तिम्रो थमौति श्रीभाई कर्णेल कृष्णध्वज कुँवर राणाजीले गराई दिन्या छन्. तिम्रो तैनाथको श्रीचन्दननाथ पल्टनको मध्ये जुमलालाई नभईनहुन्या भाईले खटायाबमोजिम जुम्लामा थामी अरू नाल पगरि लाजिमा र आफ्नो हातहतियार खजाना पीपा गैह्र लियी भाई कर्णेल कृष्णध्वज कुँवर राणाजीसँग सामेल भै उनले लाया अह्रायाबमोजिम गर्नु हुमला जानु पन्र्या छ. केही कुराको गाफिल नपरोस् भनि लेखिबक्सनु भयाका कृपापत्र बमोजिम नीज श्रीकर्णेल साहेबबाट लाया अह्राया माफिक आफना जनता भरमगदुर गन्र्यैछु. खरखजाना वारुद गोलीहरू मात्रै ञाहाका दशै गैह्र चाड पर्वको सालवसालको बढाईमा खर्च भै केही बाँकी रह्यो बारुद पनि हिउका वसले खाई तेजउडि माटो जस्तो भैरहेछ. ञाहा राख्याको जगेडा पनि पोरको साल ताहा झिकिन्या भन्याको छ. रसद जम्मा गर्नलाई कात्तिक मङसिर भरि खरिद गरि हुमला पुर्याउनु पन्र्या छ. पौषदेखि चैत्रसम्म हिउँले बन्द हुँन्छ तसर्थ खरखजाना गैह्र रसदहरूको झिँजो श्रीकर्णेल साहेब द्वारा गरि त्याँहा आउन्या छ. १९११ साल आश्विन बदि ७ रोज ४ शुभम् ।
श्रीप्राईम्मिनिष्टरका हजुरमा कर्णेल जङ्गध्वजकुँवर राणाजीबाट लेखि अह्राइ पठायाको
पाल्पा गौंडा श्रीकर्णेल केदारनरसिंह कुँवर राणाजीको तैनाथमा छ. पाल्पाको काम उसैले लाया अह्राया बमोजिम तैले गर्नु पर्यो. तेरो थमौति श्रीकेदारनरसिंह कुँवर राणाजीसँगै गर्यास्. सल्यानको कम्पनि जुमला गयो. पाल्पाको श्रीवरख पल्टन मुस्ताङ्ग जान्याछ. येसपाला लडाँईको काम पर्यो. तसंगको श्रीरणसिंहदल कंपनि श्रीकेदारनरसिंह कुवर राणाजीको जिम्मा गरिदिए. तैंले गर्याको बुटवल गैह्रको काम र पाल्पा नुवाकोट सल्याना समेतको काम काज जनरल रणउदीपसिंह कुँवर राणाजीसँग साधि गर्नु. पाहाडको काज काम श्रीकर्णेल केदारनरसिंह कुँवरराणाजीले लाया अ¥हाया बमोजिम गर्नु. कामकाज गर्दा बहुतै होसियार राखि कौनै कुरा गाफिल नपारी गर्नु. काम काज गर्दा केही कुराको उजुर गरिस् भन्या तक्सिरबन्द होलास्. मुलुकी कामको तरताकिति गरि आफूसँगको पल्टनलाई तालिम गरि तयार राखि तिनलाई चाहिन्या खरखजाना पत्थर गठ्ठा बन्दूक संगिन तोस्दान गैह्र तयार गरि राखन्या काम गर. काम पर्यो भन्या तेस पल्टनले मद्दत दिनु पर्छ. मदेश मुलुकी काममा ११ साल बन्दोबस्त बमोजिम बन्दोबस्त असुल तहसिलमा केही फरक नपार भनि शिक्षा लेखि आयाका अर्थ हजुरका मर्जिमा मेरो कौनै कुराको उजुर छैन. नागपंचमीदेखि आयाका व्यथाले दुःख दिंदा बाहिरभित्र पनि गर्न सक्याको छैन. आराम हुन्या बित्तिकै श्रीकर्णेल केदारनरसिंह कुँवर राणाजीसँग गई मर्जी बमोजिम थमौति र श्रीरणसिंहदल कंपनि जिम्मा गन्र्या काम गरौंला. बुटवल गैह्र र पाल्पा सल्याना नुवाकोट गढीसमेतको काम काज सोधन्या ठाउँमा सोधि साधन्या ठाउँमा साँधि गरुला.
१९११ साल आश्विन बदि ८ रोज ५ मुकाम ठाडागढि शुभम् ।