२४-३० चैत २०७५ | 7-13 April 2019

घरको सफाइ र तन्दुरुस्ती

Share:
  

सफा घर हामी सबैको चाहना हो । घरमा सामान जथाभावी छरिएको राम्रो देखिंदैन । घरको वातावरण फोहोर र अव्यवस्थित भए मूड बिग्रिनुका साथै विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम भएकाले नियमित सरसफाइ हाम्रो प्राथमिकतामा पर्छ । एक अध्ययनले घरको सफाइमा जुट्ने व्यक्ति शारीरिक रूपमा तन्दुरुस्त रहने रोचक तथ्य देखाएको छ । अमेरिकाको इन्डियाना युनिभर्सिटीले गरेको अध्ययन अनुसार शारीरिक तन्दुरुस्ती र सफा घरबीच अन्तरसम्बन्ध हुन्छ ।

अनुसन्धानकर्ताहरूले सफा र व्यवस्थित घरमा बस्नेहरू सफाइ कार्यमा सरिक हुने भएकाले उनीहरूको शारीरिक व्यायाम बढी हुने गरेको पाएका छन् । अध्ययनका लागि छनोट गरिएका व्यक्तिहरूले गरेका दिनभरका काम केलाउँदा उनीहरूको शारीरिक गतिविधिमा घरको सफाइको कामले मुख्य प्रभाव पारेको थियो । कामकाजी जीवनशैलीका कारण पछिल्लो समय घर सफा गर्न छुट्टै मान्छे लगाउने प्रचलन बढ्दो छ । तर, सफाइमा जुट्दा शारीरिक तन्दुरुस्ती हुने फाइदा हेर्दा यो काम अरुलाई नलगाई आफैंले गर्नु उत्तम हुन्छ । घरको सरसफाइका धेरै फाइदा छन्ः

तनाव र थकाइ घटाउँछः घर फोहोर हुँदा हाम्रो मस्तिष्कको अवचेतनमा गर्नुपर्ने धेरै कामको तनाव हुन्छ । वरिपरिको अस्तव्यस्तता सामु आँखाले समेत विश्राम पाउँदैन । अमेरिकाको क्राइस्ट मेडिकल सेन्टरका मनोचिकित्सक लन इलले हेल्थइन्यूजसँग भनेका छन्, “धेरै अव्यवस्थाले तनाव र थकान निम्त्याउन सक्छ । घरमा कुनै सामान खोज्न धेरै समय लाग्यो वा भेटिएन भने तनाव बढ्छ र बिरामी बनाउँछ ।”

अमेरिकाको लाइब्रेरी अफ मेडिसिनले प्रकाशन गरेको एक अध्ययनमा अव्यवस्थित र कम सफा घरमा बस्नेहरू सफा र व्यवस्थित घरमा बस्नेहरू भन्दा बढी तनावग्रस्त हुने गरेको र उनीहरूमा ‘डिप्रेसन’ पनि बढी पाइएको उल्लेख छ ।

एलर्जी र अस्थमा न्यूनीकरणः कार्पेट, ओछ्यान वा अन्य सामान राखिएको स्थान व्यवस्थित र सफा नहुँदा ओसिलो हुन्छ, यस्तो ओसले एलर्जी र दम बढाउँछ । धूलो, ढुसी र प्रदूषित हावाले पनि एलर्जी, दम र छालाको रोग बढाउने चिकित्सकहरू बताउँछन् ।

सुरक्षामा सुधारः अस्तव्यस्त घरमा छरिएका वस्तुमा अल्झिएर लड्ने र चिसो भुईंमा चिप्लिएर चोट लाग्ने सम्भावना अधिक हुन्छ । अस्पतालका आकस्मिक कक्षमा यस्ता दुर्घटनामा परेका व्यक्तिहरू दैनिक आइरहेका हुन्छन् । घरको अस्तव्यस्तता सजिलै आगो फैलने कारण समेत बन्छ र त्यस्तो बेला उद्धार र बचाउमा पनि अवरोध उत्पन्न भइदिन्छ । सुरक्षाका लागि सफाइ र सुव्यवस्था पनि प्रमुख शर्त हो ।

हानिकारक जीवाणु घटाउँछः बाथरुमलाई घरमा सबैभन्दा बढी हानिकारक जीवाणु हुनसक्ने क्षेत्र मानिन्छ । तर, यस्ता जीवाणु उत्पादनमा भान्साको योगदान पनि कम हुँदैन । विभिन्न अनुसन्धानले भान्सामा खानाको छिटा र पानी दुवै हुने भएकाले हानिकारक जीवाणु हुर्कने संभावना अत्यधिक हुने देखाएका छन् । त्यसैले भान्साको नियमित सफाइ जरुरी हुन्छ ।

कीरालाई टाढा राख्छः उडुस, लामखुट्टे, झिंगा जस्ता रोग फैलाउने कीराहरू फोहोर र अव्यवस्थित घरमै बढी हुन्छन् । साङ्लाले खानेकुरा बिगारेर दुःख मात्र दिन्छ भन्ने धेरैको मान्यता भए पनि यसले रोग समेत फैलाउँछ । संक्रामक रोग सम्बन्धी विशेषज्ञ डा.स्टेफेन जे सोकाल्स्कीका अनुसार साङ्लाले दमका रोगीलाई सताउने मात्र होइन, अन्य रोगका कीटाणु प्रसारमा पनि सहयोग गर्छन् । ल

comments powered by Disqus

रमझम