२४-३० चैत २०७५ | 7-13 April 2019

सात प्रदेश, सात गन्तव्य

Share:
  
- भरतबन्धु थापा

नयाँ वर्षलाई हामीमध्ये धेरैले जीवनमा नयाँ संकल्प र शुरुआत गर्ने प्रस्थानविन्दु बनाउँछौं । घुमफिरका पारखीले नयाँ–नयाँ ठाउँ घुम्न मौका छोप्ने समय पनि हो, यो । न जाडो, न गर्मी ठिक्कको तापक्रम हुने यतिबेलाको मौसम घुमघामको लागि उपयुक्त हुन्छ । प्रकृतिले पालुवा हाल्ने यो वसन्त ऋतुमा सबैतिर हरियो–परियो देख्न पाउनु घुमघामका पारखीलाई बोनस पनि हो । हिमाल ले नयाँ वर्ष २०७६ को मौका पारेर घुमघाम पारखीका लागि घुम्न सकिने सात प्रदेशका सात गन्तव्य सिफारिश गरेको छ, यो सूची तयार पार्न आन्तरिक पर्यटकहरूले रुचि देखाएका पर्यटकीय गन्तव्यहरूलाई आधार बनाइएको छ ।

(प्रदेश–१)

सगरमाथा आधारशिविर

नेपाल आउने विदेशी पर्यटकको प्रमुख रोजाइमध्येको एक सगरमाथा पदयात्राले पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि लोभ्याउन थालेको छ । पदयात्रा रुचाउनेलाई सगरमाथाको आधार शिविरसम्मको यात्रा हिमाली क्षेत्रको उत्कृष्ट अनुभव हुने लुक्लाका पर्यटन व्यवसायी आङटासी शेर्पा बताउँछन् । सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि आँखै सामुन्ने सर्वोच्च शिखर हेर्न कालापत्थर उपयुक्त स्थान हो । समुद्री सतहबाट ५ हजार ५५५ मिटर उँचाइमा रहेको यो ठाउँबाट सगरमाथासँगै अन्य हिमाल ३६० डिग्रीमा हेर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा गर्नुपर्छ, त्यसपछि पदयात्रा शुरु हुन्छ । यसका लागि जम्मा दुई साताको समय छुट्याउनुपर्छ ।

(प्रदेश–२)

जनकपुर

प्राचीन मिथिलाको राजधानी जनकपुरको जानकी मन्दिर प्रदेश–२ को प्रमुख पर्यटकीय स्थल हो । धार्मिक र सांस्कृतिक हिसाबले धनी मैथिली सभ्यता धरोहरको रूपमा रहेको यो मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थलमा पर्छ । मुगल शैलीमा निर्मित जानकी मन्दिर कलाकौशलका हिसाबले पनि भव्य र आकर्षक छ । जानकी मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिरहेको छ । राम मन्दिर, गंगासागर पोखरी जनकपुरका थप आकर्षण हुन् ।

कसरी पुग्ने ?

काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ । साथै, त्यहाँ दैनिक हवाईजहाज पनि चल्छ ।

(प्रदेश–३)

नगरकोट, भत्तपुर

प्राकृतिक दृश्यपानका लागि राजधानीबाट सहजै पुग्न सकिने स्थान हो, नगरकोट । सूर्योदय र सूर्यास्तको रमणीय दृश्यावलोकन गर्न नगरकोट विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यहाँबाट लाङटाङ, दोर्जे लाक्पा, गणेश, चो यू, गौरीशंकर लगायत हिमाल मात्र होइन, मौसम खुला भएको बेला सर्वोच्च शिखर सगरमाथा समेत हेर्न सकिन्छ । नगरकोटबाट साँखु, धुलिखेल र चिसापानीसम्म गर्न सकिने हाइकिङ पनि प्रख्यात छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि भक्तपुरको कमलविनायकहुँदै सार्वजनिक बसबाट नगरकोट पुग्न सकिन्छ । निजी सवारी साधनमा जाँदा काठमाडौंबाट एक घण्टामा पुग्न सकिन्छ ।

(गण्डकी प्रदेश)

मुत्तिानाथ, मुस्ताङ

मनोरम दृश्य, पृथक् भूगोल, हिमाली जीवनशैली, धार्मिक सम्पदा आदि हिमालपारिको जिल्ला मुस्ताङका आकर्षण हुन् । विदेशी पर्यटकमाझ अन्नपूर्ण पदमार्गका कारण प्रख्यात मुक्तिनाथ आन्तरिक पर्यटकका लागि भने धार्मिक आस्थाको केन्द्र हो । मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा तीर्थस्थल हो । मुस्ताङ जाने अधिकांश पर्यटकले सदरमुकाम जोमसोमदेखि तीन घण्टाको पैदलयात्रामा पुगिने कागबेनीसम्मको तल्लो मुस्ताङको यात्रा रुचाउँछन् । विकट भूबनोट रहेको उपल्लो मुस्ताङ तिब्बती रहनसहन र संस्कृतिको भण्डार पनि हो, जहाँ प्राचीन गुम्बाहरू, स्तूपा आदि दर्शनीय मानिन्छन् ।

कसरी पुग्ने ?

काठमाडौंदेखि निजी सवारी साधनमा मुस्ताङ जान सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाईजहाज पनि चल्छ ।

(प्रदेश–५)

स्वर्गद्वारी, प्यूठान

प्यूठानको स्वर्गद्वारी धार्मिकसँगै प्राकृतिक सौन्दर्यको खानी हो । पुराण अनुसार पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको हो । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायत हिमाल हेर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लने, अनि भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी पुगिन्छ । निजी सवारीसाधन स्वर्गद्वारी मन्दिरसम्मै पुग्छ । काठमाडौंबाट नेपालगन्जसम्म हवाई यात्रा गरी त्यहाँबाट रोल्पाको बस चढ्न पनि सकिन्छ ।

(कर्णाली प्रदेश)

सिंजा उपत्यका, जुम्ला

कर्णालीको सिंजा उपत्यका ऐतिहासिक ठाउँ हो । वरिपरि पहाडले घेरेको समथर ठाउँमा तिला नदीको दायाँ–बायाँ गुजुमुज्ज बसेको बस्ती नै नेपाली भाषाको उद्गम थलो सिंजा हो । बाइसी–चौबिसी राज्यमध्येको शक्तिशाली राज्यको पहिचान बोकेको सिंजा देशको सबैभन्दा ठूलो ताल रारा जाने बाटोमा पर्छ । सिंजा पुगेपछि त्यहाँबाट तीन घण्टाको बसयात्रामा पुगिने खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर पनि दर्शन गर्न सकिन्छ ।

कसरी पुग्ने ?

नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि जुम्लाको खलंगा र त्यहाँबाट सवारी साधनमा तीन घण्टाको यात्रामा सिंजा उपत्यका पुग्न सकिन्छ । साथै सुर्खेतदेखि सार्वजनिक सवारी साधनमा १२ घण्टाको यात्रापछि सिंजा पुगिन्छ ।

(सुदूरपश्चिम प्रदेश)

खप्तड

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो, खप्तड । विगतमा यो याममा हरियाली हुने भए पनि यो वर्ष धेरै हिउँ परेकाले प्रकृति धेरै खुलेको छैन । भूस्वर्ग भनिने खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, केदारढुंगा जस्ता धार्मिक स्थलहरू दर्शनीय छन् । ठूला–साना गरी २२ वटा फाँट पनि यहाँका आकर्षण हुन् ।

कसरी पुग्ने ?

काठमाडौंदेखि ६५० किलोमिटर बसयात्रापछि धनगढी, त्यहाँबाट बसमा आठ घण्टामा डोटीको सिलगढी, सिलगढीबाट जीप रिजर्भ गरेर करीब चार घण्टामा खप्तडको प्रवेशद्वार झिग्रना पुगेपछि पैदलयात्रा शुरु हुन्छ । झिग्रनादेखि एक दिनमा खप्तडको त्रिवेणी पुगिन्छ ।

comments powered by Disqus

रमझम