१-७ वैशाख २०७६ | 14-20 April 2076

अठोट नै शत्ति

Share:
  
- मस्त केसी
मेघरौल, महोत्तारीबाट उच्च अदालत पाटनसम्मको यात्रा तय गरेकी रंजना विश्वकर्मा न्यायसेवामा नेतृत्व तहसम्मको उडान भर्न चाहन्छिन्।

रंजना विश्वकर्मा, न्याय सेवा
महोत्तरी, मेघरौलको निम्न मध्यमवर्गीय परिवारमा जन्मेकी रंजना विश्वकर्मा (३०) का सहपाठीमध्ये १० कक्षाभन्दा माथि उक्लेका निकै कम छन् । धेरैको त उतिबेलै बिहे भइसकेको थियो । धनुषाको भरतपुरबाट विद्यालय शिक्षा पूरा गरेकी उनी अहिले उच्च अदालत पाटनमा अधिकृत छिन् । धेरैका लागि उनको यो यात्रा सामान्य लाग्न सक्छ, तर रंजना हुर्केको समाजका लागि भने यो सपना झैं लाग्छ ।

छोरी मान्छे घर छोडेर टाढा जानुहुँदैन भन्ने मान्यता राख्ने समाजबाट उठेर यहाँसम्मको यात्रा तय गर्नु रंजनाका लागि पनि सहज थिएन । तर, परिवारको साथ र आफ्नो निरन्तरको लगनका कारण उनले कानूनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरिन् । न्यायसेवामा प्रवेशका लागि भएको प्रतिस्पर्धामा पनि अब्बल ठहरिइन् । रंजना भन्छिन्, “मेरो अठोट र रुचिमा परिवारको साथ थियो, त्यसैले यो यात्रा तय गर्न सकें ।”

रंजनाका बुवा सिंचाइ विभागका श्रेणीविहीन कर्मचारी हुन् भने आमा गृहिणी । आमाबुवाले ५ कक्षासम्म मात्रै औपचारिक अध्ययन गरेका भए पनि छोरीको रुचि बुझेर आड–भरोसा दिंदा आफू सफल भएको उनी बताउँछिन् । भन्छिन्, “परिवारमा आपसी सल्लाह, छलफलले एकअर्कामा विश्वास जगाउँछ, शक्ति दिन्छ ।”

२०७४ सालमा न्याय सेवामा प्रवेश गरेकी रंजना अहिले इजलास सहायकको भूमिकामा छिन् । पढ्नमा औधी रुचि राख्ने उनी दैनिक पत्रिकाहरूमा लेख्छिन् पनि । “आफ्नो विचार व्यक्त गर्न लेखनलाई माध्यम बनाएकी छु, त्यसमा बृहत्तर हितको उद्देश्य त छँदैछ” रंजना भन्छिन् । करीब दुई वर्षअघि मात्रै न्यायसेवामा प्रवेश गरेकी उनी अदालतकै विषयमा पनि कलम चलाउँछिन् । लिंग, वर्ण, जात, धर्मका आधारमा समाजमा व्याप्त विभेदले पनि विकासमा अवरोध गरिरहेको बताउने उनी समाज रूपान्तरणका लागि शिक्षालाई नै महत्वपूर्ण ठान्छिन्  । “दोस्रो कुरा आफ्नै अठोट र निरन्तरको प्रयास पनि हो”, उनी भन्छिन्  ।

रंजनाका अनुसार विश्वविद्यालय तह पुग्दासम्म पनि उनी कक्षामा कहिल्यै उत्कृष्ट भइनन् । “म औसत विद्यार्थी हुँ तर, अध्ययनको दायरालाई पाठ्यक्रमभन्दा परसम्म विस्तार गर्न सकें” रंजना आफ्नाबारे भन्छिन्, “प्रतिकूल परिस्थितिका बावजुद पनि दृढतापूर्वक पाइला चाल्ने हो भने अवरोधहरू पन्छिंदै जान्छन् ।”

जुन समुदाय, समाज र परिवेशबाट उठेर उनले अहिलेसम्मको यात्रा तय गरिन् त्यो समावेशी समाज निर्माणका लागि पनि महत्वपूर्ण छ । अब अगाडिको लक्ष्य के छ त ? उनी भन्छिन्, “मेरो क्षमता र परिस्थितिले साथ दियो भने न्यायसेवाको उपल्लो तहसम्म पुगेर मुलुकको सेवा गर्ने रहर छ ।”

comments powered by Disqus

रमझम