१-७ वैशाख २०७६ | 14-20 April 2076

जात्रामय शहर

Share:
  
- भरतबन्धु थापा

काठमाडौं उपत्यकाको पुरानो नेवारी सांस्कृतिक केन्द्र भक्तपुर सम्पदा र संस्कृतिको भण्डार हो । विभिन्न जात्रा चलिरहने भएकाले यो ठाउँले ‘जात्रैजात्राको शहर’ को उपमा पनि पाएको छ । खासगरी हरेक वर्षको समाप्तिदेखि नयाँ वर्षको पहिलो सातासम्म भक्तपुर जात्रामय बन्छ ।

भक्तपुर । तस्वीरः भरतबन्धु थापा

जिब्रो छेड्ने जात्रा ।

नगरको सांस्कृतिक र ऐतिहासिक महत्वको प्रमुख आकर्षण हो, बिस्केट जात्रा । २७ चैतदेखि शुरु भएर आठ रात नौ दिनसम्म यो जात्रा मनाइन्छ । तौमडीस्थित न्यातपोल मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुने जात्रा ५ वैशाखमा गहिटी पुर्‍याएपछि समापन हुन्छ ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिकाको बोडेमा २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । १० इन्च लामो सुइरोले जिब्रो छेडेर चन्द्राकारको मसाल जस्तो ‘भ्वाय्’ (महाद्वीप) बोकेर टोलटोल घुमाउने यो जात्राको निरन्तरताले स्थानीयलाई शुभ हुने विश्वास गरिन्छ । थिमीमा त्यसै दिन बिहान सिन्दूर जात्रा मनाइन्छ । बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै यो जात्रा मनाउने परम्परा छ ।

सिन्दूर जात्रा ।

बिस्केट जात्रा ।

जात्रा बाहेक भक्तपुरमा ऐतिहासिक र धार्मिक सम्पदा पनि प्रशस्त छन् । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पचपन्न झ्याले दरबार, पशुपति मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, स्वर्णद्वार लगायतका आकर्षण छन् । यस्तै, भक्तपुर घुम्न जाँदा दरबार क्षेत्रबाट पाँच मिनेटको पैदल दूरीमा पर्ने तौमडीमा रहेको न्यातपोल मन्दिर पुग्नैपर्ने ठाउँ हो । विश्व सम्पदामा सूचीकृत यो पाँचतले मन्दिर १८औं शताब्दीमा मल्लकालीन राजा भूपतीन्द्र मल्लले निर्माण गराएका हुन् ।

comments powered by Disqus

रमझम