१३ असोज २०७० | 22 Septrmber 2013

मणि हरायो

Share:
  

हिमाल (३० भदौ) मा प्रकाशित ‘सय वर्षको विराटनगर’ खोज समाचार पठनीय लाग्यो । विराटनगर मात्र होइन पछिल्लो केही वर्षमा नेपालका धेरै पुराना शहरको मणि हराएको छ भने नयाँ शहर पनि व्यवस्थित हुनसकेका छैनन् । देशको अस्थिर राजनीतिक अवस्थाका कारण यस्तो भएको भन्दै बस्नुभन्दा आम नेपालीले केही गरौं भन्ने सोचको विकास गर्न जरूरी भइसकेको छ ।

मिलन बम, इमेलबाट


**सचेत होऔं **

हिमाल (३० भदौ) मा प्रकाशित ‘भोटको इन्द्रेणी’ चित्रकथा पढेपछि केही लेख्न मन लाग्यो । बढ्दो अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले उब्जाएको समस्याप्रति कसैको ध्यान जान सकेको छैन । फलफूल लगायतका कृषिजन्य उत्पादनमा ह्रास आउनु र हिजो गर्मी ठाउँमा उत्पादन हुने वस्तुहरू आज चिसो ठाउँमा पनि उत्पादन हुनु जलवायु परिवर्तनको असर हो । हाम्रा क्रियाकलाप र आनीबानीका कारण यस्ता समस्या आएकोले हरेक व्यक्ति सचेत हुनु आवश्यक छ ।

गोपाल पौडेल, ललितपुर, इमेलबाट


अर्काको मुख नताक

हिमाल (३० भदौ) मा आत्मनिर्भर हुनुपर्ने सुरक्षा निकायहरू विदेशी सहयोगमा निर्भर हुने प्रवृत्तिलाई समेटेर प्रकाशित ‘बढ्दो परनिर्भरता’ समाचार पढेपछि हामी कतिसम्म परनिर्भर हुँदै गएका रहेछौं भन्ने प्रष्ट हुन्छ । हरेक कुरामा अर्काको मुख ताक्ने बानी परेका हामी नेपालीमा बढ्दो परनिर्भरताले भोलिका दिनमा समस्या आउन सक्नेछ । विज्ञान र प्रविधिको युग भन्दै हामीले प्रयोग गर्ने अत्याधुनिक साधनहरू मात्र होइन आफूले गर्न सक्ने सामान्य काममा पनि अर्काको भर पर्न छाडेर आत्मनिर्भर बन्नै पर्छ ।

सुनिता माली, इमेलबाट


मनै भत्कियो

हिमाल (३० भदौ) मा बाटो फराकिलो बनाउने नाममा सरकारले जथाभावी भत्काएको घर र मानिसका पीडा समेटेर प्रकाशित ‘राज्य लागेपछि’ समाचार पढेपछि साँच्चै आँसु थामिन सक्दैन । सडक विस्तारका कारण कतिपय मानिस बेघरबार भएका छन् । जसोतसो घर बनाएर बसेका परिवारलाई बस्ने ठाउँको वैकल्पिक व्यवस्था नगरून्जेल भएका यस्ता निर्णयले बाटो फराकिलो मात्र हुँदैन, भोलिका दिनमा सामाजिक समस्या पनि निम्तिन सक्छ । यसतर्फ सरकारले समयमै ध्यान नदिने हो भने घरसँगै भत्किएका मन सम्हाल्न गाह्रो पर्नेछ ।

सुलोचना चौधरी, इमेलबाट


वेलैमा सोचौं

हिमाल (३० भदौ) मा प्रकाशित ‘हिंसाको फन्दा’ समाचारले झ्सङ्ग बनाएको छ । देशको बिग्रँदो अवस्था र बढ्दो बेरोजगारीका कारण दैनिक हजारभन्दा बढी दक्ष जनशक्ति विदेशिने क्रम जारी छ । म्यारिज ब्यूरोको माध्यमबाट बिहे गरेर दक्षिण कोरिया पुगेका नेपाली युवतीले भोगेको समस्याका बारेमा राज्यको ध्यान जानु आवश्यक छ । अन्यथा हरेक दिन दक्ष जनशक्ति बाहिरिने, त्यहाँबाट विभिन्न समस्या लिएर स्वदेश फर्कने क्रम रहने हो भने नेपाल रोगी, बेरोजगारी र अक्षमको अखडा बन्न बेर लाग्ने छैन ।

रमेश शर्मा, इमेलबाट


कहाँ छ सरकार ?

हिमाल (२३ भदौ) मा प्रकाशित नेपाली युवतीहरूलाई दारेसलाम पुर्याएर डान्सबारमा काम गर्न लगाएको ‘दारेसलामका डान्सबार’ समाचार पढेपछि हामी कहाँ छौं भन्ने प्रष्ट हुन्छ । यसले नेपालको शिर निहुरिएको छ । अशिक्षित र अर्धशिक्षित गाउँले युवतीहरू जो अंग्रेजी राम्ररी बोल्न पनि जान्दैनन्, न त स्थानीय भाषा नै थाहा छ; तिनले भोग्नुपर्ने समस्या पक्कै पीडादायी छ । हजारौं माइल टाढा पुर्याएर नाङ्गो नचाउँदा पनि सरकार र सरोकारवाला निकायले यसप्रति ध्यान दिन नसक्नु मुलुकका लागि दुर्भाग्य हो ।

आर. राई, इमेलबाट

comments powered by Disqus

रमझम