१३ असोज २०७० | 22 Septrmber 2013

विद्यालय भवनले रयालेवासी दंग

Share:
  

काभ्रे रयालेको माने दोभानमा रहेको भालचन्द्र माविको पक्की भवन रु.९८ लाख २४ हजार लागतमा बनेको छ । भवनको उद्घाटन निर्माणमा सहयोग गरेको संस्था ‘नेपाल हिल्फे वाइलन ग्रेस इभी जर्मनी’ का संस्थापक सचिव मिखाएल रिवेले ३० भदौमा गरेका थिए । विश्व ब्याङ्कको अनुदानमा संचालित सिंचाइ तथा जलस्रोत आयोजनाका परामर्शदाता पदम तामाङ, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा कार्यरत रामशरण थापा, पर्यटनकर्मी केशव श्रेष्ठ र रातो बङ्गला स्कूलमा कार्यरत बालकृष्ण तामाङ लगायतको अगुवाईमा यो भवन निर्माण भएको हो ।

ऋषिराम कट्टेल
सहयोगी संस्था इभीका नेपाल निर्देशक सुनिलकृष्ण श्रेष्ठका अनुसार, संस्थाले शुरूमा दिएको २० हजार युरोबाट राम्रो काम भएको देखेपछि थपेर रु.९४ लाख ६३ हजार सहयोग पु¥याएको थियो । त्योभन्दा अघि फिल्म साउथ एशियाको रामबहादुर ट्रफीबाट उठेको रु.१ लाख पत्रकार कनकमणि दीक्षित मार्फत यो भवन निर्माणका लागि सहयोग आएको थियो । पाँच वर्षअघि बनाउन थालिएको यो विद्यालयको भवन चार कोठा हुँदै अहिले ११ कोठा थपेर १५ कोठाको तीनतले बनेको छ । स्कूल व्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ पत्रकार दीक्षितले दिएको सहयोगलाई बीउ पूँजी बनाएर अरू सहयोग जुटाउँदै भवन बनाएको बताउँछन् । यो भवन निर्माणमा जिल्ला शिक्षा कार्यालय, रयाले गाविस र स्थानीयले पनि सहयोग गरेका छन् ।

९३ प्रतिशत तामाङ समुदाय बस्ने रयालेमा यो भवन बनेपछि विद्यालयको पठनपाठन केही सहज हुने भए पनि शिक्षकको अभाव रहेको प्रधानाध्यापक शिवराम आचार्यले बताए । अहिले स्कूलमा पाँच स्थायी, दुई काजमा र पाँच जना निजी स्रोतका शिक्षक छन् । भवन निर्माण गर्न दाता जुटाएका पदम तामाङले स्तरीय शिक्षक खोज्ने अभियानमा लाग्ने बताए । अहिले निजी विद्यालयको अवधारणा अनुसार नर्सरी पनि पढाउन थालिएको र शिक्षकहरूलाई रातो बङ्गलामा तालीम दिन शुरू गरिएको उनले जानकारी दिए ।

ऋषिराम कट्टेल, काभ्रे


राजमार्गमा लुटिंदै यात्रु

बच्चु विक
महाकाली अञ्चल अस्पतालमा उपचार गराउँदै सीताराम गिरी र नारायणसिंह रावल ।

दशैं नजिकिंदै गर्दा राजमार्ग क्षेत्रमा नशालु औषधि सुँघाएर लुट्ने क्रम बढेको छ । यसको शिकार भारत र तेस्रो मुलुकमा काम गरेर फर्केका मजदूरहरू हुने गरेका छन् ।

३० भदौमा रात्रिबसमा काठमाडौंबाट महेन्द्रनगर हिंडेका कैलाली रामशिखरझला–२ का सीताराम गिरी र कञ्चनपुर दैजी–४ का नारायणसिंह रावल कञ्चनपुरको बसपार्कमा बस पुग्दा बेहोश अवस्थामा थिए । महाकाली अञ्चल अस्पतालमा चार घण्टा उपचार गरेपछि होशमा आएका सीतारामले चितवन रामनगरको सिद्धबाबा होटलमा खाना खाएपछि बेहोश बनेको बताए । मलेशियाबाट फर्केका सीतारामको रु.८५ हजार, १ तोला सुन, १ थान आइप्याड र चार वटा मोबाइल सेट तथा नारायणसिंहको रु.५५ हजार, आधा तोला सुन र एउटा मोबाइल लुटिएको थियो ।

नारायणसिंह होटलमा भातसँग दिइएको दालमा नशालु पदार्थ मिसाइएको हुनसक्ने अनुमान गर्छन् । आफूहरू विदेशबाट आएको थाहा पाएर बेहोश बनाएर लुटिएको उनको भनाइ छ ।

भदौ दोस्रो साता काठमाडौंबाट रात्रिबसमा महेन्द्रनगर गएका मनिराम भण्डारीलाई पनि बेहोश पारेर नै लुटिएको थियो । चितवन, रामनगरको सिद्धबाबा होटलमै खाना खाएपछि बेहोश भएको र रु.८० हजार लुटिएको उनी बताउँछन् । होटलमा खाना खाएपछि बेहोश भएका उनको महेन्द्रनगर पुगेपछि मात्र होश खुलेको थियो ।

२ भदौमा महेन्द्रनगरबाट पोखरा गएको रात्रिबसका तीन जना यात्रु पनि लुटिएका थिए । दाङ कालाकाटेको चन्द्रसूर्य होटलमा खाना खाएपछि बेहोश भएका उनीहरूलाई पोखराको गण्डकी मेडिकल कलेजको सघन कक्षमा तीन दिन उपचार गरिएको थियो । महाकाली–सेती यातायात व्यवसायी समितिका अध्यक्ष बाबुराम शर्मा दशैं आउनै लाग्दा यात्रुहरू लुटिने क्रम बढेकाले यात्रुहरूलाई सचेत गराउन कर्मचारीलाई निर्देशन दिइएको बताउँछन् ।

शर्माका अनुसार, साना लूटपाटका घटनाबारे यात्रुहरूले प्रहरी र यातायात व्यवसायी समितिलाई नभन्ने भएकाले ठूला लूटपाटका घटना मात्र प्रकाशमा आउने गरेका छन् । महेन्द्रनगर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर चन्द उजुरी आए पनि घटनास्थल आफ्नो कार्यक्षेत्र बाहिर हुने भएकाले अनुसन्धान गर्न र अपराधीलाई पक्राउ गर्न गाह्रो परेको बताउँछन् । घटनास्थल रहेको क्षेत्रका प्रहरी कार्यालयलाई पत्र पठाएर घटनाको अनुसन्धान गर्न आग्रह गरिने गरेको उनको भनाइ छ ।

बच्चु विक, महेन्द्रनगर


उमा सिंह हत्याका अभियुक्त पक्राउ

पत्रकार उमा सिंहका हत्याका अभियुक्त धनुषा बाला सघारा—१ का ३५ वर्षीय उमेश यादव ।

धारिलो हतियारको प्रहारबाट घाइते भएकी जनकपुरकी पत्रकार उमा सिंहले २७ पुस २०६५ को साँझ् मृत्यु नजिक पुगेको वेला ‘मलाई कसले किन यस्तो ग¥यो’ भनी सोधेको प्रश्नको उत्तर आउन अझै बाँकी भए पनि प्रमुख आक्रमणकारी स्वामीजी भनिने धनुषाको बाला सघारा—१ का ३५ वर्षीय उमेश यादव भने पक्राउ परेका छन् । पत्रकार सिंहभन्दा अघि तीन जनालाई पनि काटेरै हत्या गरेको अभियोग लागेका यादवलाई कैलालीबाट भारत जान लागेको वेला पक्राउ गरिएको ३ असोजमा जनकपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी गराएको थियो । धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार, यादवले प्रयोग गर्ने गरेको युटीएल फोनको कल डिटेल्स तथा लोकेसनको आधारमा धनुषाबाट गएको पाँच सदस्यीय विशेष टोलीले धनगढीमा ६ दिन अनुसन्धान गरेपछि यादवलाई पक्रन सफल भएको थियो ।

तराई एकता परिषद् नामक पार्टीका अध्यक्ष र जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समूहमा आवद्ध यादवले पत्रकार सिंहको हत्या गर्नुको कारण केही दिनमै पत्ता लगाएर सार्वजनिक गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । पत्रकार सिंहको हत्यामा संलग्न ललिता सिंह र नेमलाल पासवान धनुषा जिल्ला अदालतबाट जन्म कैदको सजाय पाएर जलेश्वर कारागारमा सजाय भोगिरहेका छन् ।

यादव पक्राउ गरेपछि धनुषा प्रहरीले सबैतिरबाट स्याबासी र बधाई पाएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष रामआशिष यादव महिला पत्रकारको हत्यारा पक्राउ पर्ने आशा मारिसकेको वेला मुख्य अभियुक्त पक्राउ पर्नुले प्रहरी र न्यायप्रणालीमाथि विश्वास बढाएको बताउँछन् । सिंहका अभियुक्तलाई सजाय दिलाउन निःशुल्क मुद्दा लडेकी अधिवक्ता रेखा झा हत्या गरेको स्वीकारेका अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको ठूलो सफलता भएको मान्छिन् । अदालतबाट मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की अभियुक्त यादवबाट पाएकाले मृतक सिंहकी आमा सुशीला देवी भारतमा आफन्तको घरमा शरण लिएर बसेकी छिन् ।

मनिका झा, जनकपुर

comments powered by Disqus

रमझम