१३ असोज २०७० | 22 Septrmber 2013

हुँदैन गठबन्धन रघु पन्त

Share:
  
- रघु पन्त
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको चुनावी गठबन्धन बनाउने यत्न सफल हुने देखिंदैन ।

नेपालमा गठबन्धनको राजनीतिले कहिल्यै सैद्धान्तिक आधार पाएन । विगतमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा जाने एकल उद्देश्यबाट पञ्चहरूको समूहसँग पटक–पटक मिलेका थिए, तर त्यो अवसरवादी राजनीतिले दुवै दललाई गाल मात्र पार्यो । तात्कालिक रूपमा केही नेतालाई मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री आदि पद हातलागी भए पनि दीर्घकालीन रूपमा दुवै पार्टीले जनताको आलोचना भोग्नु पर्यो ।

विगतका निर्वाचनमा एमालेले साना वामपन्थी समूहहरूलाई एक–दुई ठाउँ छोडिदिए पनि समग्रमा एक्लै चुनाव लडेर आयो । कांग्रेसले पनि त्यही गर्यो । उनीहरू आगामी संविधानसभा निर्वाचनमा पनि एक्लाएक्लै चुनाव लड्ने तयारीमा छन् । कांग्रेस आगामी निर्वाचनमा परिणाम सुधारेर गत निर्वाचनको पराजय बिर्सने कोशिशमा छ । एमाले पनि तेस्रो हुनुपरेको पीडा समाप्त पार्न पहिलो हुने प्रयत्नमा छ । अघिल्लो निर्वाचनताकाको भन्दा फेरिएको परिदृश्यले उनीहरूलाई उत्साहित पनि बनाएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने धेरैको अनुमान थियो, तर नसोचेको परिणाम आयो । प्रत्यक्ष निर्वाचनमा माओवादीले एमाले–कांग्रेसलाई निकै पछाडि पार्यो । र पनि, ६०१ सदस्यीय संविधानसभामा उसले बहुमत पाएन । समानुपातिकतर्फको परिणामले कांग्रेस र एमालेलाई एक हदसम्म सान्त्वना दियो । संख्या फेरि पनि ६०१ नै छ र निर्वाचन प्रणाली पनि पुरानै मिश्रित छ भने एनेकपा माओवादी विभाजित भएको छ । उसको लोकप्रियता पनि निकै खस्केको छ । यो अवस्थामा एमाले र कांग्रेस आफ्नै बलबुतामा सके बहुमत ल्याउने नसके ठूलो दल बन्ने प्रयत्नमा छन् ।

चुनावी गठबन्धन गर्नेमा कांगे्रस इच्छुकसम्म देखिएको छैन भने एमालेले पनि आफ्नै संगठनको बलमा एक नम्बर हुने दावा गरिरहेको छ । साना वामपन्थी समूहहरूलाई एक–दुई ठाउँ छोडिदिने बाहेक अरूसँग उसको तालमेल हुने सम्भावना देखिन्न । देशका दुई महŒवपूर्ण राजनीतिक शक्ति यसरी आफ्नै बुतामा चुनाव लड्ने तयारी गरिरहेको वेला संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादी भने गठबन्धनको भगीरथ प्रयत्नमा छ ।

दाहालको दाउ

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग चुनावी तालमेल वा पार्टी एकता गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रयत्न माओवादीले निर्वाचनमा भाग नलिने भएपछि तुहिएको छ । एमाले र कांग्रेससँग एमाओवादीको चुनावी गठबन्धन हुने कुनै गुन्जाइस छैन । त्यसैले, मधेशवादी दल र अशोक राईको संघीय समाजवादी पार्टीसँग गठबन्धन गर्न दाहालले ‘संघीयता पक्षधर शक्तिहरू एक हुनुपर्ने’ अवसरवादी सूत्र अघि सारेका छन् ।

तर, विभिन्न टुक्रामा विभाजित मधेशी दलहरू सबभन्दा पहिला त आफैंबीचमा तालमेलको प्रयत्नमा छन् । आफैंबीच त सीटको तालमेल अप्ठ्यारो परिरहेको वेला एमाओवादीसँग के आधारमा मिल्ने ? उनीहरूबीच तालमेल भएन भने मात्र ती मध्येका कुनै दल र एमाओवादीबीच मधेशका केही ठाउँमा गठजोड हुन सक्छ । जातिवादी संघीय समाजवादीसँग पनि तालमेलको प्रयास खासै परिणाममुखी हुने देखिंदैन । एक त त्यो पार्टी देशभरि उम्मेदवार उठाएर समानुपातिकतर्फ केही सीट जित्ने दाउमा छ । प्रमुख नेताहरू उठेको एक–दुई ठाउँमा एमाओवादी–संघीय तालमेल भयो भने पनि त्यो उल्लेख्य हुने छैन । यसरी हेर्दा आगामी संविधानसभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना देखिंदैन, जुन मुलुकको राजनीतिक स्वास्थ्यका लागि फाइदाजनक नै हुनेछ ।

comments powered by Disqus

रमझम