५-११ जेठ २०७६ | 19-25 May 2019

बच्चालाई खेल्ने ठाउँ

Share:
  

mabtest1.blogspot.com
बच्चाहरू खुला ठाउँमा खेल्न पाउँदा रमाउँछन् । उफ्रिंदै, दगुर्दै बाहिरी वातावरणमा सयर गर्दा कलिला बालबालिकाको शारीरिक एवं मानसिक विकास र सिर्जनात्मक क्षमता वृद्धि हुन्छ । तर, शहरी क्षेत्रमा हाम्रो छेउछाउ खुला चौर, बगैंचा र पार्क एक त कम छन् भने भएका पनि मासिंदैछन् । यसैले घरभित्रै खेल्ने ठाउँ जोहो गर्नु अत्यावश्यक भइसकेको छ ।

घरको क्षेत्रफल फराकिलो भए बच्चाले मन खोलेर खेल्न पाउँछन् । आँगनमा पीङ, ‘प्लेहाउस’ आदिको व्यवस्था गर्न सकिन्छ । बच्चा भएको घरमा आँगनको हरियो दूबोले सौन्दर्यसँगै सुरक्षाको काम गर्छ । खेल्दा र उफ्रिंदा बच्चा लडे चोटपटकबाट बचाउँछ ।

खेल्ने ठाउँका लागि घरको आकार ठूलै हुनुपर्छ भन्ने छैन । तपाईं आफ्ना बालबच्चाका लागि ठीकै आकारको कोठामा पनि रमाइलो दुनियाँ सिर्जना गर्न सक्नुहुन्छ । यस्तो कोठामा बच्चा मात्र होइन, फुर्सदको बेला तपाईं आफैंलाई पनि ताजगी मिल्छ ।

बच्चा खेल्ने कोठामा गरिने साजसज्जा आकर्षक र आनन्ददायक हुनुपर्छ । यसमा रङको भूमिका महत्वपूर्ण हुन्छ । भित्तादेखि कोठाभित्र राखिने सरसामानमा रङको तारतम्य मिलाए कोठा चहकिलो हुनुका साथै बच्चालाई आकर्षित गर्छ । सेतो भित्तामा बच्चाहरूकै तस्वीर, वालपेपर राख्दा पनि सफा र चिटिक्क देखिन्छ । वालपेपर बच्चाहरूको कल्पनाशीलता बढाउने प्रकारको रोज्नुपर्छ । तर, भित्तामा यस्तो सामग्री धेरै सजाउँदा फोहोर र भद्दा नहोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ । विकल्प रोज्न सक्ने उमेर समूहको बच्चा भए कोठामा सजाउने सामग्री छनोटमा सहयोग लिनु उत्तम हो ।

खेल्ने कोठा बनाउँदा पहिलो शर्त हो, सुरक्षा । कोठा भरसक भद्दा सामानहरू नराखिएको खुला हुनुपर्छ । अल्झिने, ठोक्किने वस्तु नहोस् । जसले गर्दा बच्चा उन्मुक्त भएर खेल्न सकून् । बच्चाहरू चञ्चल र राम्ररी सन्तुलन नमिलाई हुत्तिएर हिंड्ने प्रकृतिका हुन्छन् । कोठामा बेड लगायतका फर्निचर राखिएको छ भने तिनको किनार वा धार बच्चालाई चोट नलाग्ने गरी राम्ररी मोरिएको र कपडाले छोपिएको हुनुपर्छ ।

कोठाको भुईं पनि कार्पेट, गलैंचा, फोम आदिको सुव्यवस्थित संयोजन गरेर बच्चामैत्री पार्नु आवश्यक हुन्छ । बच्चाहरू उफ्रिंदा उफ्रिंदै लड्न सक्छन्, एकभन्दा बढी बच्चा छन् भने खेलौना खोसाखोस वा कुनै खेल खेल्ने क्रममा धकेलाधकेल गर्न सक्छन् । भुईंमा बाक्लो कार्पेट भए ढुक्क हुन सकिन्छ । यस्तो आरामदायी भुईंमा बच्चाहरू खेल्दाखेल्दै भुसुक्क निदाउन सक्छन् ।

खेल सामग्री छनोट पनि उत्तिकै महत्वपूर्ण पाटो हो । हुर्किंदो उमेर खेल्दै सिक्दै गर्ने बेला हो । यसैले खेल सामग्री शिक्षाप्रद र ज्ञानबद्र्धक भए बच्चाहरूले खेलैखेलमा थाहै नपाई धेरै कुरा सिकिरहेका हुन्छन् । गणित, विज्ञान आदि विषयका विविध पक्ष बुझाउने खेलौनाहरू उपयुक्त हुन्छ । यसबाट बच्चाले अंक गणना र रङ पहिचान गर्न सिक्नुका साथै विज्ञान सामग्रीबारे आधारभूत जानकारी बटुल्न सक्छन् । विद्यालय जाने बच्चाहरूले कक्षामा पढेका कुरालाई घरमा आएर ती सामग्री मार्फत पुनः दोहोर्‍याउन सक्छन् । चित्र बनाउने, रङ भर्ने कार्यमा पनि केटाकेटी रमाउँछन् । विभिन्न अध्ययनले टेलिभिजन र यूट्युबका कार्टुन वा राइममा भुल्नेभन्दा खेल खेल्ने बच्चाहरू सिर्जनशील हुने देखाएका छन् ।

खेल सामग्रीमा विभिन्न जीवजन्तुलाई समेट्नु बच्चाहरूको लागि रोचक र जानकारीमूलक हुन्छ । यसबाट उनीहरूले रमाइलो तरिकाले विभिन्न जनावरको आवाज नक्कल गर्दै नजानिंदो रूपमा तिनको नाम जानिसक्छन् । यस्तै, प्लास्टिकका ब्लकहरूबाट खेलौना घरको तला थप्दै बच्चाहरूले आफ्नो सिर्जनशीलता तिखार्ने मौका पाउँछन् । तर, यस्ता खेलौनाहरू विषाक्त रसायनमुक्त छन् कि छैनन् भन्नेतर्फ भने अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

comments powered by Disqus

रमझम