म पहिलो पंक्ति लेख्छु
र डराउँछु राजाका सिपाहीहरूसँग
पंक्ति काटिदिन्छु
म दोस्रो पंक्ति लेख्छु
र डराउँछु बागी गुरिल्लाहरूसँग
पंक्ति काटिदिन्छु
मैले आफू बाँच्नका लागि
आफ्नै हजारौं पंक्तिको
यसरी नै हत्या गरेको छु
ती पंक्तिका आत्मा
प्रायः मेरै वरिपरि हुन्छन्
र मलाई भन्छन्ः
कवि महोदय
तिमी कवि हौ कि कविताका हत्यारा ?
सुनेको थिएँ कैयौं न्यायाधीशद्वारा
न्यायको हत्या भएको
धर्मभीरुहरूद्वारा नै
धर्मको पवित्र आत्माको हत्या गरिएको
सुन्न बाँकी यही मात्रै थियो
हाम्रो समयमा डरले काम्दै
कवि पनि बने
कविताका हत्यारा ।
एमाओवादीले गत २२ भदौमा अचानक काठमाडौं, चितवन र गोरखा बन्द ग¥यो । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा एमाओवादीले गरेको बन्दले हिन्दू महिलाहरूको तिज मनाउने अधिकारलाई पनि घोर उपेक्षा गरेको थियो । बन्दको स्वस्फूर्त प्रतिकार भएपछि माफी माग्दै चार घन्टामै बन्द फिर्ता लिन एमाओवादी बाध्य भएको थियो । त्यसको भोलिपल्ट नागरिक दैनिकले छापेको साहित्यकार जगदीश घिमिरेको ‘बन्द गर प्रभु ! बन्द गर !’ शीर्षकको कविताको पहिलो पंक्ति–
तिमीलाई पनि मलाई जस्तै
क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न
अस्पताल जान
नसकेर अकालमा मर्नु परोस् ।
भारतीय कवि पातरले कवि मण्डलीभित्रै कविताको हत्यारा देखेका छन् । घिमिरेले बारम्बार बन्दको अस्त्र प्रयोग गरेर जनजीवनलाई मरणासन्न पार्ने राजनीतिक दलहरूलाई श्राप दिएका छन् । दुवै कविको निष्कर्ष छ– यस्तोमा कवि बोल्नै पर्छ, नत्र कविताहरू केवल प्रलाप बन्नेछन् ।
लामो समयदेखि मृत्युसँग जुधिरहेका कवि घिमिरे अरूलाई जीवन सिकाइरहेका छन् । उनको पछिल्लो कविता समकालीन नेपाली कविहरूको मनोविज्ञानमाथि चेतनाको प्रहार हो । काम गरिखाने र स्वतन्त्र हिंडडुल गर्ने नागरिक अधिकार खोसिंदा कवि बोल्नुपर्दैन ? पाठकले कविका कुण्ठा मात्र पढिरहनुपर्ने ? अर्का प्रसिद्ध भारतीय कवि धूमिलले कवितालाई ‘सर्वप्रथम, एउटा सार्थक वक्तव्य’ भनेका छन् । सार्थक कविता लेख्ने कविको वक्तव्य जनविरोधी हुनै सक्दैन । पातर र घिमिरेका कविताले पनि यही भन्छ । भारतकै प्रगतिशील कवि गोरख पाण्डेयको ‘कविता’ को पहिलो पंक्ति–
कविता, तिमी युगको अनुहार बन
अफ्रिका, ल्याटिन अमेरिका
एशियाका उत्पीडित हरेक अंग
जनविरोधीहरूको आँखामा
तीखो भाला बनेर उत्र !
नेपालका कविहरू भने पातरले भने जस्तै शायद राजनीतिक दलका गलत क्रियाकलाप विरुद्ध कविता लेख्दै च्यात्दै गरिरहेका छन् । नेताहरूले कुनै पदमा आसीन नगराउने पो हुन् कि भन्ने डरका कारण उनीहरू आफ्नो दायित्व भुलिरहेका छन् । दलहरूले तिनलाई तीन वटा एकेडेमी, साझा प्रकाशन, गोरखापत्र संस्थान लगायतका संस्थाहरूमा चराउने गरेका छन् । त्यहाँको हरियो घाँसको लालचले नेपाली कवि–लेखकहरूको चेतनालाई भुत्ते बनाइरहेको हुन सक्छ ।
मुलुकको हरेक लोकतान्त्रिक आन्दोलनमा नेपाली कवि–लेखकहरूले सार्थक भूमिका निर्वाह गरेकै हुन् । ती आन्दोलनका संचालकहरूले गलत बाटो लिए भन्दैमा कवि–लेखकले मौनता साँध्न मिल्ने कुरा होइन । दोस्रो संविधानसभाको चुनाव बहिष्कारको धम्की दिइरहेको नेकपा–माओवादीले बन्दको क्यालेन्डर नै सार्वजनिक गरेको छ । अब हेर्नुछ, कुन कविले सर्वसाधारणलाई अनाहकमा कष्ट दिने त्यस्तो कृत्यको कसरी विरोध गर्नेछन् या घाँस चर्न पाउने आशामा उँघिरहने छन् !