१३ असोज २०७० | 22 Septrmber 2013

‘दिल्लीको हस्तक्षेप बढ्नु माओ वादी विद्रोहको दुष्परिणाम हो’

Share:
  
- किरण नेपाल
नेपालको राजनीतिक संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाबारे लेखिएको पत्रकार सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’ सार्वजनिक हुनुअघि नै चर्चामा छ । राष्ट्रिय दैनिक कान्तिपुर को प्रधान सम्पादक शर्माले पछिल्लो डेढ दशकको नेपाली राजनीतिलाई प्रभावित पार्ने बन्द कोठाभित्रका अपत्यारिला घटनाहरूलाई पुस्तकमा सहज रूपमा उतारेका छन् । पुस्तकमा उठाइएका विषयमा केन्द्रित रहेर शर्मासँग गरिएको कुराकानीः

प्रयोगशाला कस्तो पुस्तक हो ?

किशोर कायस्थ
नेपालको पछिल्लो दुई दशकको उतारचढावपूर्ण राजनीतिको वृत्तान्त हो । माओवादी सशस्त्र विद्रोह शुरू भएपछि नेपाल कसरी गुज्रियो, माओवादीले राजदरबार र भारतसँग कस्तो सम्बन्ध राख्यो र त्यसले नेपाली राजनीतिमा कस्तो असर पार्यो जस्ता विषयमा एउटा पत्रकारले देखेको, भोगेको र खोजेको कुरा छ, प्रयोगशालामा ।

दिल्लीको भूमिका अरू दलभन्दा माओवादीमा बढी देखिएको तपाईंको पुस्तकमा छ नि !

नेपाली राजनीतिमा दिल्लीको भूमिका पहिलेदेखि नै छ । पछिल्लो समय विद्रोही माओवादीले सहयोग मागेपछि तथा राजा र सात दलबीच दूरी बढेपछि उसको भूमिका बढेको हो । राजा, सात दल वा माओवादीले सीमित आकांक्षाले सहयोग मागे पनि भारतले आफ्नो लक्ष्य र रणनीति अनुसार भूमिका बढाइरह्यो । र, अहिले ‘माइक्रो–म्यानेज’ गर्ने तहसम्म पुगेको छ । तर, यो अवस्थाले हामीलाई मात्र होइन, भारतलाई पनि लाभ पुगेको छैन ।

भारतलाई किन लाभ हुँदैन ?

भारतले राजनीतिक वा कूटनीतिकभन्दा कर्मचारीतन्त्र र गुप्तचर निकायको आँखाबाट हेरेकाले यहाँ धेरै गडबड भएको छ । किनभने, राजनीतिज्ञ वा उच्च तहको कूटनीतिज्ञले जस्तो गुप्तचर निकायले बृहत्तर र दीर्घकालीन सोच राखेर विदेश नीति निर्माण गर्दैन ।

नेपाल–भारतबीच पहिले प्रधानमन्त्री, राजा–राष्ट्रपति र उच्च राजनीतिक तहमा द्विपक्षीय सम्बन्ध हुने गरेकोमा अहिले नेपालका नेताहरूले भारतको निम्न वा मध्यम तहका कर्मचारीको मुख ताक्न थालेका छन् । तर, यसले नेपालमा भारतविरोधी भावना बढाउने हुनाले भारतलाई फाइदा हुँदैन । बंगलादेश, श्रीलंका, माल्दिभ्स र पछिल्लो समय भुटानमा भारतविरोधी सेन्टिमेन्ट देखिनुको कारण यस्तै भएर हो ।

माओवादी सफल हुनुमा उपयोगितावाद प्रमुख कारण हो ?

नेपालमा यस्तो आन्दोलन मौलाउन सक्ने सामाजिक, आर्थिक र राजनीतिक आधारहरू पर्याप्त थिए । तर, समयमै सेना परिचालन नहुनु माओवादी विद्रोह मौलाउनुको कारण रह्यो । सरकारले चाहँदा पनि दरबारले सेना परिचालन गर्न नदिएर पछि आफैं शिकार हुने खालको अदूरदर्शी निर्णय लियो ।

२०५८ पछि भने माओवादी विद्रोह फैलाउन भारतको भूमिका रह्यो । भारत र माओवादीबीच संस्थागत सम्बन्ध गाँसिएको त्यही वेला हो । त्यसपछि भारतले नेपाली सेनालाई माओवादी विरुद्ध लड्न सहयोग गरे पनि माओवादी नेताहरूलाई त्यहाँ खुला गतिविधि गर्न छूट दियो । जसको फाइदा माओवादीले राम्ररी उठायो । तर दिल्लीले पनि नेपालको राजनीतिमा हस्तक्षेप बढायो । जुन, माओवादी विद्रोहको मुख्य दुष्परिणाम हो ।

पुस्तकमा भनिए अनुसार त माओवादी ‘जनयुद्ध’ प्रोक्सी वार जस्तै देखिन्छ नि हैन ?

माओवादी युद्ध भारत वा दरबारसँग सल्लाह गरेर शुरू गरे जस्तो मलाई लाग्दैन । त्यसको वस्तुगत आधार देशमै थियो । विस्तारमा मात्र दिल्ली र दरबारको प्रमुख भूमिका रहेको हो । दरबार र दिल्लीले माओवादीलाई र माओवादीले दुवैलाई उपयोग गर्न खोजेका थिए ।

मीनरत्न बज्राचार्य
पुस्तकले त विद्रोहको धरातल मुख्य रूपमा माओवादीको अवसरवाद देखाउँछ... ?

अवसरवाद माओवादीको पुरानै नीति हो । गणतन्त्र लक्ष्य भए पनि गणतन्त्र नआई राजासँग सहकार्य हुँदा पनि ठीक भन्नेमा थियो, ऊ । भारतको एउटा सेक्सन पहिलेदेखि नै नेपालमा गणतन्त्र चाहन्थ्यो । उसको दरबारसँग दूरी बढेपछि माओवादीसँग मिल्ती भयो । राजाले किनारा लगाएपछि संसद्वादीहरू पनि राजाविरोधी कित्तामा पुगे । राजतन्त्र जानुमा माओवादी जत्ति नै भारत पनि कारक रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको मूर्खताले त्यसमा बल पु¥याएको हो ।

दरबार र माओवादीबीचको सम्बन्धले माओवादीलाई बलियो र दरबारलाई कमजोर बनाएको हो ?

निश्चय नै । गिरिजाप्रसाद कोइरालाले भनेका थिए— वीरेन्द्र पनि शासनसत्ता लिन चाहन्थे । तर उनले भन्दा ज्ञानेन्द्रले हतार गरे । माओवादीलाई निहुँ बनाएर सत्तामा पूर्ण नियन्त्रण बनाउने दरबारको महत्वाकांक्षा थियो । त्यसैले राजतन्त्र अन्त्य गर्यो ।

दरबार हत्याकाण्ड दीपेन्द्रको सनकले मात्रै नभएको तपाईंको भनाइ हो ?

दरबार हत्याकाण्ड हुनुअघि तत्कालीन राजा वीरेन्द्रले भाइ धीरेन्द्र र कर्णेल दिलीप रायमाझी जस्ता दूतहरूलाई माओवादीसँग वार्ता गर्न खटाएका थिए । वीरेन्द्रका निकटस्थहरूको भनाइमा माओवादीको अभीष्टप्रति नरम नभए पनि तुरुन्तै सेना परिचालन गर्दा समस्या बल्झेर देश गृहयुद्धतर्फ जान सक्ने र राजतन्त्रको भविष्य संकटमा पर्न सक्ने वीरेन्द्रको आकलन थियो । त्यसका लागि उनले भारत, चीन र अमेरिकाको सहयोग लिन खोजे पनि भारतको सहमति पाएनन् । चीनको सहमतिमा माओवादीसँगको वार्ता उत्कर्षमा पुगेको वेला दरबार हत्याकाण्ड भएको देखिन्छ ।

तर, अहिलेसम्म प्राप्त तथ्य र घटनाक्रमले हत्याकाण्डको माध्यम दीपेन्द्र बनेको देखाउँछन् । वीरेन्द्रको सम्भावित कदम नरुचाउनेहरूले दीपेन्द्रलाई महत्वाकांक्षा जगाएर उचालेका र दीपेन्द्र राजा हुँदा आफूले चाहे जसरी चलाउन सकिने अपेक्षा राखेका हुन सक्छन् । दरबार हत्याकाण्डलाई अहिलेको संक्रमणको उद्गम मान्न सकिन्छ । दरबार हत्याकाण्डले गणतन्त्र र सीमित आकारको माओवादी युद्धलाई विस्तार हुने ढोका खोलिदियो ।

गुप्तचरीका थुप्रै प्रसंगहरू पनि छन्, पुस्तकमा ?

भारतीय गुप्तचर ‘रअ’ ले नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, माओवादी र राजनीतिक पार्टीसँग सम्बन्ध राखेर काम गरेको थियो । स्वदेशी तथा विदेशी गुप्तचर निकायहरू पछि बसेर काम गर्ने निर्णायक वेलामा भूमिका देखाउँथे । उनीहरूको बाहिरी रूप राजनीतिकर्मी, कूटनीतिज्ञ जे पनि हुन सक्थ्यो ।

नेपाली राजनीतिमाथि भारतीय इन्टेलिजेन्स हावी भएको देखियो हैन ?

नेपालको विषयमा २०५९ बाट तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीले गुप्तचर निकायलाई ‘डे–टु–डे’ काम गर्ने जिम्मेवारी दिएको देखिन्छ । त्यही अनुसार, ‘रअ’ को भूमिका अहिले पनि जारी छ ।

यो प्रयोगशालामा अन्तिम विजय कसले पाएको ठान्नुहुन्छ ?

पुस्तकमा मैले दिल्ली, दरबार र माओवादीलाई मुख्य पात्र बनाएको छु । दरबारको पराजय भइसक्यो । दिल्ली र दरबारको सहयोग लिएर सत्ताकब्जा गर्न नसक्ने देखेपछि माओवादी रूपान्तरण भएर मूलधारको पार्टी बन्यो । त्यसको सहउत्पादन वैद्य माओवादीमा जनयुद्धकालीन धङधङी भने कायमै छ । भारतले पछिल्लो समय राजतन्त्रको पतनमा भूमिका खेल्यो । माओवादीको रूपान्तरणमा पनि उसको भूमिका देखिन्छ । भारतको अन्तिम अभीष्ट भने अझै खुलेको छैन ।

पुस्तकमा घटनाक्रमलाई पात्रविशेष मार्फत पेश गर्नुभएको छ, किन ?

राजनीतिक इतिहास लेखनमा घटनालाई प्रधानता दिइन्छ । तर घटनालाई पात्रले ड्राइभ गर्छन् । गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, ज्ञानेन्द्र शाह, १२ बुँदे समझ्दारी गराउने श्यामशरण वा ‘रअ’ का प्रमुख हर्मिज आदि पात्रहरूको भूमिका महत्वपूर्ण हुने नै भयो । त्यही भएर मैले उनीहरूको मनोविज्ञान र भूमिका खोतल्ने प्रयास गरें । पात्रबाट छिर्दा घटना बुझन पनि सजिलो हुन्छ । यो पुस्तक लेख्न १५० जति मानिससँग कुरा गरे, त्यसमध्ये ६२ जनाले नाम उल्लेख गर्न मान्नुभयो ।

अरू राजनीतिक दलहरूको भूमिका गौण देखाइएको छ नि ?

बिल्कुल होइन । कांग्रेस, एमाले जस्ता दलहरूको आफ्नै भूमिका छ । तर पुस्तकको विषय माओवादीको ‘जनयुद्ध’ भएकोले तीन वटा पात्र देखिएका हुन् ।

comments powered by Disqus

रमझम