बर्माको सम्झना–२०

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक 

७ दिन बितेपछि एउटी पन्जाबी सलोतरीनी रोटी पोलिरहेकी थिइन्। रोटी पोल्दापोल्दै जहाँबाट हिंडेका थिए–फलामबाट–एउटा मानिस जोडतोडले हिंड्ने हुनाले अगाडि गएका मानिस भेट्न आइपुगे। त्यो मानिससित उहाँको हालचाल बुझन थालिछन् र आफ्ना लोग्नेको हाल सोधिछन्। आफ्ना पति पनि आफू हिंडेका दिनदेखि बहुतै फिक्री गर्दछन्, मन लगाएर रोटी पनि खाँदैनन् भन्ने सुन्दा– हाँ भनिछन् र हातमा बेल्दै गरेको रोटी हातैमा रहँदै मरिगइन्। केही रोटी पाकेको, आधा काँचै छाडी परलोक भएकी हुन् भनी उहाँ उनको पतिकोमा खबर गयो। यस्ता मृत्यु हुनाको कारण के हो? दिन रातको फिक्कर, बाटाको पीर, खान पिउन पौष्टिक पदार्थको अभावले नातागत भएको बेला हृदयको साधारण वेग थाम्न नसकेकाले होला भनी अन्दाज लगाइन्थ्यो, उनको संस्कार गरी बाटा लागे। पोल्टोमा १० हजार अनि ४ हजारसम्मको जेबर रहेछ। रुपियाँहरू जम्मै भारतका सीमानामा आएर अधिकारीहरूका हातमा सौंपिदिए, अनि उनका पतिलाई सोधिपठाए कि तपाईंका पत्नीका हातमा कति रुपियाँ हुनुपर्छ, कसैले झिके कि भनी भन्दा उहाँबाट उत्तर आयो– करीब पाँच हजारसम्म छ होला भनी पठाए। उनका रुपियाँ पैसा जम्मै पतिकहाँ पठाइए। लुगाफाटाहरू गरीब जनतालाई बाँडिदिए। 

आठौं दिनमा केही दुर्घटना भएन भनी सबै जना हिंडे। एउटा पुलमा पुग्दा खच्चर तर्सेर उफ्रँदा पुलैबाट खसेर सिपाहीहरूले मनिअर्डर गर्न पठाएका रुपियाँ चार हजारसम्म नदीमा डुबेर गो, खच्चर मात्रै डुबेर भएन एउटा केटो नदीछेउमा यताउति माछालाई थापेको तीप हेरी हिंड्दा डुबेर मर्‍यो। अर्का पहाडमा पुग्यौं। केटाकेटी बिरामीहरूमध्ये २ जना मरे। हामी हिंडेका सहरका मानिसहरू जो खुबै हिंड्नेहरू थिए १० दिनमा पडावमा आए। उनीहरूले समाचार ल्याए कि हावाजहाजबाट र्झ्दा घाइते भएका मानिसमध्ये कति मरे कति अस्पतालमा छन्। यी हावाजहाज अंग्रेजी सीमाना छेउमा आएर खसेका थिए।

अर्को पेन्सनवाला सिपाही जो अत्यन्त गरीब थियो, जहान बच्चा धेरै भएको मानिस कमाउँदै खाँदै बसिरहेका बेला भागाभाग पर्‍यो, ऊ पनि भागेर जान चाहन्थ्यो। तर खर्च नभएको अनि भारतमा आएर के खाउँला, यी जहान बच्चाले के खालान्, भारत केले पुगौंला भन्ने मनमा भई दुःखका पीरले गलामा फाँसी लाई जंगलमा गई झुण्डिएर मरेछ। गरीब परिवारका बालक केटाकेटीको रक्षा गर्ने अब को?

मर्दै, अनेक प्रकारका कष्ट सहँदै, हावापानी, घाम, हिलो, जुका, मच्छर, उकालो, ओरालो, नदीनाला, घोर वन पर्वत, नाघी आसामको छेउ ऐजल― भारत र बर्माको सीमानामा, फष्ट आसाम राइफलको क्याम्पमा सबैले बास गरे। यो ठाउँका नेपाली सुवेदार मेजर शमशेर गुरुङ र जमदार बहादुरसिं थापाले भागेर आएका मानिसका धेरै सेवा टहल गरे। बस्नलाई बास, खान नभएकालाई चामल, दाल, रुपियाँ पैसाका सारै कष्ट भएकालाई रुपियाँको मद्दत दिए। यो सीमानामा पुगेपछि जापानी डर कम हुन गो खान पिउनको पनि केही सुविस्ता। भारतका सीमानामा आई पुग्यौं अब ता नराम्रो बाटो काटियो, अलि दिन दुःख गरे ठेगान लागिन्छ भनी केही शान्तिको अनुभव गरे। ऐजल साढे तीन चार हजार फिट अल्गो पहाडमा बसेको छ। अघिदेखि नेपाली पल्टन बसेकाले छेउछाउ साना साना गाउँ नेपालीहरूको पनि रहेछ। उहाँका बासिन्दा जम्मै कृस्तान भइसकेका छन्। जनता बोलीचाली स्वभावका नम्र र अर्काको दुःखमा दुःखी हुने खालका छन्। अनि उहाँका अंग्रेज अधिकारीचाहिं अत्यन्त कठोर स्वभावका, कतै मानिसलाई बोलाउन परे, या कसैसित केही कुरा गर्न परे र्झ्किएर बोल्ने― अहंकारका मदमा चूर!

पहाडका टाकुरामा सहर छ। मिलिटरी र सरकारी अफिसहरू र साहेब बस्ने बंगलाहरू खुबै साफ सफाइसित राखेका छन्। उहाँका पानीको इन्तिजाम नयाँ थियो–नयाँ हाम्रा कहिले नदेख्ने मानिसका लागि मात्रै! डाँडामा बसेको हुनाले पानीको स्रोतहरू पहाडका फेदमै रहिजाने, तल पहाडका जडदेखि माथि डाँडामा पानी कसरी लानु! उहाँ पानीका लागि विशेष प्रबन्ध गरिएको छ। सहर बसेका डाँडाभन्दा अलि अल्गा डाँडामा ठूलो चौरस खाडल खनी ईंट सिमेन्टको पूर्ण सहायताले पानी नभएका सुखा डाँडामा खाल्टो तयार पारे। अनि त्यसका चारैतिर खुबै चौडा गरी खाल्टाका चारैतिर टिनका च्यादर छापे। ती च्यादरमा परेको जम्मै पानी खाडलमा पर्ने गरी ठिक्क पारे। वर्षा ऋतुभरि च्यादरमा परेको पानी तालको रूपमा हुन गई त्यही तलाउको पानी खाने गरेको रहेछ। ठूलो तलाउको रूपमा पानी जम्मा गर्नलाई टिनको छप्पर जति चौडा पारियो उति नै पानी धेर जम्मा हुँदोरहेछ।

comments powered by Disqus

रमझम