१३ असोज २०७० | 22 Septrmber 2013

मोफसल बसेर पनि चर्चामा

Share:
  
प्रतिभा देखाउन राजधानी जानै पर्ने मान्यतालाई तोड्दै केही युवा जन्मस्थलमै बसेर संगीतमा जम्न थालेका छन् ।

प्रबलदीप विश्वास
प्रतिभा फस्टाउन राजधानीमा बस्नै पर्ने परम्परागत सोचाइ रहेकोमा नवलपरासी गैंडाकोटका विशाल ढकाल, विराटनगरका प्रबलदीप विश्वास (राजवंशी) र पोखराका सोभित बस्यालले भने जन्मस्थलमै बसेर संगीतमा प्रतिभा देखाइरहेका छन् ।

गैंडाकोटको बाल विकास उच्च माविमा अंग्रेजी विषय पढाउने विशालले त्यतै बसेर संगीत भरेको गायक राजेशपायल राईले गाएको ‘पिरतीको नाममा सधैं धोका खाई’, भुवन प्यासीले गाएको ‘यो जुनीलाई होइन जुनी–जुनीलाई’, स्वरुपराज आचार्यले गाएको ‘वर रुँदा पीपल’ चर्चित बनेको छ भने कहिलेकाहीं राजधानी आए पनि उनले पिरतीको नाउमा, बैगुनी यादहरू र समय एकल अल्बम नै बजारमा ल्याइसकेका छन् ।

विशालले संगीत दिएका ६० वटा गीतमा राजेशपायल राई, रामकृष्ण ढकाल, दीपक लिम्बू, स्वरुपराज आचार्य, अञ्जु पन्त जस्ता चर्चित गायक/गायिकाले स्वर दिएका छन् । उनको क्षमताको कदर गर्दै नेपाल टेलिभिजनमा प्रसारण भइरहेको सिङ्गिङ स्टार कार्यक्रमले उनलाई अतिथि बनाएको छ ।

विशाल ढकाल
विराटनगरका गायक प्रबलदीपले उतै बसेर आठ वटा भाषामा गीत रेकर्ड गराइसकेका छन् । स्थानीय तीन वटा निजी विद्यालयमा विद्यार्थीलाई संगीत सिकाउँदै स्वर साधनामा लागेका उनले वि.सं. २०५९ मा रेडियो नेपालमा बजेको ‘हाम्रो रम्यो देश...’ गीतमा पहिलो पटक स्वर दिएका थिए । संगीतकार भुपेन्द्र रायमाझीबाट पाएको त्यो अवसरमा क्षमता देखाएका उनले रामा मण्डल, प्रकाश श्रेष्ठ, सपनाश्री, ईश्वर अमात्य, प्रतिमा राजभण्डारी जस्ता चर्चित गायकसँगै गीत गाइसकेका छन् ।

अहिलेसम्म १५० भन्दा बढी गीत रेकर्ड गराइसकेका उनले १०० वटा गीतमा संगीत पनि दिएका छन् । एउटा सोलो अल्बम जे पनि बजारमा ल्याइसकेका उनले राजवंशी, थारू, मैथली, हिन्दी, भोजपुरी भाषाका चलचित्रका गीतमा पनि स्वर दिएका छन् । २०६२ मा नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाल स्टारमा पा“चौं स्थान पाएका उनी त्यही वर्ष नेपाल वान टेलिभिजनबाट प्रसारण हुने नम्बर वान ट्यालेन्ट हण्टमा उत्कृष्ट दशमा परेका थिए । मैथली भाषाको चलचित्र प्रेम सफल मा गाएको गीतले उनलाई २०६४ मा इमेज अवार्ड दिलाएको थियो ।

सोभित बस्याल
२०५७ देखि संगीतमा लागेका पोखराका सोभित बस्यालले गाएको गीत ‘जति टाढा’ चर्चित छ भने उनको स्वर र संगीत रहेको पहिलो पप अल्बम न्यूरोड ले पनि चर्चा बटुलेकै छ । म्यूजिक भिडिओ निर्माण र त्यसमा अभिनय पनि गर्ने उनलाई गत वैशाखमा म्यूजिकखबरडटकमले सर्वोत्कृष्ट गायकको अवार्ड दिएको थियो । पोखराको गोरखाली रेडियोबाट पोखरेली गायकको सम्मान पनि पाएका उनी पोखरामा हुने सबैजसो कन्सर्टमा सहभागी हुन्छन् ।

कमल रिमाल/विराटनगर, सविता श्रेष्ठ/नारायणघाट, माधव बराल/पोखरा

comments powered by Disqus

रमझम