हामी ‘किङ्ग स्टे«ट वेस्ट’ रोडको ३५० नम्बरको ठूलो भवनमा पुग्दैछौं । त्यो अठार तले भवन टेलिफोनका आविष्कारक ग्राहम बेलको कम्पनी ‘बेल’ र बिजुली उत्पादक कम्पनी ‘लाइट बक्स’ ले टीआईएफएफको निम्ति बनाइदिएकाले त्यसको नाम नै ‘बेल लाइट बक्स ३५०’ राखिएको रहेछ । भवनको बाहिरबाटै बिछ्याइएको ‘रेड कार्पेट’ मा हिंड्दै भित्र पुग्दा मेरा आँखाले ‘टाइटानिक’ र ‘अवतार’ फिल्म बनाउने क्यामरुनलाई चिनिहाल्यो । टीभी र तस्वीरमा धेरैपल्ट नियालेका यति ठूला फिल्ममेकरलाई आफ्नै अगाडि पाउँदा खुशी नलाग्ने कुरै भएन । दुनियाँभरका एक से एक स्टार र फिल्ममेकरहरुलाई प्रत्यक्ष देख्ने–भेट्ने मौका जुर्यो ।
केही समयपछि ‘नेगेटिभ’, ‘पोजेटिभ’ बेरिएका दश वटा फिल्मका रील त्यहाँ ल्याइए र त्यसैलाई काटेर टीआईएफएफ– २०१३ शुरु गरियो । दिनभर विभिन्न फिल्म प्रदर्शन भए । साँझ पर्दै जाँदा फेरि रेड कार्पेटको तयारी शुरु भयो । चम्किएका लाइटमा हामी ‘रेड कार्पेट एरिया’ तिर लाग्यौं र अरुको हेर्दै विभिन्न पोजमा उभियौं । ‘रेड कार्पेट’ मा फिल्ममेकरहरु आउँदा क्यामरा धेरै चल्दा रहेछन्, सेलिब्रिटी (हिरो–हिरोइन) हरु आउँदा पब्लिकको उत्साह बढ्दो रहेछ । अर्थात्, फिल्ममेकरको क्रेज स्टेज र सेलिब्रिटीको क्रेज पब्लिकमा हुँदोरहेछ । त्यो सब हाम्रा लागि ‘अचम्म’ नै थियो ।
दोस्रो दिनदेखि प्रतिस्पर्धाका लागि नोमिनेट भएका फिल्महरुको प्रदर्शनी शुरु भयो । त्यसपछि ‘विशेष स्क्रिनिङ्ग’ मा परेका फिल्म र डकुमेन्ट्री हेर्न थालियो । २६ भदौ (११ सेप्टेम्बर)मा हाम्रो डकुमेन्ट्रीको विशेष प्रदर्शनी भयो । यो दिनको ‘शो’ न्यूयोर्कको ‘ट्वीन टावर’ मा भएको आतङ्ककारी हमलामा मारिनेहरुलाई श्रद्धाञ्जली दिएर शुरु गरियो । हाम्रो डकुमेन्ट्रीको विषय पनि त्यस्तै पीडादायी थियो । ११ सेक्टेम्बरको हमला र हाम्रो डकुमेन्ट्रीले उतारेका कथा दुवै आतंककै परिणाम थिए । ‘११ सेप्टेम्बर’ अलकायदाले जन्माएको थियो भने हाम्रो डकुमेन्ट्री माओवादीको क्रूरताबाट निस्किएको थियो । फिल्म सकिएपछि फिल्ममेकरले त्यसबारे बोल्नुपर्ने रहेछ । मानवअधिकार र आतंककारी गतिविधिको विषय समेटेर बोलियो । त्यस्तोमा सबैले उठेर ताली बजाउने चलन हुँदोरहेछ, बडो गौरवको अनुभूति भयो ।