२६-३२ जेठ २०७६ | 9-15 June 2019

कुकुरको स्याहार: निष्काम सेवा

Share:
  
- गोपाल गड्तौला
सडकबाट घाइते र रोगाएका कुकुरको उद्घार गरी उपचार र रेखदेख गर्न सृजना ठकुरीले संचालन गरेको स्याहार केन्द्रमा २०० भन्दा बढी कुकुरले संरक्षण पाइरहेका छन्।

कुकुरसँग खेल्दै सृजना । तस्वीरहरुः गोपाल गड्तौला
७ जेठमा कसैले फोन गरेर भक्तपुरको सल्लाघारीमा गाडीले किचेर घाइते भएको कुकुर सडकमा छटपटाइरहेको खबर दियो । ललितपुरको धापाखेलस्थित श्रीज एनिमल रेस्क्यू नेपाल नामक कुकुर स्याहार केन्द्रको एक टोली तत्काल त्यहाँ पुग्यो । पछिल्तिरका दुवै खुट्टा किचिएको कुकुरलाई स्याहार केन्द्र पुर्‍याइयो, पशु स्वास्थ्यकर्मीले खुट्टामा काम्रो हालेर गुड्ने स्ट्रेचरमा राखी उपचार शुरू गरे । घाइते कुकुरले दुःखाइ मेट्ने औषधि र तातो पोषिलो खाना पायो । “यसलाई तङ्ग्रिन एक महीना जति लाग्ला”, स्याहार केन्द्रकी संचालिका सृजना ठकुरी भन्छिन् ।

स्याहार केन्द्रमा अहिले २०६ वटा कुकुर छन्, जसमध्ये ४५ वटालाई काम्रो लगाएर स्ट्रेचरमा राखिएको छ । स्याहार केन्द्रबारे थाहा पाएका व्यक्तिहरूले दुर्घटनामा परेका, स्याहार नपाई सडकमा थलिएका कुकुर देख्नासाथ खबर गर्ने गरेका छन् । सडकमा भेटिएका कतिपय घाइते कुकुर त निकै महँगो पर्ने उच्च नश्लका समेत हुन्छन् । एक महीनादेखि स्याहार केन्द्रमा रहेको सेन्ट बर्नार्ड स्विस कुकुर हो, जसको मूल्य झण्डै रु.१ लाख १५ हजार पर्छ । केन्द्रमा हाल जर्मन सेफर्ड, कर्कस्पाइनल, डालमेसन, जापनिज स्पिज, पग, बुल्डग, ल्याब्राडोर, बक्सर, फ्रेञ्च बुल्डग लगायत जातका कुकुर छन् । यीमध्ये धेरैजसो जातका छाउराको मूल्य नै बजारमा प्रतिगोटा रु.१० हजारभन्दा बढी पर्छ ।

पहिले सुरक्षाका लागि पालिने कुकुर शहरी क्षेत्रमा सोख र एक्लोपन मेटाउने साथीको रूपमा पालिन थालेको छ । कुकुरका सौखिनहरूको संख्यासँगै यसको व्यापार पनि फस्टाइरहेको छ । यसरी सोखका लागि सम्पन्न घरहरूमा पालिएका महँगा कुकुरलाई घरमै ब्रिडिङ गराइने र ब्याउन नसक्ने बूढो वा रोगी भएपछि अलपत्र छाडिदिने प्रवृत्तिका कारण काठमाडौंका सडकमा उच्च नश्लका कुकुर भेटिने गरेको सृजना बताउँछिन् । “यो त उमेर छउञ्जेल दूध खाएर बूढा भएका गाईलाई सडकमा छोड्ने जस्तै निर्दयी काम हो”, उनी भन्छिन् । सोखका लागि पाल्नेहरूबाट राम्रो स्याहार नपाएर रोगाएका तिनै भुस्याहा कुकुरहरूले स्याहार केन्द्रमा आश्रय पाइरहेका छन् ।

सडकमा अलपत्र छोडिएका कुकुर स्याहार्न स्याहार केन्द्रमा चार जना पशु स्वास्थ्यकर्मी र दुई जना सहयोगी खट्छन् । यसका लागि सृजनाले ललितपुरको धापाखेलमा दुई रोपनी जग्गा वार्षिक रु.२ लाख २० हजार भाडामा लिएकी छन् । केन्द्रमा कुकुरका लागि दैनिक ४५ किलो चामलको भात पाक्छ । सातामा १५० किलो कुखुराको मासु खपत हुन्छ । औषधि, खुराक, कर्मचारीलाई तलब र जग्गाको भाडा सबै गरेर मासिक रु.३ लाख खर्च हुने गरेको छ ।

कुकुरका लागि खाना पकाउँदै सृजना ठकुरी ।

स्याहारमा दत्तचित्त

काठमाडौं, नयाँबानेश्वरमा सम्पन्न परिवारमा जन्मेहुर्केकी सृजना (४०) सानैदेखि जनावरप्रेमी थिइन् । स्कूलबाट फर्किंदा बाटामा भेटिने कुकुरलाई घरमा ल्याउँथिन् र अभिभावकको झर्कोफर्को सुन्दै तिनलाई खुवाउने र नुहाइदिने काममा रमाउँथिन् ।

कुकुर पाल्ने रहरले विवाहपछि आकार पायो । तीन वर्ष अघि उनको घरमा कुकुरको संख्या थपिंदै १८ वटासम्म पुग्यो । बिहानदेखि रातिसम्मको समय तिनैको स्याहारमा बित्थ्यो । मानसिक रूपमा अस्वस्थ छोरा सहित नेपाल बसेकी उनका श्रीमान् भानु ठकुरी भने अमेरिकामा होटल चलाउँछन् । कुकुरको संख्याले घर साँघुरो भएपछि उनले श्रीमान्सँगको सल्लाहमा घर बेचेर अपार्टमेन्ट किनिन्, र धापाखेलमा जग्गा भाडामा लिएर कुकुर स्याहार केन्द्र स्थापना गरेकी हुन् । बिरामी छोराको रेखदेख र घर चलाउन श्रीमान्ले पठाउनेमध्ये केही रकम बचाएर उनले कुकुरहरू स्याहार्दै आएकी छन् । “यिनीहरू मलाई आफ्नो सन्तान झैं प्रिय छन्” उनी भन्छिन्, “मासिक लाखौं रकम खर्च भए पनि यो कामबाट शान्ति र सन्तुष्टि मिल्छ ।”

सृजनाको कुकुरप्रेमका कारण कतिपय चिनारु र आफन्त तर्किंदै गएका छन् । तर, त्यसका कारण घाइते र रोगी कुकुरको उद्धार, उपचार र स्याहार गर्ने उनको रुचिमा कत्ति पनि फेरबदल आएको छैन । कुकुर सुमसुम्याएको, तिनका किर्ना टिपिदिएको, लुतोले ग्रस्तलाई मल्हम लगाइदिएको देखेका आफन्तहरू घिन मानेर टाढिनुलाई उनी अस्वाभाविक मान्दिनन् । खुशीसाथ भन्छिन्, “मेरो हातबाट औषधि र खाना पाएको कुकुर दुई दिन भए पनि बढी बाँच्यो भने आफन्तहरू भेटेभन्दा बढी रमाउँछु ।”

गुड्ने स्ट्रेचरमा राखिएका घाइते कुकुर ।

छाउरा छाउरी उत्पादन गर्दा स्याहार पुर्‍याउन गाह्रो हुने भएकोले केन्द्रमा रहेका सबै कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रमा रहेको स्वस्थ कुकुर घरमा पाल्न चाहनेलाई उनी निःशुल्क दिन्छिन् । दैनिक सरदर १२ घण्टा कुकुर स्याहारमा खटिने उनी र उनका कर्मचारीले वर्षमा ६ पटक रेबिज विरुद्धको सुई लगाउने गर्छन् । भेटेसम्मका कुकुरलाई कालगतिले नमरूञ्जेल राम्रो खाना र उपचार दिएर जीवन बिताउने उनको उद्देश्य छ । भन्छिन्, “प्रकृतिकै सृष्टि भएकोले यी अबोध प्राणीका लागि पनि ठाउँ हुनुपर्छ भनेर यो काममा लागेकी हुँ ।”


निकट साथी

मानिससँगको सम्बन्धमा हजारौं वर्षदेखि जोडिएको कुकुर घरको सुरक्षा गर्ने वफादार प्राणीको उदाहरण बनेको छ । हिजोआज परिवारका युवा सदस्यहरू कामको लागि शहर वा परदेश जाने भएकोले घरमा रहेका ज्येष्ठ सदस्य र बालबच्चाको साथीको रूपमा कुकुर पाल्ने गरिएको पाइन्छ । आफूले चाहेको बानी सिकाएर काम लिन सकिने भएकोले कुकुर भरपर्दो चौपाया मानिन्छ ।

कुकुर भावनात्मक साथी र तनाव हर्ने माध्यम बनेको विभिन्न अनुसन्धानले पनि देखाएका छन् । सन् २०१८ मा मेन्टल हेल्थ अमेरिका नामक संस्थाले गरेको शारीरिक र मानसिक स्वास्थ्य सर्वेक्षणले कुकुर र बिरालो पाल्ने ७४ प्रतिशत अमेरिकी (८ करोड ४६ लाख) मध्ये अधिकांशले त्यस्ता जनावर पाल्दा भावनात्मक सहयोग महसूस भएको, एन्जाइटी, निराशा, एक्लोपन र तनावबाट मुक्त हुन मद्दत मिलेको बताएका थिए । घरमा कुकुर वा बिरालो पाल्नेहरूको शारीरिक स्फूर्ति र काममा एकाग्रता पनि अन्यको तुलनामा केही बढी भएको सर्र्वेक्षणले देखाएको थियो ।

अपराध अनुसन्धानमा पनि कुकुरको प्रयोग महत्वपूर्ण मानिन्छ । संसारमा कम्तीमा ८० प्रतिशत प्रहरी अनुसन्धानमा कुकुरको साथ लिइएको अनुसन्धानकर्मीहरू बताउँछन् । नेपाल प्रहरीको केनाइन महाशाखाकी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङ भन्छिन्, “कुकुरमा छिटै सिक्ने, भनेको मान्ने र मालिकप्रति वफादार हुने लगायत विशेष गुण हुन्छ, यसैले अनुसन्धानमा यो प्रहरीको अंग नै बनेको छ ।”

comments powered by Disqus

रमझम