१३ असोज २०७० | 22 Septrmber 2013

हिमाल चढाउने केटी

Share:
  
- ऋषिराम कट्टेल
सोलुखुम्बुकी २७ वर्षीया पासाङ ल्हामु शेर्पा ‘आकिता’ अमेरिकामा माउन्टेन गाइड छिन् ।

सगरमाथाको प्रवेशद्वार लुक्लाकी पासाङ ल्हामु शेर्पा ‘आकिता’ १८ वर्षकै उमेरमा ट्रेकिङ क्षेत्रमा आइन् । खासमा उनी माउन्टेन गाइड बन्न भन्दा पनि सगरमाथा चढ्न यो क्षेत्रमा आएकी थिइन् । तर, यो क्षेत्रमा महिलाहरु नदेखेपछि यसलाई पेशा बनाएको आकिता बताउँछिन् । “नेपाल पर्वतारोहण संघबाट तालीम लिन जाँदा ३० प्रशिक्षकमध्ये महिला कोही थिएनन्”, उनी भन्छिन्, “दुईवर्षे कोर्स सकेपछि आफैं प्रशिक्षक बनें ।”

फ्रान्समा पनि पर्वतारोहण तालीम लिएर उनी २००६ मा नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक बनिन् । त्यही वर्ष जापानी पर्वतारोही समूहलाई खुम्बुको नाइपाई हिमालमा चढाएर माउन्टेन गाइडको पेशा पनि शुरु गरिन् ।

अहिलेसम्ममा पर्वतारोही लिएर सगरमाथा, यल पिक, मेरा पिक, आइसल्याण्ड पिक, पुत्ता हिमाल र आमादब्लमको शिखर पुगेको आकिताले बताइन् । शेर्पा एडभेन्चर गियरको ब्राण्ड एम्बेसडर समेत रहेकी उनी सन् २००८ मा अमेरिका गएकी थिइन् । अमेरिकाको वासिङ्गटन र सियाटलमा बस्ने उनी त्यहाँको माउण्ट रेइनर, माउण्ट एडम, माउण्ट सक्सन, माउण्ट बेकर लगायतका हिमाल आरोहण गराउँछिन् । विदेशमा क्लाइम्बिङ गाइड बनेकी आकिता नै पहिलो नेपाली महिला हुन् । उनी नेपाली हिमाल आरोहणमा इच्छुक विदेशीहरु यतै ल्याएर आरोहण गराउँछिन् ।

उनका अनुसार, आरोहणमा म महिला हो केटा जस्तो सक्दिनँ भन्ने हुँदैन । त्यहाँ मान्छेको जीवनको कुरा हुन्छ । टोलीलाई सफल बनाउन शारीरिक र मानसिक दुवै रुपमा सक्षम हुनुपर्छ । अहिले नेपालमा हिमाल चढ्ने महिला धेरै भए पनि माउन्टेन गाइड आकिता र दोलखाकी दावा याङ्जुम शेर्पा मात्रै छन् ।

comments powered by Disqus

रमझम