२० असोज २०७० | 29 September 2013

आत्महत्याको कारण गरीबी मात्र होइन

Share:
  
- दीपेश केसी

हिमाल (६ असोज) मा प्रकाशित ‘गरीबको रोजाइ आत्महत्या’ समाचार पढेपछि गरीबीले उत्पन्न गराउने विभिन्न समस्याबारे प्रष्ट हुन्छ । यसो भनेर आत्महत्याको मुख्य कारण गरीबी मात्र चाहिं होइन । विभिन्न किसिमका मानसिक रोगको कारण पनि मानिसले आत्महत्याको बाटो रोजेको अनुसन्धानबाट पत्ता लागेको छ ।

शर्मिला खड्का, इमेलबाट

मन भक्कानियो

हिमाल (६ असोजमा) मा प्रकाशित ‘विदेशिने बाध्यता’ फोटो–एसे पढेपछि मनै भक्कानियो । यसरी दैनिक १५०० को हाराहारीमा विदेश जाने नेपाली हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँशु झरेर स्वदेशलाई बिदाइ गरिरहेका छन् । देशमा रोजगारीको अवस्था नहुँदा अभिभावकको छायाँमा बसेर पढ्ने उमेरमा बाहिरिनुपर्ने नेपालीले विदेशमा धेरै दुःख पाएका छन् । देशमा आफ्नो व्यवसाय शुरू गर्ने वातावरण नहुँदा भोग्नुपर्ने यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायबाट वेलैमा पहल होस् ।

विमल पोखरेल, इमेलबाट

सकारात्मक समाचार

हिमाल (६ असोज) मा प्रकाशित ‘मोफसल बसेर पनि चर्चामा’ समाचारले सफलता पाउनलाई राजधानीमै पस्नुपर्दछ भन्ने सोचाइ गलत सावित गरिदिएको छ । सोभित बस्याल, प्रबलदीप विश्वास र विशाल ढकाल यस्ता उदाहरण बनेका छन् । लगातार परिश्रम गर्ने र आफ्नो उद्देश्यतर्फ लाग्ने हो भने सफल हुन केहीले छेक्दो रहेनछ । सफल हुनका लागि ठूला—ठूला शहरमा बस्ने र बिहानदेखि साँझ्सम्म अरूको सहारा माग्दै हिंड्नेलाई यो समाचारले पक्कै केही पाठ सिकाएको हुनुपर्छ ।

गोपाल पौडेल, ललितपुर

अनुसन्धान गरौं

हिमाल (६ असोज) को ‘माल छ, चाल छैन’ समाचार सान्दर्भिक लाग्यो । नेपालमा फलाम मात्र होइन यस्ता धेरै कच्चा पदार्थ छन् जसको बारेमा कुनै अनुसन्धान हुनसकेको छैन । यस्ता खानीलाई उत्खनन गर्ने हो भने विदेशबाट आयात गर्नुपर्ने समस्याबाट मुक्त हुने मात्र होइन कामका लागि विदेशिने युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिन्छ ।

हिमाल शर्मा, इमेलबाट

तराईका दलित मधेशी होइनन्

हिमाल (६ असोज) मा छापिएको ‘तराईका दलितः सबैबाट उपेक्षित’ समाचार पढेपछि तराईको वास्तविकता झ्ल्कन्छ । तराई क्षेत्रका दलित, अवधी, थारूको इतिहास नै निमिट्यान्न पार्ने गरी मूलधारका मिडियाहरूले जबर्जस्ती मधेशीकरण गरिदिनाले अस्तित्वमै संकट परेको छ । राज्य, मधेशी भनिने खास ठाउँका खास व्यक्तिहरू र मिडियाको मिलेमतोमा तराईका भूमिपुत्रलाई जबर्जस्ती मधेशीकरण गर्ने धृष्टता गरिएको छ । तराईका जातजातिको सुविधा राज्यबाट पाउने र स्थानीय स्रोत माथिको अधिकार केही मधेश भनेर चिनिएकाको खल्तीमा गएको र त्यहाँका अन्य जनजातिको अवस्था खस्कँदै गरेकोले राज्यले वेलैमा नसोच्ने हो भने तराईका भूमिपुत्रहरू मौन बस्ने छैनन् । त्यसकारण तराईका दलित, आदिवासी, थारू, अवधीलाई मधेशी नभनियोस् ।

सुब्बा राओ, इमेलबाट

राजनीतिक रूपमा मात्र होइन दलित समुदाय सामाजिक व्यवहारबाट पनि उपेक्षित छन् । दलित–दलितबीचको सामाजिक विभेदले तल्लो जातका भनिएका दलित समुदायहरू झ्नै पीडित छन् । त्यसैले यस्तो समुदायलाई माथि उठाउन सञ्चारमाध्यमले पनि विशेष भूमिका खेल्नुपर्दछ ।

सुनिता कुमाल, इमेलबाट


सच्याइएको

(३० भदौको हिमाल मा प्रकाशित ‘बंगुरः फाइदै फाइदा’ शीर्षक लेखमा ह्वाइटमीटमा पर्ने बंगुरको मासुमा खसी र राँगाको मासुमा जस्तो कोलस्टोरल बढाउने ट्रान्सफ्याट र मस्कुलरफ्याट हुँदैन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सं.)

comments powered by Disqus

रमझम