२० असोज २०७० | 29 September 2013

‘व्यावसायिक एकतामा जोड दिन्छु’

Share:
  
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष रमेश धमला भन्छन्, “अनुगमन प्रभावकारी बनाउने हो भने पर्यटन क्षेत्रबाट पर्याप्त कर उठ्छ ।”

देवकी बिष्ट
पर्यटन व्यवसायीले टानको अध्यक्षमा तपाईंलाई किन जिताए जस्तो लाग्छ ?

लामो समयदेखिको मेरो अनुभव र क्रियाशीलतालाई मूल्यांकन गरेर विजयी गराउनुभएको हुनुपर्छ । मैले यसलाई सम्पूर्ण व्यवसायीको जित मानेको छु । हाम्रो समूह क्षेत्र, जातजाति र लैङ्गिक हिसाबले समावेशी पनि थियो ।

पराजितहरूलाई कसरी मिलाउनुहुन्छ ?

चुनाव लोकतान्त्रिक विधि हो । त्यसैले, पराजित साथीहरू असन्तुष्ट हुनुहोला भन्ने लाग्दैन । पर्यटन विकास गर्ने उद्देश्यमा सबैको साथ पाउने विश्वासमा छु । त्यसमाथि, व्यवसायीहरूबीच एकता गराउने मेरो मुख्य प्राथमिकता हुनेछ । सरकार र व्यवसायीबीचको सम्बन्ध राम्रो बनाउन पनि मेरो जोड रहनेछ ।

नेपाल आउने पर्यटकको संख्या बढेको वेला पर्यटन क्षेत्रबाट कर घट्नुको कारण के होला ?

मोफसलको बारेमा अहिले म भन्न सक्दिनँ । उपत्यकाको हकमा चाहिं धेरै चर्चा गर्नुपर्ने विषय हो जस्तो लाग्दैन । अनुगमन प्रभावकारी बनाउने हो भने कसैले कर छल्न सक्दैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाले कानून विपरीत ट्रेकिङ व्यवसाय सञ्चालन गरेकाले कर घटेको होइन र ?

यो मैले पनि सुनेको छु । त्यस्ता व्यवसायी छन् भने उनीहरूलाई कानूनी दायरामा ल्याउन टानले सरकारी निकायसँग सहकार्य गर्नेछ । अनुगमनका लागि छुट्टै संयन्त्र बनाउने योजना पनि छ ।

अस्वस्थ प्रतिस्पर्धाले पर्यटन क्षेत्रलाई धरापमा पारे जस्तो लाग्दैन ?

स्वरोजगारीका लागि आउने, आधारभूत आवश्यकता पूरा भइसकेका र पर्यटनलाई उद्योगकै रुपमा विकसित गर्नुपर्छ भन्ने मान्यता बोक्ने गरी तीन किसिमका व्यवसायी छन् । त्यसैले आन्तरिक समन्वयमा अभाव देखिएको साँचो हो । अस्वस्थ प्रतिस्पर्धाले सबैभन्दा बढी हानि व्यवसायीलाई नै गर्छ ।

comments powered by Disqus

रमझम