२९ असार - ४ साउन २०७६ | 14-20 July 2019

हिजोको कूटनीति

Share:
  

भनाइ नै छ– कूटनीतिमा जे भनिन्छ त्यो गरिंदैन, जे गरिन्छ त्यसबारे सामान्यतः बोलिंदैन । आफ्नो मुलुकको हित रक्षा र प्रवद्र्धनका निम्ति प्रायः कूटनीतिज्ञले संसारभर अवलम्बन गर्ने मान्यता हो, यो । परम्परागत कूटनीतिदेखि आजको आधुनिक अभ्यासमा समेत यो मान्यता उत्तिकै प्रचलित छ । पदमा रहँदा भनाइ र गराइबीचको यही अन्तरमा अभ्यस्त नेपालका २० जना पूर्व कूटनीतिज्ञहरूले त्यो अनुभवलाई सार्वजनिक जानकारीका लागि पुस्तकमा उतारेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव नामक पुस्तक त्यसकै उदाहरण हो ।

हिजोका दिनमा विभिन्न मुलुकमा खटिने राजदूतहरूको कूटनीतिक अभ्यास सधैंका लागि गोप्य मानिन्थ्यो । पदमुक्त भएपछि पनि ती राजदूतहरूले आफ्नो कार्यकालका अनुभव सार्वजनिक गर्दैनथे । समयक्रममा त्यो मान्यता भंग हुँदै गयो । पश्चिमाहरू मात्र नभई छिमेकी मुलुकका अवकाशप्राप्त कूटनीतिज्ञहरूले पदमा रहँदाका अनुभवहरूलाई पुस्तक मार्फत सार्वजनिक जानकारीमा ल्याउन थाले । लेखक÷राजनीतिकर्मी विष्णु रिजालद्वारा सम्पादित नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव नेपालका सन्दर्भमा त्यसकै पहिलो प्रयोग हो ।

पुस्तक नेपालको कूटनीतिक अभ्यास (राजदूतहरूको अनुभव)

सम्पादक विष्णु रिजाल

प्रकाशक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

पृष्ठ ३१०+८,

मूल्य रु.४९९

मुलुकको विदेश सम्बन्धलाई दिशानिर्देश गर्ने कूटनीति स्वयंमा पूर्ण हुँदैन, बरु यो कूटनीतिज्ञहरूको प्रयोग, अनुभव र सिकाइसँगै परिष्कृत हुँदै जान्छ । त्यस हिसाबले विभिन्न कालखण्डमा विभिन्न मुलुकमा नेपालको प्रतिनिधित्व गरेर बसेका २० जना पूर्व कूटनीतिज्ञहरूको अनुभव समेटिएको यो पुस्तक स्वयंमा वजनदार छ । किनभने, यो उमेर र अनुभवले खारिएका उनीहरूको स्मृति मात्र नभएर त्यो कालखण्डको कूटनीतिलाई चियाउने ऐना पनि हो । त्यस्तो ऐना, जस मार्फत अहिलेको पुस्ताले त्यसबेलाको कूटनीतिक अभ्यासलाई हेर्न, बुझ्न र त्यसलाई आजको सन्दर्भसँग जोड्न सक्छ ।

सूचना र जानकारीका हिसाबले पुस्तक समृद्ध छ । व्यक्तिविशेषकै अनुभवको उतार किन नहोस्, त्यसबेलाका राजदूतहरूले देशको भूमिका विस्तार गर्ने क्रममा लिएका निर्णय, गरेका पहल र आतिथेय मुलुकका पदाधिकारीहरूसँग गरेका संवादका प्रसंगले मुलुकको आजको कूटनीति बुझ्न सघाउँछन् । पूर्व कूटनीतिज्ञहरूको अनुभव मार्फत पुस्तकले तत्कालीन राजा, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको विदेश नीति सञ्चालन सम्बन्धी ज्ञान र क्षमता, त्यसलाई प्रभावित पार्ने त्यसबेलाका व्यक्ति र समूह, उनीहरूका रुचि र स्वार्थहरूलाई पनि उजागर गर्न खोजेको छ । त्यसक्रममा कतिपयका सबल पक्षलाई रोचक ढंगले उजागर गरिएको छ भने घटनाक्रमको वर्णन मार्फत कतिपयका थुप्रै कमी–कमजोरी पनि ठम्याउन सकिन्छ । यसलाई पुस्तकको राम्रो पक्ष मान्नुपर्छ ।

यद्यपि पदमा रहँदाको अनुभव लिपिबद्ध गर्ने क्रममा पूर्व राजदूतहरूले आफ्ना सबल पक्षलाई मात्र महत्व दिएका छन् । काम गर्ने क्रममा आफूबाट भए/गरेका गल्ती, कमी–कमजोरी र त्यसले मुलुकको हितमा पारेका वा पार्न सक्ने प्रभावहरू भने नजरअन्दाज भएको छ । पुस्तक पढिरहँदा पाठकको मनमा उब्जिने स्वाभाविक प्रश्न हो– २० जना पूर्व कूटनीतिज्ञहरू जिम्मेवारी बहनका क्रममा कहीं कहिल्यै चुकेनन् त ? त्यस्तो घटना नै भएन त ? पछिल्लो समय मौलाएको आत्मवृत्तान्त लेखनीमा देखिएको स्वप्रशंसाको धेरथोर छनक मिल्नु पुस्तकको कमजोर कडी हो ।

स्थापित तथ्य, प्रमाण र लिखित दस्तावेज भन्दा फरक–फरक व्यक्तिको भोगाइमा आधारित रहेकाले पुस्तकका तथ्य र प्रसंगमाथि उठ्ने प्रश्नलाई त्यही रुपमा लिन सकिन्छ । अनुभवकै आधारमा किन नहोस्, पूर्व राजदूतहरूले मुलुकको कूटनीतिक क्षेत्रमा सुधारका निम्ति अघि सारेका सुझावहरू मननीय छन् । तर, मुलुकको कूटनीति र विदेश सम्बन्धको अभ्यास किन यस्तो निम्छरो हुन पुग्यो ? यति लामो कालखण्ड बितिसक्दा पनि त्यसमा किन सुधार हुन सकेन ? त्यसमा मुख्य अवरोध वा बाधक के हो भन्नेबारे अर्थपूर्ण अवधारणा नभेटिनु पुस्तक पढ्दै जाँदा खट्किने अर्को पाटो हो । पुस्तकको भूमिकामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कतिपय प्रसंगलाई तात्कालिक परिस्थिति, व्यक्तिको भोगाइ या सन्दर्भको परिप्रेक्ष्यमा राखेर हेर्न आग्रह गरे पनि पाठकको दृष्टिमा उठ्ने यो प्रश्नको उत्तर नभेटिनु पुस्तकको कमजोरी हो ।

पछिल्लो डेढ–दुई दशकमा मूलतः दुई छिमेकीमाझ सीमित हुनपुगेको नेपालको विदेश सम्बन्ध र कूटनीतिको प्राथमिकता हालैका दिनमा त्यसभन्दा बाहिर फैलने प्रयासमा छ । पुस्तकले पनि पूर्व कूटनीतिज्ञको अनुभवलाई छिमेकमा मात्र सीमित नराखी त्यस बाहिर समेत विस्तार गर्ने प्रयास गरेको छ । मुलुकको कूटनीति र विदेश सम्बन्धका सन्दर्भमा पछिल्लो समय राजदूत नियुक्तिको विषय सबभन्दा पेचिलो बनेको छ । राजनीतिक नेतृत्वसम्मको पहुँच र उनीहरूसँग जोडिने अन्य दृश्य÷अदृश्य सम्बन्धका आधारमा ‘जो पनि राजदूत बन्ने’ विकृत अभ्यासले अन्ततः मुलुकको कूटनीतिक क्षमतामा धमिरा लगाइरहेको छ । पूर्व राजदूतहरूको अनुभवले क्षमतावान राजदूत नियुक्तिमा जोड दिए पनि राजदूत नियुक्ति सम्बन्धी मापदण्डकै पालना नभइरहेको अहिलेको विडम्बनालाई कुनै दिशानिर्देश गर्दैन । नेपालको आजको कूटनीतिको जग मानिने त्यसबेलाको कूटनीतिक अभ्यासलाई बुझ्न भने पुस्तक साँच्चिकै महत्वपूर्ण र संग्रहणीय पनि छ ।

रामेश्वर बोहरा


मदन पुरस्कार २०७५

श्रेष्ठ सात

मदन पुरस्कार गुठीले २५ असारमा ‘मदन पुरस्कार २०७५’ का लागि श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीद्वारा जारी विज्ञप्ति अनुसार, श्रेष्ठ सूचीमा रहेकामध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मुलुककै प्रतिष्ठित साहित्य पुरस्कार मानिने मदन पुरस्कारमा ‘श्रेष्ठ’ सूचीमा परेका पुस्तकबारे संक्षिप्त परिचयः

एकादेशमा (कथासंग्रह)

सानु शर्मा

विभिन्न कारणले देश छाडेका तर मनमा नेपाल बोकेका प्रवासीहरूको कथा हो– एकादेशमा । र, यो शर्माको कथासंग्रहकै नाम पनि हो । अर्धविराम, जितको परिभाषा, अर्थ र विप्लवी जस्ता उपन्यास लेखिसकेकी उनको यो पहिलो कथासंग्रह हो । कथासंग्रहमा अधिकांश कथा सामाजिक परिवेश र नारी मनोविज्ञानको जगमा उभिएका छन् । देश, समाज, युवा र तिनका भोगाइ र विवशताका कथामा बुनिएका छन् ।

ओक्कल दोक्कल पिपल पात (कवितासंग्रह)

बिन्दु शर्मा

बिन्दु शर्मा समालोचक हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसकी सह–प्राध्यापक समेत रहेकी शर्माका चार वटा समालोचना संग्रह प्रकाशित छन् । ओक्कल दोक्कल पिपल पात उनको नवौं कृति हो । यो कवितासंग्रहमा शीर्ष कवितासहित २४ कविता संग्रहित छन्, जसलाई चार भागमा विभाजन गरिएको छ । कवितामा खासै चर्चा नगरिएकी शर्माको कविता कृति समकालीन कवितामा फरक र खास मानिएको छ ।

ज्ञ (उपन्यास)

कुमार नगरकोटी

कुमार नगरकोटी प्रयोगधर्मी आख्यानकार मानिन्छन् । नोभेलाका रुपमा आएको उनको पछिल्लो उपन्यास ज्ञ मा पनि उनले भरपूर कल्पनाशीलताको प्रयोग गरेका छन् । पुस्तकले सांकेतिक रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहको जीवन दर्शन बोकेको बताइन्छ । नगरकोटीका यसअघि मोक्षान्तः काठमाडौं फिभर, अक्षरगञ्ज, फोसिल, घाटमाण्डु, दोचा, मिस्टिका, लगायतका कृति प्रकाशित छन् ।

फातसुङ (उपन्यास)

छुदेन काबिमो

नेपालीभाषी दार्जीलिङमा भएको ‘गोर्खाल्याण्ड राज्य’ को आन्दोलनको आख्यान होे फातसुङ । जनताले छुट्टै राज्यका लागि पटकपटक आन्दोलन गर्ने र नेतृत्वले केन्द्रीय सत्तासँग कुनै न कुनै सम्झौतामा हस्ताक्षर गर्ने प्रवृत्तिलाई उपन्यासको आधार बनाइएको छ । लेप्चा जातिका उपन्यासकार छुदेन काबिमोको भाषाशैली र कथानक मोडले उपन्यासलाई राजनीतिक पृष्ठभूमिको भएर पनि स्वादिलो बनाएको समीक्षकहरूको मत छ ।

मरीचिका (कथासंग्रह)

महेश थापा

‘नमोनमः’ नामक व्यंग्य संग्रहका लेखकको पछिल्लो कथासंग्रह हो, मरीचिका । उनका कथा थोरै अलग छन् । भौतिक विज्ञानलाई मनोविज्ञानसँग मिसाउन खोज्ने उनको सिर्जनामा गजबको कल्पनाशीलता देखिन्छ । ‘मरीचिका’ कथामा उनी कृत्रिम मानव र जीवित मानवको सम्बन्ध बुन्छन् । प्रयोगका अतिरिक्त प्रेम, यौन सम्बन्धमा उनका कथा खुलेका छन् । मोटर न्युरोन डिजिजबाट सताइएका उनको लेखनप्रतिको लगाव प्रेरणादायी छ ।

रणहार (ऐतिहासिक उपन्यास)

योगेश राज

यो उपन्यासले भक्तपुरका अन्तिम मल्लकालीन राजा रणजित मल्लको हारको कथा भन्छ । पृथ्वीनारायण शाहको फौजसँग पराजित यी राजा हारमा पनि असाध्य दुःखी देखिंदैनन् । नियतिको खेल ठान्छन् । राजाका जीवनबारे भेटिएका तथ्यलाई औपन्यासिक रुप दिएका यी इतिहासकारले उबेलाको भक्तपुर र त्यहाँको जनजीवनको बडो रोचक वर्णन गरेका छन् ।

विचारको लास (कथासंग्रह)

ध्रुव सापकोटा

कथाकारका रुपमा चिरपरिचत ध्रुव सापकोटाको यो कथासंग्रहमा २१ कथा समावेश छन् । समाज र राजनीति उनको कथाका विषय र विशेषता दुवै हुन् । बौद्धिक पात्र र गहिरो संवादमा उनको रुचि छ । उच्चारण, नेपथ्य, हामी हाँसिरहेछौं, अन्धकार लगायतका कथा संग्र्रहका लेखकको ‘विखण्डित’ उपन्यास पनि प्रकाशित छ ।

मस्त केसी

comments powered by Disqus

रमझम