तरकारीमा राखिने प्रमुख मसलामध्येको एक बेसार श्रृंगार र औषधिमा पनि प्रयोग हुँदै आएको छ । यसलाई ‘एन्टिबायोटिक’ का रूपमा चोटपटक र घाउ निको बनाउन पनि प्रयोग गरिन्छ । गत पुस र माघमा ‘इलम हेल्भेटास’ को सहयोगमा गरिएको अनुसन्धानले बेसारको तेल राम्रो हुने देखाएपछि उत्पादन गरिएको र आउँदो वर्ष पनि राम्रो तेल उत्पादन हुने जयसवालले बताए । बेसारबाट तेल निकाल्न थालिएपछि बाराका किसानले बेसार खेती बढाएका छन् । गत वर्ष उद्योगले बेसारको तेलबाट डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यो उद्योगले लेमनग्रास, सिट्रोनेला, पामारोजा, फ्रेन्च बेसिल (बाबरी), मेन्था, बोझे र केमोनाइलबाट पनि तेल उत्पादन गर्छ । यी जडीबुटी बेचेर बाराका १०० किसानले वार्षिक रु.५० लाख आम्दानी लिन्छन् । २०६६ मा रु.२ करोड लागतमा स्थापना भएको यो उद्योगले सबै प्रकारका जडीबुटीबाट निस्किने तेल जर्मनी र यूरोपका अन्य मुलुकमा निर्यात गर्छ । जयसवालका अनुसार उद्योगले अहिलेसम्म रु.१ करोडको तेल निर्यात गरेको छ ।
तेल निकाल्दा निस्किने जडीबुटीको छोक्रालाई उद्योगले जडीबुटी उमाल्न बाल्ने इन्धन बनाउने गरेको छ भने तेल निकालेपछि बाँकी रहने बेसारको पातको छोक्रालाई कम्पोष्ट मल बनाउने गरेको छ ।
बिम्मी शर्मा, वीरगंज
सोलारले सुरक्षा पोष्ट उज्यालो
चितवन, मकवानपुर र नवलपरासी जिल्लामा पर्ने निकुञ्जमा नेपाली सेनाका १७, निकुञ्जका कर्मचारीको १६ र सेना÷कर्मचारीको संयुक्त १७ वटा पोष्ट छन् । ती पोष्टमा सोलार राख्न रु.८ लाख खर्च भएको कुँवर बताउँछन् । त्यो रकम निजी तथा सार्वजनिक साझेदारी अवधारणा अनुसार संरक्षणमा सहभागी वन उपभोक्ता समिति, गैरसरकारी संस्था र पर्यटन व्यवसायीले उठाएका थिए । सोलार जडानपछि बत्ती बाल्न र सञ्चार उपकरण चार्ज गर्न सहज भएको सेनाको नन्द बक्स गणको वरण्डाभार पोष्टका जमदार धनबहादुर लामाले बताए । सो पोष्टमा ४० वाट क्षमताको सोलार जडान गरिएको छ । सोलार जडान गर्नुअघि मोबाइल चार्ज गर्न सेना र कर्मचारी विद्युत् भएको वस्तीमा पुग्नुपर्दथ्यो । “गैंडा, बाघ लगायत जनावरसँग डराएर बस्नुपर्दथ्यो” कुँवरले भने, “सोलार जडान भएपछि सुरक्षाकर्मी र कर्मचारीको मनोबल बढेको छ ।” निकुञ्जका सबै पोष्टमा सोलार राख्न सक्दा लोडसेडिङ्गको वेलामा सहज हुने उनको भनाइ छ ।
सशस्त्र द्वन्द्वको समयमा हटाइएका सुरक्षा पोष्टहरू वन्यजन्तुको चोरी शिकारी बढ्न थालेपछि अहिले स्थापना गरिएको छ । तर, बजेट नभएकाले पोष्टमा चाहिने पूर्वाधार र सुविधा पुर्याउन नसकिएको कुँवर बताउँछन् ।
सविता श्रेष्ठ, चितवन
संघर्षबाट चिनारी
पतिको मृत्युपछि असह्य बनेको वेला सासू, ससुरा र छिमेकीबाट सहयोग पाउनुको साटो उनले घृणा बेहोर्नु पर्यो । गाउँलेले पँधेराको पानी छुन नदिएपछि खोलाको पानी पिउनु पर्यो । त्यहाँ बस्न नसकेपछि माइतीले दिएको जमीनमा सानो घर बनाएर छोरी किरण र छोरासँग बस्न थालिन् ।
औषधि खाँदै जीवन लम्ब्याइरहेकी दुर्गाले संस्थाहरूको सहयोगमा काठमाडौं पुगेपछि आफू जस्तै एड्स लागेकाहरूले हिम्मतका साथ काम गरेको देखिन् । उनीहरूले जस्तै केही गर्ने आँट लिएर काठमाडौंबाट फर्केकी उनलाई निड्स नेपाल नामको संस्थाले लुगा सिउने मशीन दियो । अहिले उनी महेन्द्र राजमार्गछेउको पिपलाडी गाविसमा लुगा सिउँदै लेडी वर्ड साइकल चढेर ‘मर्न होइन बाँच्न सिक्ने’ अभियानका लागि गाउँ गाउँ पुग्छिन् । आफू जस्तै एड्स लागेकालाई बाँच्न प्रोत्साहन गर्ने त्यो अभियानमा संलग्न भएपछि उनको सामाजिक पहिचान पनि बनेको छ । उनी अहिले निड्सको सामुदायिक सहयोग समूह झलारीकी अध्यक्ष छिन् ।
देवकी बिष्ट