२० असोज २०७० | 29 September 2013

आत्महत्याको कारण गरीबी होइन

Share:
  

गरीबीका कारण अपराध हुन्छ भन्ने सोच भएको समाजमा आत्महत्याको प्रमुख कारण गरीबी हो भनी प्रस्तुत गरिनु अस्वाभाविक होइन । समाजशास्त्री इमाइल दुर्खाइमका अनुसार, आत्महत्या सामाजिक यथार्थ हो । सन् १९८७ मा केस स्टडी गरी उनले लेखेको ‘सुसाइड’ पुस्तकमा आत्महत्याको एउटा कारण गरीबी भए पनि प्रमुख नभएको उल्लेख छ । कामदारभन्दा उद्योगीले र गरीबभन्दा धनीले बढी आत्महत्या गरेको तथ्य सहितको उनको तर्क अध्ययन र अनुसन्धानबाट पनि सिद्ध भएका छन् । सन् २०११ को सेप्टेम्बरमा प्रकाशित चाइना डेली को आवरण कथामा पनि आत्महत्या गर्नेमा गरीब भन्दा धनी बढी भएको देखाएको छ । धनी गरीबभन्दा बढी दुःखी हुने र धनी देशका भन्दा गरीब देशका मानिस बढी खुशी हुने त्यहाँ उल्लेख छ ।

तर, हिमाल (६ असोज २०७०) मा प्रहरीबाट लिएको तथ्याङ्कलाई आधार बनाएर गरीबीलाई आत्महत्याको प्रमुख कारण भनिएको छ । सुदूरपश्चिमलाई उदाहरण दिएर काठमाडौं उपत्यकामा बढेको आत्महत्यालाई बेवास्ता गरिएको छ । जबकि, गत वर्षको तुलनामा काठमाडौं उपत्यकामा आत्महत्या बढेको र तिनमा उच्च वर्गका बढी रहेको तथ्याङ्क छ । आव २०६९/७० को तथ्याङ्कले गत आवको तुलनामा काठमाडौं उपत्यकामा आत्महत्या गर्ने बढेका, पश्चिमाञ्चलमा उस्तै रहेको, मध्यपश्चिममा एक प्रतिशत बढेको र तीन वटा क्षेत्रमा घटेको देखाउँछ । सन् २०१२ को तथ्याङ्कले भारतका राज्यहरूमध्ये सिक्किममा आत्महत्या दर बढी रहेको बताउँछ । त्यसपछि शिक्षितहरू बढी रहेका तमिलनाडू र केरला आत्महत्या दर बढी रहेको राज्यमा पर्छन् । जबकि, प्रतिव्यक्ति आय र समृद्धिका हिसाबले सिक्किम भारतको उत्कृष्ट राज्यमा पर्छ ।

गरीबीलाई आत्महत्याको कारण मान्दा अरू पक्ष बेवास्तामा परेको हुन सक्छ । आत्महत्याबारे भएका अरू अध्ययन, विश्लेषण र समाचारले पनि गरीबीलाई प्रमुख कारण मान्ने गरेका छन् । समाजशास्त्रीय दृष्टिकोणलाई बढी महŒव दिएर मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्नु पूर्वाग्रह हो । सामाजिक पक्ष र मनोविज्ञान अन्तरसम्बन्धित हुन्छन् । समाजले निर्धारण गरेको लक्ष्य छुन नसक्ने अवस्था आउँदा मानिसमा विचलन आउँछ । जसले, मानसिक रूपमा विक्षिप्त बनाएर अपराधमा लाग्ने वा आत्महत्या गर्ने परिस्थितिमा पुर्याउँछ ।

युद्धको वेलाभन्दा शान्तिको वेला आत्महत्या बढी हुने गरेको दुर्खाइमको तर्क छ । नेपाल पनि सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियामा रहेकाले आत्महत्या बढेको हुन सक्छ । द्वन्द्वमा सहभागी र प्रभावितहरू नयाँ परिस्थितिको चेपुवामा परेर आत्महत्यातर्फ अग्रसर भएका हुनसक्छन् । पूर्व लडाकू र प्रहरीमा आत्महत्या त्यही कारण बढेको हुन सक्छ ।

नेपाली समाज अहिले व्यक्तिवादी हुन थालेकाले सामुदायिक भावना कमजोर भएको छ । परम्परागत संस्थाहरू विघटन हुँदैछन् । संयुक्त परिवार टुक्रिएर एकात्मक बन्दैछन् भने समाजसँग व्यक्तिको साइनो पनि कमजोर बन्दैछ । मानिसबीच सहयोग र समन्वय नहुँदा व्यक्ति बेसहारा बन्दैछ । शहरी र शहरोन्मुख क्षेत्रमा यो प्रवृत्ति बढी देखिएको छ ।

बेरोजगारी बढेको, उपभोक्तावादले जरो गाडेको र मानिसको कमाइ र आवश्यकताबीच तारतम्य नमिलेको अहिलेको अवस्थामा सामाजिक सम्बन्धको परिभाषा पनि बदलिंदैछ । व्यक्ति र समाजलाई नयाँ परिभाषा अनुसार चल्न कठिन भइरहेछ । उपभोक्तावादबाट लाभ लिएका थोरै छन् । धेरै विचलित छन् । निकटका साथी, छरछिमेक र समुदायमा कमजोर देखिन नचाहनु मानिसको स्वभाव हो । कमजोर हुँदा अपराधमा लाग्न वा आत्महत्या रोज्न सक्छ । सन् २०१२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको एउटा अध्ययनले छिमेकी भन्दा कम आम्दानी भएकाहरूले आत्महत्या बढी गरेको देखायो ।

गरीबले धनी जति पीडा खप्न सक्दैन भन्ने तर्क गलत सावित भइसकेको छ । बरू धनीले पीडा खप्न सक्दैनन् । नेपालमा चाहिं धनीले बढी आत्महत्या गर्छन् कि गरीबले भन्ने अध्ययन हुन बाँकी छ । गरीबी र आत्महत्यालाई जोडेर हेर्न सकिए पनि आत्महत्याको कारण गरीबी हो भन्ने तर्क सतही छ ।

आत्महत्या गर्नेमा गरीब बढी देखिनुमा उच्च वर्गको संख्या थोरै भएकाले पनि हुन सक्छ । गरीबको झुपडीलाई आत्महत्या हुने ठाउँ भन्दा गरीबप्रति सहानुभूति बढ्ला । तर समाजको वास्तविकता लुक्छ ।

comments powered by Disqus

रमझम