१६-३१ भदौ २०६९ | 1-16 September 2012

तैं चूप मै चूप

Share:
  
- केदार शर्मा
p10

नेपालको प्रसारण ग्रिडमा भित्रिएको मध्ये १५ प्रतिशत बिजुली चोरी हुन्छ। १४ प्रतिशत बिजुली प्राविधिक चुहावटबाट खेर जान्छ। प्राविधिक चुहावटका कुरा छाडिदिऊँ, चोरिएको बिजुलीको मात्र दुरुपयोग रोकिने हो भने सिङ्गो देशमा दैनिक कम्तीमा एक घन्टा लोडशेडिङ घट्छ, राजस्व बढ्छ। 

हाम्रा घर अँध्यारा र उद्योगहरूलाई धराशायी बनाउने काममा धेरै लागेका छन्। बिजुली चोर्ने निर्लज्ज, गतिछाडा 'सर्वसाधारण' र केही 'विशिष्ट' नेपाली यसका प्रमुख मतियार हुन् भन्ने कुरा सबैलाई थाहा छ र प्रयत्न गरे नियन्त्रण गर्न पनि सकिन्छ। तर, कोही बोल्दैनन्, सबै तैं चूप मै चूप। 'तैं चूप मै चूप' बिजुली चोरीको मूल मन्त्र भएको छ। यसमा नेता, कार्यकर्ता, जनता, प्राधिकरणका हाकिम, सामान्य कर्मचारी सबै सामेल छन्। 

बिजुली चोरीका प्रमुख तीन वटा रूप छन्, जसमध्ये दुइटालाई चोरी र एउटालाई डकैती भन्नुपर्छ। प्राधिकरणका मिटर रिडरसितको मिलेमतोमा घरघरबाट बिजुली चोरिन्छ। आफ्नै थालमा फोहोर गर्ने प्राधिकरणका कर्मचारी र शहरबजारका बाठा भनाउँदाहरूको यो हर्कत नियन्त्रण गर्न नसकिने होइन, तर मिलेमतोको 'सोसल नेटवर्किङ' का कारण यो सम्भावना पनि 'तैं चूप मै चूप'को शिकार भएको छ। अर्काे महाचोरी हुन्छ, उद्योगहरूमा। ठूला उद्योगी र प्राधिकरणका इन्जिनियरहरूको मिलेमतोमा मात्र सम्भव हुने यो खेल रोक्न बलियो इच्छाशक्ति चाहिन्छ। त्यो इच्छाशक्तिको बाधक पनि 'तैं चूप मै चूप' नै हो। 

तेस्रो किसिमको बिजुली चोरी, चोरी मात्र होइन, डकैती नै हो। यस कोटिमा पर्ने बिजुली चोरहरू लुक्दैनन्, हाकाहाकी भिड्न आउँछन्। लाजले मर्नुपर्ने ठाउँमा गर्व गर्छन्। दण्डहीनता उनीहरूको सम्बल हो। उनीहरू मुलुकका वैध संस्था र संरचनाहरूलाई धराशायी बनाउनमा इस्पातिलो योगदान दिन्छन् र राष्ट्रवादका महान गफ जोत्छन्। आफ्ना छोराछोरीलाई चोरीको बिजुलीमा पकाएको लिटो–जाउलो खुवाउँछन् र उनीहरू असल बनुन् भन्ने चाहना राख्छन्। 

हिन्दी सिनेमामा देखिने डाँकाहरूको राज्य चल्ने 'चम्बल घाँटी' जस्ता धेरै बिजुली चम्बल छन्, नेपालमा। जहाँका बासिन्दा गब्बर शैलीमा बिजुलीका तारमा 'हुक' हाल्छन्। उनीहरू अरू कुरामा नमिल्लान्, एकअर्काको पोल सुनाउलान्, पार्टी वा जात धर्मका विमति राख्लान्, तर बिजुली चोर्ने कुरामा एकमत हुन्छन्। एकअर्काका बिजुली अपराधमा 'तैं चूप मै चूप'को धर्म निर्वाह गर्छन्। 

गाउँघरमा प्रायः सङ्गठित विद्युत् डकैती हुन्छ। पहिले 'हुकिङ' गरेको पाहुनाले थाहा पाउलान् भनेर लाज मान्नेहरू अहिले त्यही कुरामा गौरव गर्छन्। त्यस्ता गाउँहरूमा 'हुक' हटाउन जाने विद्युत् कर्मचारी कुटिन्छन्। विद्युत् लाइन काटिहाले तिनका नेताहरूले फोन गरेर जोडिदिन्छन्। 

यस्तो डकैतीको पक्षमा बोल्नेहरू “गरीबले एक दुई वटा बत्ती बाल्न नहुने?” भन्दै कुर्लन्छन्। गरीबी र चोरीलाई जोड्नु भनेको गरीबको सबभन्दा ठूलो अपमान हो भन्ने कुरा बिर्सन्छन्। धेर, थोर जति चोरे पनि चोरी त चोरी नै हो। त्यसमाथि, बिजुली चोरेर घरभित्र हुलिसकेपछि को पो एक दुई वटा बत्तीमा सीमित होला र! बस्तुभाउको कुँडो पकाउने काममा समेत बिजुली प्रयोग गरिएका उदाहरण अनेक देखिएका छन्। 

खायो भन्ने डर होइन, पल्क्यो भन्ने डर हो। बिजुलीको चोरी–डकैतीमा दुवै डर छन्– खायो भन्ने पनि र पल्क्यो भन्ने पनि। घन्टौंको लोडशेडिङ ठूलो घाटा हो। गाउँठाउँको पहिचान चोर गाउँका रूपमा हुनु अझ् महाघाटा हो। 
नेताजीहरूलाई हाम्रो गाउँको छविसित हैन, भोटसँग मात्र मतलब छ। आफ्नो गाउँको इज्जत जोगाउन अब हामी चाहिं बोलौं।

comments powered by Disqus

रमझम