मेरी वास्सै मा तक्मेबूढोको रुपमा लोकप्रिय भएका उनले सानो पर्दाको सीमा नाघेर सिने उद्योगमै स्टारको रुपमा दबदबा बढाउन थालेको चोक–गल्लीमा देखिने नेपाली फिल्मका पोस्टरहरूले देखाउँछन् । हिजोआजका तक्मेबूढा यति हावी छन् कि फिल्ममा सानै भूमिका भए पनि पोस्टरमा उनको फोटो सबभन्दा ठूलो हुन्छ । चलचित्र शायद, रिदम, प्रोडुसर, नेपथ्य र माइ प्रमिस मा नायक बनिसकेका उनी राजकुमार राईको वान वे मा पनि मुख्य भूमिकामा देखिंदैछन् । उनलाई नै हेरेर तक्मेबूढा लस्ट इन लन्डन फिल्मको प्रोजेक्ट बनेको छ । निर्माता/निर्देशकबीच उनलाई फिल्ममा लिने अघोषित होडबाजी छ ।
यो वर्ष मात्र उनले तीन वटा महत्वपूर्ण अवार्ड थापे– डी–सिनेमा अवार्डमा सर्वोत्कृष्ट हास्यकलाकार, एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डमा नीर सह–अभिनेता र चलचित्र कलाकार संघको सर्वाधिक लोकप्रिय नवकलाकार अवार्ड । गत १८ महीनामा कार्यक्रम गर्न उनी २५ देशका ३२ ठाउँ पुगे । दुई महीनाअघि उनी आफ्ना जोडी केदार घिमिरेसँगै बेलायतका मात्र २७ स्थानका कार्यक्रममा प्रस्तुत भए ।
संघर्षको परिणाम
ड्राइभर बाबुले सबै जायजेथा सक्दा पनि बिरामी आमालाई बचाउन नसकेपछि विल्सन टुहुरा सुकुम्बासी भएका थिए । बुबा गाडी लिएर टाढा जाँदा दुई बहिनीको आमा पनि उनी नै बन्थे । यस्तो दुःखका बीच विल्सन ११ वर्ष पुगेको वेला साथी फिल्मको सूटिङ भइरहेको थियो, बिर्तामोडमा । त्यसमा विल्सन यस्तरी झुम्मिए कि उनलाई पनि बाल कलाकारको रुपमा सहभागी गराइयो । त्यसरी उनको मगजमा फिल्मी कलाकार बन्ने भूतको जन्म भयो । त्यसको एक वर्षपछि विल्सन काठमाडौं टाप कसे, निर्देशकको घरमा भाँडा माझे, स्पट ब्वाई भएर खटे । र पनि केही नलागेपछि विरक्तिंदै झापा फर्किएका उनी तीन वर्षमा फेरि राजधानी आए । सूटिङ टीमको भाँडा माझ्नेदेखि शुरू भएको दोस्रो प्रयास कोरस नृत्य, क्लाप ब्वाई, प्रोडक्सन असिस्टेन्ट र प्रोडक्सन म्यानेजरमा पुगेर टुंगियो । “सानै भए पनि एउटा रोल चाहिं पाऊँ भन्दै काम गरें”, विल्सन भन्छन् ।
तर, फेरि पनि केही नलागेपछि उनी मलेशियातिर लागे, तर त्यहाँ पनि तीन महीना काम गर्दा तलब पाएनन् । फिल्मको भूतले झकझक्याइरहेकै थियो र उनको भाग्योदयको समय पनि आएको थियो । उनी लगभग बेखर्ची अवस्थामा नेपाल आउँदा चिनेजानेको सुरज सुब्बा चलचित्र शायद को निर्देशन गर्ने तयारीमा रहेछन् । त्यसमा विल्सनले मुख्य भूमिका पाए । सुरजसँग काम गर्दागर्दै विल्सनको जीवनमा ‘भगवान देता है तो छप्पड फाडके’ भन्ने हिन्दी कहावत चरितार्थ भयो । अर्थात्, यही बीचमा चिनजान भएका केदार घिमिरेले विल्सनलाई मेरी वास्सै मा तक्मेबूढा बनाए । “शायद पनि प्रदर्शन भएपछि त ठूलो पर्दामा पनि मेरो भाउ बढिहाल्यो”, विल्सन भन्छन् । यसरी नेपाली फिल्ममा एक जना बिकाउ तन्नेरीको उदय भएको छ ।