२० असोज २०७० | 29 September 2013

१० देशका ३५ फिल्म

Share:
  
- अनुशील
हरेक दुई वर्षमा राजधानीमा आयोजना हुने दक्षिण एशियाली फिल्म महोत्सव यसपटक १७–२० असोजमा हुँदैछ ।

माई पंजाबी लभ फर यु को दृश्य ।
हिमाल साउथ एशियन म्यागजिनको आयोजनामा हुने फिल्म साउथ एशिया २०१३ मा तीन वटा नेपाली फिल्म छन्– केसाङ छेतेनको हु विल वि गोर्खा, आलोक तुलाधर र रजनी श्रेष्ठको स्टोरी अफ यमोरी तथा दीपेश श्रेष्ठ र जापानी नागरिक असामी साइतोको प्लेइङ विथ नान ।

सेभिङ फेस को दृश्य ।
ब्रिटिश गोर्खा भर्तीमा आधारित केसाङको फिल्मले देश–विदेशका महोत्सवमा अवार्डहरू जितिसकेको छ भने आलोक र रजनीको स्टोरी अफ यमोरी नेवार समुदायको परिकार यमोरीमा केन्द्रित छ । दीपेश र असामीको फिल्म पनि खाने परिकार नानमाथि बनेको छ । महोत्सव यस पटक पनि कमलपोखरीस्थित कुमारी सिनेमा घरमा हुँदैछ । चलचित्र निर्माणको नयाँ–नयाँ शैली–विषयवस्तुबारे जानकारी दिने, त्यस्ता फिल्म बनाउन उत्साहित पार्ने र दक्षिण एशियाली वृत्तचित्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न थालिएको महोत्सवमा यस पटक पनि थुप्रै विदेशी ‘फिल्म मेकर’ हरू आउँदैछन् ।

हु विल वी गोर्खा को दृश्य ।
महोत्सवका निर्देशक नयनतारा गुरुङ कक्षपतिका अनुसार यसपटक तीन वटा फिल्म र समाजमाथि छलफल हुनेछ । त्यसमा साउथ एशियन युनिभर्सिटी दिल्लीकी प्रोफेसर मल्लिका शाक्य, बंगलादेशी फोटोग्राफर साइदुल आलम, चेन्नईको कल्चरल जर्नालिज्म इन्ष्टिच्यूटका प्रोफेसर सदानन्द मेनन, डकुमेन्ट्री वितरण कम्पनीका सञ्चालक गार्गी सेन र भारतीय फिल्मी खलनायकहरूमाथि पुस्तक लेखिरहेका अरुण गुप्ता सहभागी हुनेछन् ।

प्रेअर फर अलिया को दृश्य ।
महोत्सवकी निर्देशक नयनताराले चारदिने यस महोत्सवमा छानिएका चलचित्रहरूले राजनीतिक, सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक सबै विषय बोकेको बताइन् । उनका अनुसार, नयाँ विचार र शैलीका नयाँ–नयाँ मेकरहरूलाई प्राथमिकता दिएकाले यसपटक दर्शकहरूले नयाँ स्वाद पाउनेछन् । महोत्सवमा २०१२ को ओस्कार एकेडेमी अवार्ड विजेता पाकिस्तानी फिल्म सेभिङ फेस पनि समावेश छ । सार्मिक अवेद निर्नोय र डेनियल जुङ्गेको यो फिल्म एसिड आक्रमणमा केन्द्रित छ । त्यस्तै भारतको नेशनल फिल्म अवार्ड जितेको पिके नायरको सेलुलोइड मेन पनि हेर्न पाइनेछ, यसपटक । दृष्टिविहीन भारतीय चेस खेलाडीमाथि इयान मेकडोनाल्डले बनाएको आल्गो रिदम १५० जना दृष्टिविहीनहरूले हलमा श्रवण गर्नेछन् ।

सेलुलोइड मेन को दृश्य ।
महोत्सवमा उत्कृष्ट हुने तीन चलचित्रमध्ये पहिलोले रामबहादुर ट्रफी सहित दुई हजार अमेरिकी डलर, दोस्रोले क्यूएफएक्स ट्रफी सहित एक हजार डलर र पहिलो पटक फिल्म बनाउने एक निर्देशकले डेब्यु अवार्ड सहित एक हजार डलर नगद पुरस्कार पाउनेछन् । यसैगरी, १० वटा चलचित्रलाई ट्राभलिङ फिल्म साउथ एशिया भनेर एक वर्षभरि विश्वका विभिन्न देशमा प्रदर्शन गरिनेछ ।

चर... नो मेन्स ल्याण्ड को दृश्य ।
सन् १९९४ मा हिमाल एसोसिएसनले नेपालमा पहिलो पटक फिल्म हिमालय नामबाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरेको थियो । राजधानीमा बसेका विदेशी र विदेशी पर्यटकहरू त्यसवेलाका मुख्य दर्शक थिए । अहिले हिमाल साउथ एशियन म्यागजिनले हरेक दुई वर्षमा फिल्म साउथ एशिया र हिमाल एसोसिएसनले हरेक वर्ष किम्फ आयोजना गरिरहेको छ । यसबाहेक आदिवासी जनजातिका विषयमाथि बनेका डकुमेन्ट्रीहरू समेटेको इन्डिजिनियस फिल्म आर्काइभ (आईफा) ले पनि वर्षेनि महोत्सव थालेको छ । टिकट काटेर वृत्तचित्र हेर्ने दर्शक बढ्दै जाँदा नेपाल दक्षिण एशियामा डकुमेन्ट्रीको ‘क्रेज’ भएको देशको रूपमा चिनिएको छ ।

comments powered by Disqus

रमझम