उत्तरी संखुवासभाको विशाल चरन क्षेत्रमा यो साल १० वटा भन्दा बढी भेडीगोठ छैनन् । तिनमा पनि प्रतिगोठ बढीमा डेढ सय भेडा छन् । समुन्द्री सतहबाट ४३०० मीटर उँचाइमा रहेको सभापोखरीको बिखवारी लङगुरमा दोरङ्गे जातका डेढ सय भेडा चराएर बसेका जलजलाका भक्तबहादुर तामाङले यो पनि ६ जनाको भएको बताए ।
झट्ट हेर्दा यो शिद्धी (लेक)मा भेडा पालेर बस्नुमा निकै मजा देखिन्छ । भेडालाई धेरै स्याहार–सुसार पनि गर्नुपर्दैन । दिनभर चरनमा हुने बथानलाई केरी (बथानको नाइके) ले गोठालाको संकेत अनुसार नेतृत्व गरिरहेकी हुन्छे । गोठालाले केर केर भन्दै सुसेलेपछि केरी अगाडि बढ्छे, फिरी भन्दा फर्कन्छे र छ्या भन्दा कुद्छे । केरीलाई मासिंदैन । ऊ मरेपछि उसकै कुनै सन्तानले आफसेआफ आमाको ठाउँ लिन्छे ।
१४ वर्षदेखि वौलापोखरीमा गोठ राखेका नुम गाविसका ब्रिटिसकुमार गुरुङ डेढ सय भेडा पाल्दा वर्षमा डेढ लाख फाइदा हुने बताउँछन् । भेडालाई जेठ–असारमा शिद्धी लगिन्छ र असोज अन्तिमतिर औल झारिन्छ । खर्कमा जन्मेका पाठा उधौलीमा बेचिन्छ । मासुका लागि भेडा किन्न मानिसहरु गोठमै आउँछन् । एउटा भेडा रु.१० हजारसम्ममा बिक्री हुन्छ । थुमालाई रु.२० हजारसम्म पर्छ । ऊनबाट पनि उत्तिकै आम्दानी हुन्छ ।
र पनि, मानिसहरुले भेडा पाल्नै छाडेका छन् । गुरुङका अनुसार पहिलाको अवस्थासँग तुलना गर्ने हो भने त अहिले चरनै खाली छ भन्दा पनि हुन्छ । पहिला चरन आसपासका सबैले भेडा पाल्थे, एउटै गोठमा ५०० भेडा हुन्थ्यो । अहिले घर–घरका जवान वैदेशिक रोजगारमा जान थालेका छन् । “यो शिद्धीमा बसेर दुःख गर्न कोही चाहँदैनन्”, गुरुङ भन्छन्, “यहाँको अन्तिम भेडा गोठाला हामी नै हौंला ।”
शब्द/तस्वीरः सीता मादेम्बा, संखुवासभा