२० असोज २०७० | 29 September 2013

महाभारतका नेपाली क्याप्टेन

Share:
  
- ऋषिराम कट्टेल
डेढ दशकअघि काम खोज्दै मुम्बई पुगेका लोकनाथ पाण्डे अहिले धेरैको भविष्य उज्ज्वल बनाइदिने हैसियतमा छन् ।

भारतीय टेलिभिजन स्टार प्लसमा शनिबार र आइतबार बाहेक हरेक साँझ ८.४५–९.४५ मा प्रसारण हुने धार्मिक धारावाहिक ‘महाभारत’ का दर्शक नेपालमा पनि धेरै छन्, तर यसका निर्देशक गुल्मी अस्लेवाका लोकनाथ पाण्डे (३३) हुन् भन्ने जानकारी कमैलाई हुन सक्छ । उनी ६ वर्षदेखि हिन्दी सिरियलहरुको सफल निर्देशक बनेका छन् ।

सोनी टेलिभिजनमा प्रसारण भएको अमर धरा सिरियलको ५० औं श्रृंखलापछि ‘फूल’ निर्देशक बनेका उनले त्यसपछि साहारा च्यानलबाट प्रसारित माताकी चौकी, मान रहे तेरा पिता, सोनी टेलिभिजनको अग्ले जनम मोहे विटीया ना कीजो निर्देशन गरे । २०० श्रृंखलाको महाभारत उनको पछिल्लो प्रोजेक्ट हो । १५ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हान्निएका लोकनाथलाई नेपालमा हुँदासम्म सिनेमा के हो भन्ने समेत थाहा थिएन । “काम खोज्ने क्रममा सिरियल बनाउने कम्पनीको कला निर्देशकको सहयोगी बन्ने मौका पाएँ”, लोकनाथ सम्झन्छन्, “त्यसपछि तारा लगायत विभिन्न सिरियलमा उनको सहयोगी भएर काम गरें ।”

मिहिनेत र इमानदारीको बलले सफलताको सिंढी चढ्दै गएका उनले त्यसपछि जीटीभीमा प्रसारण भएका दिवार, राहे, साटर डे सस्पेन्स, एक्सजोन, संसार जस्ता सिरियलमा सहायक निर्देशकको जिम्मेवारी पाए । यसै क्रममा मिडीटेक कम्पनीमा मुख्य सहायक निर्देशक भएका उनी रोज मूभिज पुगेर जीत, गन्ज एण्ड रोजेज, लिपीस्टीक, इन्डिया कलिङ जस्ता सिरियलका एसोसियट डाइरेक्टर बने । त्यसपछि उनी जीटीभीको रियालिटी सो जी सिनेस्टारकी खोज देखि अमर धरा सम्म पुगेका थिए ।

अहिले त उनलाई मुम्बईमा भ्याई नभ्याई छ । अहिले लोकनाथले निर्देशन गरिरहेको महाभारत र पहिले प्रशारण भइसकेको महाभारतको कथा एउटै भए पनि प्रस्तुतीकरण र कलाकार फरक छन् । त्यसकारण पनि यो प्रोजेक्ट बढी चुनौतीपूर्ण भएको बताउँदै लोकनाथ भन्छन्, “तर, मैले दर्शक तानेर देखाएको छु, धेरै राम्रो प्रतिक्रिया आइरहेको छ ।”
भारतकै पनि हजारौं प्रतिभा हराउने मायानगरी मुम्बईमा गुल्मेली ठिटो लोकनाथले बनाएको यो मुकाम निसन्देह चानचुने होइन ।

comments powered by Disqus

रमझम