१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

स्वार्थले जन्माएको आशङ्का

Share:
  
- सइन्द्र राई
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी गर्न भएको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको काठमाडौं यात्रा सत्तारूढ नेकपाको चीन निकट देखिने स्वार्थका कारण सन्देहपूर्ण बनिदियो।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कूल विभागले ६–७ असोज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा सहभागी शीर्ष नेताहरु ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख सोङ ताओ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा तीनदिने नेपाल भ्रमणका लागि ६ असोजमा काठमाडौं ओर्लिए । त्यसको भोलिपल्ट ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच ६ बुँदे सम्झौता–पत्रमा हस्ताक्षर भयो । त्यस अन्तर्गत दुई सत्तारुढ दलबीच पाँच वर्षसम्म उच्चस्तरको सहकार्य हुने गरी राजनीतिक भ्रमण आदानप्रदान गर्ने, पार्टी कार्यकर्तालाई देश र पार्टीबारे बुझाउने, वैचारिक–राजनीतिक छलफल तीव्र पार्ने, विकासको मोडलबारे समन्वय गर्ने लगायतका सहमति भएको छ ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि आएका ताओले त्यस सम्बन्धी भेटघाट भने अघिल्लै दिन गरिसकेका थिए । भ्रमणको तयारीलाई थप परिपक्व बनाउन उनले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । सीपीसीका विदेश विभाग प्रमुख ताओको काठमाडौं बसाइको प्रमुख उद्देश्य यिनै दुई विषय रहेको नेकपाका स्थायी कमिटी सदस्य एवम् स्कूल विभागका उप–प्रमुख वेदुराम भुसाल बताउँछन् ।

तर, ताओको काठमाडौं बसाइ यी दुई विषय भन्दा पनि होटल याक एण्ड यतीमा भएको अन्तरक्रियाका कारण बढी चर्चामा तानियो । त्यसले पर्याप्त सन्देह पनि उत्पन्न गरेको छ । यो चर्चा र सन्देहको कारण थियो, अन्तरक्रियाबारे गरिएको प्रचार र नेकपाका सबैजसो उच्च तहका नेताको सहभागिता । चीनले अघि सारेको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बारे जानकारी दिने अन्तरक्रियालाई सी विचारधारा बुझउने ‘प्रशिक्षण कार्यक्रम’ का रूपमा प्रचार गरिएको थियो ।

बहुदलीय लोकतन्त्रमा विश्वास गर्ने नेकपाका नेताहरूले सी विचारधाराबारे प्रशिक्षण लिने भन्ने विषयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मात्रै होइन, नेपालसँगको कूटनीतिक सम्बन्धमा रहेका कतिपय मुलुकलाई समेत झस्काएको छ । सरकार हाँकिरहेको नेकपाले कम्युनिष्ट शासन रहेको देशतिर झुकाव राख्नुलाई नेपाल चीनतर्फ ढल्किएको बुझदै अमेरिका सशङ्कित बनेको छ । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी सीपीसीका विदेश विभाग प्रमुख ताओ स्वदेश फर्केको भोलिपल्ट ९ असोजको बिहानै नेकपाका वरिष्ठ नेता नेपाल र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न निवासमै पुगे ।

चीन रिझाउन अति रुझन

चिनियाँ कम्युनिष्ट पार्टीका विभागीय प्रमुख ताओको आगमन खासगरी राष्ट्रपति सीको भ्रमण तयारीका लागि थियो । तर उनको उपस्थितिलाई आवश्यकता भन्दा बढी महत्व दिंदै आफ्नै कतिपय नेताहरूले स्वार्थ पूरा गर्ने रूपमा उपयोग गरेको नेकपाकै नेताहरू औंल्याउँछन् । ताओ सत्तारूढ दलका नेता भए पनि कुनै राजकीय भूमिकामा छैनन् । तर, उनको आगमनलाई नेकपाले चीनलाई बढी महत्व दिएको देखाउँदै खुशी पार्ने रूपमा उपयोग गरेको देखियो । ६ र ७ असोजको ‘प्रशिक्षण कार्यक्रम’ मा नेपालका तर्फबाट सिङ्गो सत्ताकै सहभागिता रहेको झ्ल्को मिल्थ्यो । कार्यक्रममा नेकपाका शीर्ष नेताहरू— अध्यक्ष एवं प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरू, पूर्व उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्वमन्त्रीहरू र उच्च तहका नेताहरूको सहभागिता थियो ।

७ असोजमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश विभाग प्रमुख माधवकुमार नेपाल ६ बुँदे सम्झौता–पत्रमा हस्ताक्षर गर्दै ।
सीपीसीको विदेश विभागले नेकपाको विदेश विभागसँग नभई स्कूल विभागसँग संयुक्त रूपमा आयोजक बनेर कार्यक्रम गरेको थियो । जसलाई सी विचारधाराबारे प्रशिक्षण भनियो । सी विचारधाराको विषय नै नसमेटिएको कार्यक्रमको ब्यानरमा भने त्यस सम्बन्धी नाम किन लेखियो भन्नेमा नेकपाकै कतिपय नेताहरू अनुत्तरित छन् । नेकपाका स्थायी कमिटी सदस्य एवं स्कूल विभाग उपप्रमुख घनश्याम भुसाल भन्छन्, “कार्यक्रमको उद्देश्य राम्रो हो, तर केही व्यवस्थापकीय कमजोरीले आशङ्का जन्मायो । स्कूल विभागको ठाउँमा विदेश विभागले यो कार्यक्रम गरेको भए पनि यति धेरै आशङ्का हुँदैनथ्यो ।”

उपप्रधानमन्त्री एवम् नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेल भने सी विचारधाराबारेको प्रशिक्षण नभई दुई कम्युनिष्ट पार्टीबीच वैचारिक कार्यदिशाबारे अनुभव साट्ने कार्यक्रम भएको बताउँछन् । तर, नेकपाका एक नेताका अनुसार अध्यक्ष एवम् प्रधानमन्त्री ओली र स्कूल विभाग प्रमुख पोखरेलकै पहलमा सी विचारधाराको कार्यक्रम तय गरिएको हो ।

कार्यक्रमका लागि तयार पारिएको पहिलो खाकामा सी विचारधारा र बीआरआईबारे सीपीसीका नेताहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका मात्रै थियो । यस्तो प्रस्ताव सुनेपछि नेकपाका केही नेताहरूले यसबाट गलत सन्देश जाने भएकाले कार्यतालिका सच्याउन प्रस्ताव राखेका थिए । त्यसपछि कार्यक्रमलाई चिनियाँ पार्टीको एकतर्फी नभएको देखाउन अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले संक्षिप्त सम्बोधन गरेका थिए । नेता भुसाल नेकपाले कुनै देशको कम्युनिष्ट पार्टीको वैचारिक कार्यक्रम नक्कल गरे अनुचित हुने बताउँछन् । उनी त्यसको संभावना पनि देख्दैनन् । “सी विचारधारा नेपालका कम्युनिष्टले जान्ने र बुझ्ने विषय मात्रै हो, अवलम्बन हुन सक्दैन”, भुसाल भन्छन् ।

चीनको सत्तारुढ पार्टीले अपनाएको उग्र वामपन्थी विचारधाराबारे आफ्ना कार्यकर्तालाई प्रशिक्षित गराउन नेकपा तयार हुनुको पछाडि जसरी पनि राष्ट्रपति सीको नेपाल भ्रमण गराउने स्वार्थ लुकेको विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । गएको २२ भदौमा मात्रै राष्ट्रपति सीको भ्रमणको आधार तयार पार्न चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्दै राजनीतिक भेटवार्ता गरेका थिए । त्यसवेला पनि नेकपाका नेताहरूले चीनलाई रिझउन दिएका अभिव्यक्ति विवादमा परेको थियो । विदेशमन्त्री वाङसँगको भेटका क्रममा नेकपाका अध्यक्ष दाहालले ‘नेपालले कथित इन्डो प्यासिफिक रणनीति अस्वीकार गर्छ’ भन्ने धारणा व्यक्त गरेको विवरण सार्वजनिक भयो । सो अभिव्यक्तिपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालको धारणा मागेको थियो ।

प्रधानमन्त्री ओली २०७५ चैतमा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गत असारमा चीन गएको वेला राष्ट्रपति सीलाई भेटेर नेपाल भ्रमणको निम्ता तथा आग्रह गरेका थिए । सीको भ्रमण गराउने प्रयास आग्रहमा मात्र सीमित रहेन, चीनलाई खुशी पार्न अमेरिका चिढ्याउने काम समेत भयो । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७४औं महासभाको क्रममा अल्पविकसित मुलुकको मन्त्रीस्तरीय बैठकलाई ८ असोजमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले द्वन्द्व व्यवस्थापनमा संयुक्त राष्ट्रसंघलाई चाहिनेभन्दा बढी महत्व दिइएको टिप्पणी गरे ।

२०७२ सालको भारतीय नाकाबन्दीपछि प्रधानमन्त्री ओली सहकार्य र सम्बन्धको हिसाबले उत्तरी छिमेकतिर ढल्किएको आम बुझइ छ । समृद्धिको यात्रामा जनतालाई रेलको सपना देखाएका प्रम ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याएर ‘रेल बनाइदिन्छौं’ भन्ने उद्घोष मात्र भए पनि गराउन चाहेका छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “सी विचारधाराबारे विमर्शको नाममा यहाँ जेजस्ता प्रचार गरिए, त्यसप्रति अर्थ लुकेको छ । त्यो अर्थ चीनलाई रिझएर सीको भ्रमण गराउनु नै हो ।”

प्रम ओलीले ६ असोजमा चिनियाँ कम्युनिष्ट पार्टीसँगको अन्तरक्रियामा पनि चीनलाई खुशी पार्ने गरी अभिव्यक्ति दिए । प्रधानमन्त्रीको घुमाउरो भाषामा भारतप्रति असन्तोष प्रकट गर्दै भनेका थिए, “कतिपय मुलुकले अलिकति बलियो भएपछि बलमिच्याइँ गर्ने प्रवृत्ति छ, चीनले त्यस्तो गर्दैन ।”

सत्तारुढ नेकपाले सीपीसीप्रति झ्ुकाव राखेर सी विचारधाराको प्रशिक्षण लिएकोप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । नेकपाले देशको कूटनीतिक मर्यादाको हेक्का नराखी समर्पणको बाटो अपनाउन खोजेको कांग्रेसको आरोप छ । नेपाल बीआरआईको रणनीतिक साझेदार सदस्य राष्ट्र रहेकाले यसप्रति सकारात्मक रहेको बताउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, “तर सी विचारधाराबारे प्रशिक्षण गरिनुलाई गम्भीरतापूर्वक हेरेका छौं ।”

ताओ र नेता नेपालबीच भएको सम्झौता पत्रमा उल्लिखित ६ बुँदाले आशङ्कालाई थप मलजल गरेको देखिन्छ । चीनले दश वर्षयता नेपालबाट वर्षेनि दुई पटक नेकपाका नेता–कार्यकर्ता चीन लगेर सीपीसीले अपनाएको राजनीतिक प्रणाली, गरीबी न्यूनीकरणमा लिएको नीति, पार्टी अनुशासन लगायतका विषयमा पढाउँदै आएको छ । यो स्थितिमा पछिल्लो समझ्दारीले चीनलाई नेपालमै आएर पढाउने र विस्तारै हस्तक्षेप बढाउन कतै नेकपाले निमन्त्रणा त गरेन भन्ने चिन्ता देखिन्छ ।

कांग्रेसका युवा नेता गगन थापा सीपीसीका विभागीय प्रमुख आउँदा सरकारले देखाएको उत्ताउलोपनले देशकै परराष्ट्र नीतिमाथि प्रश्न उठेको बताउँछन् । चीनसँगको सम्बन्ध अन्य देश जस्तो नहुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउँदै थापा भन्छन्, “नेकपाले सी विचारधाराबारे प्रशिक्षण लिने र सीपीसीसँग जेजस्तो सम्झौता गरेको छ, यसको जवाफ चीनले दिनुपर्छ ।” सीपीसी दल मात्रै नभई सत्ता पनि भएकाले कुनै पनि मुलुकको संस्थापनसँग कूटनीतिक सम्बन्ध राख्ने चीनको परराष्ट्र नीति समेत डगमगाउन पुगेको थापाको भनाइ छ ।

नेकपाका नेताहरू भने लामो समयपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण हुन नदिन गलत प्रचार गरिएको टिप्पणी गर्छन् । स्कूल विभागका उपप्रमुख भुसाल, सीपीसीले चीन र सी विचारधाराबारे अन्य देशका कम्युनिष्ट पार्टीसँग अनुभव साट्नु अनौठो नभएको बताउँछन् । “नेपालमा चीनले मात्रै होइन, थुप्रै देशले आफ्नो राजनीतिक प्रणालीबारे कार्यक्रम गर्छन् । त्यसैलाई आधार देखाएर भ्रममा रहनु उपयुक्त होइन ।”

सरकारी अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिममा नेपाल भ्रमणमा आउने अनौपचारिक रूपमा बताउँदै आएका छन् । तर चीनबाट अहिलेसम्म कुनै विवरण सार्वजनिक नगरिंदा भ्रमणको विषय अन्योलमा छ ।

comments powered by Disqus

रमझम