नेपाली जीवनको नानात्व एकत्वहीन दृष्टिकोणका रूप देखा पर्नु स्वाभाविक भए पनि ‘कुवापिच्छे पानी, मान्छेपिच्छे बानी’ भने झैं नितान्त व्यक्तिवादी दर्शन भने हामीकहाँ कमै छन् । जीवनजगत बारे आ–आफ्नै ढङ्गले सोच्नु, नित्य नयाँ–नयाँ विकल्प ठम्याउँदै त्यसलाई जनमानसमा स्थापित गर्नुको अर्थमा पनि हाम्रो ‘नेपाली दर्शन’ देखापरेको छ । जातीय तथा क्षेत्रीय बान्कीमा पनि यो देखिन्छ ।
सारमा, दृष्टिकोण विनाको मानिस पाउन सकिंदैन । सारमा दर्शन, त्यही समग्र दृष्टिकोणको नाम हो । विषयगत विशिष्टताले राजनीतिक दर्शन, सामाजिक दर्शन, धार्मिक दर्शन, लोक–दर्शन, नैतिक दर्शन, सृष्टि दर्शन वा तत्व दर्शन, सांस्कृतिक दर्शन जस्ता रूपगत विकल्प देखा पर्दछन् । देशगत विविधतामा नेपाली दर्शन, भारतीय दर्शन र चिनियाँ दर्शन जस्ता विविधता पनि छँदै छन् । लोकजीवनले संरक्षण गरी ल्याएको लोकायत दर्शनको धारा पनि परापूर्वकालदेखि नै अवैदिक दर्शनको रूपमा समुदायबीच रहिआएको छ, जुन तत्कालीन वैदिक दृष्टिकोणको विकल्प थियो ।
एउटै चिन्तनधारामा पनि केही वैकल्पिक चिन्तन थपेर पूर्वीय दार्शनिकहरूले प्रत्ययवाद र पदार्थवादको द्वन्द्वात्मकतामा अनेक विकल्प अघि सारेका छन् । त्यसैले आध्यात्मिक प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद नै सबैभन्दा व्यापक, प्रतिस्पर्धी बहुविकल्पयुक्त दार्शनिक चिन्तनधारा बन्न पुगेको छ ।
वैदिक दर्शन
वैदिक दर्शन वेदमा आधारित छ । ऋग्वेद सबैभन्दा पुरानो तर निर्वैयक्तिक रचना हो । दार्शनिक चिन्तनको भण्डार उपनिषद् हुन् भने तान्त्रिक मतलाई अथर्ववेदले समेट्छ । वैदिक दर्शनको तात्पर्य समग्र संस्कृत वाङ्मयको वेद, उपनिषद् र पुराणमा व्यक्त वैचारिक नानात्वको समष्टि हो, जसले प्राकृतिक भौतिकवाददेखि आध्यात्मिक प्रत्ययवादसम्मका बोधलाई बुझउँछ ।
साङ्ख्य दर्शन
दर्शन शब्द सबैभन्दा पहिले महर्षि कणादले आफ्नो रचना ‘वैशेषिक सूत्र’ मा प्रयोग गरेका थिए । लोकको दृष्टिकोण, अभिव्यक्ति र पद्धतिलाई अँगाल्ने चिन्तन पद्धति लोक–दर्शन हो ।
नेपाली दर्शनको खोजी गर्दा गौतम रहुगण सबैभन्दा जेठा नेपाली दार्शनिक देखा पर्दछन् । त्यसपछि शतपथ ब्राह्मण ग्रन्थका स्रष्टा याज्ञवल्क्य र उनी सँगसँगै अष्टावक्र एवम् गार्गीको नाम आउँछ । बृहदारण्यक उपनिषद्, अष्टावक्र गीता जस्ता रचना हाम्रै हिमवत्खण्डको जनकपुर–मिथिला क्षेत्रमा रचिए । कपिलमुनि अर्का प्राचीन नेपाली दार्शनिक थिए । सिद्धार्थ गौतमभन्दा झण्डै २०० वर्षअघिका कपिलमुनि महान् व्यक्तित्व हुन् । तिनै विद्वान्को नामबाट कपिलवस्ती भन्ने नाम रह्यो, जसलाई आज हामी कपिलवस्तु भन्छौं । कपिलको चिन्तन शुद्ध प्रकृतिवादी थियो । उनको विचारलाई ‘साङ्ख्य दर्शन’ भनेर चिनिन्छ । प्रकृति–तत्वको सङ्ख्या निर्धारण गर्ने काम सर्वप्रथम उनले नै गरे । गुणत्रयी अर्थात् सत्व, रज, तमको सन्तुलनमा प्रकृति पैदा हुन्छ र त्यसैबाट सृष्टि अघि बढ्छ भन्ने धारणा उनको थियो ।
अवैदिक धाराको साङ्ख्य दर्शनले सत्रौं सदीमा आइपुगेपछि विज्ञान भिक्षुले ‘साङ्ख्य सार’ लेखेपछि ईश्वरवादी धारणा अङ्गीकार ग¥यो र ब्रह्मवादी बन्यो । उत्पत्तिको समयमा साङ्ख्य दर्शन अत्यन्तै साहसपूर्ण विचारको रूपमा देखापरेको थियो । यो दर्शनमा प्रतिपादित प्रकृति र पुरुष मान्ने द्वैतवादी अभिमतले दार्शनिक विचारधारामा तन्त्रवादी धारणाको जग हालेको थियो । यद्यपि सृष्टिको आदितत्व प्रकृतिलाई मान्ने सोच त्यसअघि नै थियो र त्यो अवैदिक चिन्तनका रूपमा लोकप्रिय थियो ।
नेपाली समाजको प्राचीन विचारधारामा मात्र हैन, वर्तमानमा पनि अनेकौं प्रकृतिपूजक जाति, समाज र संस्कार छन् । यसको तात्पर्य के हो भने दर्शनको प्रारम्भिक आधार लोकजीवन थियो र छ । साङ्ख्य दर्शन पनि लोक–दर्शनकै रूपमा शुरू भएको थियो ।
नेपाली दर्शनशास्त्रको इतिहासमा प्राकृतिक भौतिकवादी धारा अर्थात् लोकायत नै सबैभन्दा पुरानो दर्शनको रूपमा रहिआएको छ । त्यसका अवधारणा साङ्ख्य दर्शनमा मात्र होइन, बौद्ध दर्शनमा पनि समाहित भएको पाइन्छ । साङ्ख्य दर्शनले परमात्मा र ब्रह्मको अस्तित्व मान्दैन, प्रकृतिलाई नै मूलतत्व अथवा अस्तित्व मान्दछ र विश्व ब्रह्माण्डलाई बोधगम्य ठान्दछ । त्यसैले साङ्ख्य दर्शनलाई अवैदिक लोक–दर्शन पनि भन्न सकिन्छ ।
लोकायत दर्शन
लोकायत दार्शनिक बृहस्पति, ब्रह्मवादी दार्शनिक याज्ञवल्क्य तथा अष्टावक्र, साङ्ख्य दार्शनिक कपिल, न्याय दर्शनका अक्षपाद गौतम, वैशेषिकका कणाद, योगका पतञ्जलि र बौद्ध दर्शनका सिद्धार्थ गौतमलाई आ–आफ्ना दर्शनको प्रवर्तक ऋषि एवम् दार्शनिक मानिएको छ । संसारभरिकै दार्शनिक चिन्तनहरू मानव संस्कृतिका विशिष्ट चेतना हुन् र ती सबैले कम–बेसी मात्रामा भौतिक जीवनका पीडाबाट कसरी मुक्त हुन सकिन्छ ? कसरी दुनियाँको कल्याण हुन सक्दछ ? भन्ने विषयवस्तुलाई उठाउँदै आएका छन् । यस अर्थमा ती लौकिक हुन् ।
‘भवतु सब्व मङ्गलम्’ भन्ने बौद्ध दर्शन होस् अथवा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक दर्शन होस् अधिकांश दार्शनिकहरूले आफू र आफ्नो समयका मानिसको सुख–सुबिस्ता चाहेका छन् । तर ती अलौकिक वा पारलौकिक शक्तिसम्पन्न ज्ञानीका रूपमा प्रस्तुत हुने प्रयासमा रमे, पारलौकिक संस्कृति दिगो हुने आशामा रमाए । दार्शनिकले आफूलाई लौकिक जीवनसँग जोडेर पनि परब्रह्मको छायाँ या मायाका कुरा गरे । ‘ईश्वरको दूत वा पुत’ भनी चिनारी दिने प्रयत्न गरे । देह–विदेह, आत्म–परात्मका कुरा गरे ।
त्यति हुँदाहुँदै पनि ती सबैले जीवनका पीडाबाट मुक्ति पाउने आशा बाँडे । वरत्र–परत्र सपार्ने कथा रचेका छन् । ‘यो वा त्यो’, ‘हो वा हैन’, ‘छ वा छैन’, ‘हुन सक्छ’ र ‘नहुन पनि सक्छ’ भन्दै विचारका रहस्यमय आवर्तमा डुबाउँदै अलौकिक आदर्श अघि सारेका छन् ।
‘गीता’ ले कपिलमुनिको प्रशंसा गर्दै साङ्ख्य दर्शनलाई बारम्बार उल्लेख गरेको छ, तर सँगसँगै त्यसको लोक विश्वासलाई अलौकिकतातर्फ मोडेको छ । आध्यात्मिक प्रत्ययवादलाई अँगाल्दै आत्माको अमरता, अविनाशी र सर्वकालिक अस्तित्व स्थापना गर्ने प्रयत्न गरेको छ । अक्षपाद गौतम भने सिद्धार्थभन्दा पछिका लाग्दछन् । किनभने उनको न्याय दर्शनमा सिद्धार्थ गौतमका कतिपय कुराहरू पाइन्छन् ।
वैदिक–अवैदिक दर्शनको मेल
वैदिक दर्शनको परिधिभित्र वेद, ब्राह्मण ग्रन्थ तथा उपनिषद् सबै राखिएको पाइन्छ । महाभारत र रामायणलाई समेत त्यही दार्शनिक धारामा राखिन्छ । तर, वैदिक चिन्तनमा सत् र असत्को भाव एकसाथ प्रवाहित छ । सत्य स्वयम् विकल्पयुक्त छ । हिजोको, आजको र भोलिको सत्यमा बहस छ । वैयक्तिक सत्य, जातीय सत्य र मानवीय सत्यका विकल्प हामी स्वयम् भोग्दैछौं । सापेक्ष सत्य र निरपेक्ष सत्यका चर्चा पनि गरिरहेकै छौं ।
मानिसका आवश्यकता पूर्ति र पीडाबाट मुक्तिको कामनामा लौकिक समस्याहरू जोडिएका छन् । वेदमा प्राकृतिक विपत्तिबाट मुक्ति पाउन गरिएका प्रार्थना लौकिक नै छन् । पुरुषार्थ बढाउन इन्द्रको पुकारा गर्दा होस् वा धनधान्य प्राप्त गर्न र पोषिला खाद्यान्न हासिल गर्न गरिएका प्रार्थनामा होस् त्यहाँ पनि भौतिक जीवनकै यथार्थ बोलिएको पाइन्छ । मनोभाव, आकाङ्क्षा र अक्किल अङ्कन गरिएका मन्त्र वा ऋचा, वर्णन वा प्रश्न र संवेदना या चेतनाका रूपहरूलाई वैदिक–अवैदिक दुवै दर्शनले समेटेका छन् । आनन्द, फाइदा र मान प्राप्तिको लागि गरिएका यज्ञकर्म पनि प्रशस्तै छन् । आधुनिक मनोविज्ञानका नजरले ती दृष्टिकोणलाई हेर्दा वस्तुगत जगतकै प्रतिबिम्ब देखापर्दछ । लोकजीवनकै छवि–छायाँ देखा पर्दछ । एकत्व र नानात्व भाव पनि मानव समाज र प्रकृतिकै प्रतिबिम्ब स्वरूप व्यक्त भएको झ्लक पाइन्छ ।
दिक्, काल र परिवेशको अनेकतामा भूमिपुत्र भई जन्मेका मानव जाति पनि पुनः अनेकबाट एकतर्फ अग्रसर भइरहेको तथ्य पनि हाम्रै सामु छ । एकातर्फ राष्ट्रिय सङ्कीर्णता र अर्कोतर्फ अन्तर्राष्ट्रिय विस्तीर्णता हामी आफैं भोग्दैछौं । नित्य नवीनताको माग ‘नियमित आकस्मिकता’ होइन बरु गुणात्मक फड्को हो । दृष्टि विकल्पमय छ । दिक्, काल, नवीनता विकल्पमय छ । त्यसैले हाम्रा निष्कर्ष पनि विकल्पमय हुन्छन् । स्थान, समय र समाजको सापेक्षतामा मात्र होइन औचित्य र सन्दर्भका अर्थमा पनि विकल्पहरू हुन्छन् ।
हाम्रा दार्शनिक प्रश्नहरू
आज हामी नयाँ चिन्तनको खोजीमा छौं । नेपालको आफ्नो मौलिक दर्शन के हो ? अथवा कुन कुन हुन् ? दक्षिण एशियाली दर्शनका कुनकुन धाराले हाम्रो जनजीवन प्रभावित छ ? हिमाली क्षेत्रका जीवनदर्शन र मध्यपहाडी जीवनका लोकबोध, सोचाइ र दृष्टिकोण कस्ता छन् ? जातीय विश्वाससँग जोडिएका दार्शनिक सोच र धार्मिक विश्वाससँग जोडिएका दार्शनिक सोचमा के कस्ता समानता, पृथकता र अन्तर–प्रभाव छन् ? परस्परमा के कति सम्मिलन, समन्वय र सहजीवन अँगाल्दै रमाएका छन् ? प्रश्न यत्तिमा सकिंदैन ।
हाम्रा साहित्य, सङ्गीत र कलाका क्षेत्रमा अभिव्यक्त नेपाली दार्शनिक चिन्तनको स्थिति के कस्तो छ ? राजनीतिक दर्शनको स्वरूप र सार के कस्ता छन् र त्यसका चिन्तनहरूको अन्तर्राष्ट्रिय सम्बन्ध कुन कुन दर्शनसँग सम्बन्धित छन् ? समाज दर्शनमा जातीय चिन्तनका तहहरू के कस्ता अवस्थामा छन् ? यस्ता अनेक प्रश्नमा अनेक कोणबाट दर्शनशास्त्रीय अध्ययन अघि बढाउनुपर्ने आवश्यकता छ ।
क्रमबद्ध, तथ्यपरक र गतिशील नियम अँगाल्दै अंशबाट पूर्णतिर पाइला चाल्नु, अज्ञानको अँध्यारो फाल्नु र धरतीमा उभिएर ब्रह्माण्ड नियाल्नु नै दर्शनको कार्यभार हो । यही यात्रामा नै हामीले टोलेमीको चेप्टो पृथ्वीलाई मात्र हैन नेपाली लोकजीवनमा कहिंदै आएको दूध–घिउका समुद्रको कथा पनि झूटा रहेछन् भनी ठम्यायौं । त्यसैले वाद, प्रतिवाद र संवादको निरन्तरतालाई तत्वबोध र सत्यखोजको विधि बनाऊँ । र, नेपाली दर्शनको खोजी गरौं ।
प्रभात नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभागका सदस्य हुन् ।