१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

टाढा रहेनछ खप्तड

Share:
  
- बद्रीप्रसाद खतिवडा
१० हजार फिटको उँचाइसम्मका पाटनको दृश्यावलोकन गर्न खप्तड पुगेका ८५ वर्षीय बद्रीप्रसाद खतिवडाकाे यात्रा वर्णन-

असारको तेस्रो साता ‘नेपाल राष्ट्रिय शिक्षक सङ्गठन’ को केन्द्रीय कार्यालय कुमारीपाटीमा पस्दा ‘बझङ जिल्ला सङ्गठन’ को वार्षिक साधारणसभामा केन्द्रबाट प्रमुख अतिथि कसलाई पठाउने भन्ने सल्लाह भइरहेको रहेछ । सङ्गठन कार्यालयमा साथीहरूसँगको त्यो भेटघाट मेरो लागि चालीस वर्षदेखि खप्तड भ्रमणमा जाने ‘धोको’ पूरा गर्ने अवसर बनेर आयो । यात्राका दौरान कैलाली, बझङ र अछाम जिल्लाका शिक्षक सङ्गठनको साना–ठूला कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि जुर्‍यो । नेपालको शिक्षक आन्दोलनको अगुवा, सङ्गठनको प्रथम अध्यक्षको हैसियतले अहिले म सल्लाहकारको भूमिकामा छु । यसरी ८५ वर्षको उमेरमा म र मेरा सम्धी विष्णुप्रसाद सिग्देल (६८) काठमाडौंबाट असार १८ गते सँगसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूको भ्रमण गरेर २९ गते फर्कियौं ।

पहिलो दिन काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी झ्रियो । त्यहाँ कैलाली जिल्लाका अगुवा शिक्षकहरूले स्वागत र आवासको बन्दोबस्त गरेका रहेछन् । शिक्षक साथीहरूसँगको भलाकुसारी ‘बदलिंदो सन्दर्भमा सार्वजनिक शिक्षा र शिक्षकहरूको व्यवस्थापनमा भइरहेका सुधारहरू’ का बारेमा केन्द्रित थियो । कैलाली जिल्लामा निर्माण गर्न लागिएको ‘शिक्षक भवन’ को लागि दुई जना मिलेर रु.१० हजार ‘बीज रकम’ चन्दास्वरुप प्रदान गरियो । भोलिपल्ट १९ गते बस चढेर पहाडी बाटो हुँदै दिनभरको यात्रापश्चात् साँझ् ७ बजे बझङ सदरमुकाम चैनपुर पुगियो । २० गते बझाङका पुराना शिक्षक नेताहरूसँग भेटघाट गरेलगत्तै औपचारिक कार्यक्रममा सहभागी भइयो । त्यसको भोलिपल्ट बिहानको बस चढेर सेती राजमार्गको तमेल ओर्लियौं र सेती नदीको झोलुङ्गे पुल तरेर कच्ची बाटो हुँदै जीपमा कालुखेती बजार पुगियो । यो बेंसीको बस्तीमा खाना खाएर उँभोतिर रमाइला गाउँहरू छिचोल्दै खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा झ्मक्क साँझ पर्‍यो । थाकेर लखतरान भइयो । त्यो दिन लेकको स्वादिलो खानेकुरा खाएर त्यहीं सुतियो । भोलिपल्ट २२ गते बिहान सबेरै हिंडेर जाँदा ११ बजेतिर रमणीय हरिया पाटनहरू हुँदै खप्तड क्षेत्र प्रवेश गरियो ।

लगभग १० हजार फिट उँचाइमा रहेको खप्तडका पाटनहरू प्राकृतिक अवस्थामा छन् । त्यो हिमाली भेग सुगन्धित देवदारु सल्ला र विभिन्न जातिका घना रूखहरूले घेरिएको रहेछ । असारको अन्तिम भइसकेकोले जमीनमा फुलेका रङ्गीचङ्गी फूलहरू सुकिसकेका हुँदा त्यो सौन्दर्य देख्ने अवसर मिलेन । हिमाली हावापानी र मौसम अनुसारका चराहरू भने हामीले देख्यौं । त्यहाँ जति हेर्दै गयो उति विशाल लाग्ने पाटनहरू रहेछन् । खप्तड क्षेत्रमा रहेका २२ वटा पाटनहरूको करीब बीचमा पर्ने त्रिवेणी र मन्दिरको उत्तरपट्टि ढिस्कोमा दक्षिण फर्केको पाखोमा प्रख्यात ‘खप्तड बाबा’ को आश्रम रहेछ । सोही त्रिवेणीमा बझङ, अछाम, डोटी र बाजुरा जिल्लाहरू जोडिएका रहेछन् ।

खप्तडको पाटनहरूमा जेठदेखि साउन महीनासम्म छिमेकी गाउँहरूको घोडा र गाईवस्तु चराउन अनुमति दिइँदोरहेछ । भदौ १ देखि हिउँद लाग्यो भनेर किसानहरूले आफ्ना वस्तुभाउ पनि फिर्ता लाँदा रहेछन् । त्यहाँ क्रमशः हिउँले छोपिंदो रहेछ । त्यसपछि विस्तारै बँदेल, भालु, चितुवा आदि जङ्गली जनावरहरूको डर हुँदो रहेछ । यसैले हुनुपर्छ, पर्यटकहरूको लागि ‘भ्रमण अनुकूल मौसम’ चैतको पहिलो हप्तादेखि साउन महीनासम्मलाई मानिंदोरहेछ ।

थकाइले चूर भएको हाम्रो वृद्ध शरीरमा त्यहाँ पुगिसकेपछि नयाँ उत्साह थपियो । साँझ्सम्म वरिपरि घुम्यौं; फोटो खिच्यौं । राष्ट्रिय निकुञ्जको अतिथिगृहमा वासको प्रबन्ध मिलायौं । खाना खाएर सुत्यौं । भोलिपल्ट २३ गते बिहान सबेरै खप्तड आश्रम नजिकै तपस्यामा बसेका स्वामी अजयसँग खप्तड क्षेत्रको विशिष्टता, व्यापकता र महिमा सुन्यौं । उहाँका अनुसार यो भूमि पौराणिक कालदेखि नै ध्यान क्षेत्र, तपस्या स्थल र यज्ञ भूमि रहेछ । यो भूमि आध्यात्मिक बन्न प्रेरित गर्ने ‘विशेष ऊर्जा’ ले भरिएको ठाउँ रहेछ । दिनभरको घुमफिरपछि शान्त चित्त महसूस गर्दै त्यो रात त्यहीं बास बसियो ।

हाम्रो योजना खप्तडबाट फर्कंदा बाजुराको मार्तडी भएर अछामको साँफेबगरबाट मध्यपहाडी राजमार्ग हुँदै सुर्खेत झर्ने थियो । यसपालि असारको शुरूदेखि नै भएको वर्षात् र बाटो देखाउने साथीको अभाव भएर योजना बदल्यौं । उपलब्ध स्थानीय बटुवाहरूको साथ लागेर २४ गते बझाङ नै फर्कियौं । दिनभरिको पैदल, जीप र बसको यात्रा गर्दै साँझ् परेपछि बझाङको चैनपुर पुग्यौं ।

तस्वीरः भरतबन्धु थापा
नयाँ योजना अनुसार २५ गते बझाङबाट डँडेलधुरा पुगियो । त्यही दिन अमरगढी किल्ला र उग्रतारा मन्दिरको दर्शन गरियो । २६ गते बिहान डडेलधुराबाट बसमा डोटी, साँफेबगर हुँदै मङ्गलसैन पुगियो । अछाम जिल्लाको व्यापारिक सदरमुकाम, एअरपोर्ट समेत रहेको ‘साँफेबगर’ भन्दा पनि ‘साँफेबजार’ भएको छ । यो क्रमशः ‘साँफेशहर’ हुँदैछ । दिन धेरै बितेकोले पक्की सडक हुँदा पनि मार्तडी जान सकिएन । मध्य पहाडी राजमार्गले जोडेको बयलपाटा हुँदै बेलुका सदरमुकाम मङ्गलसैन पुगियो । त्यहाँ पनि अगुवा शिक्षकहरूसँग भेटघाट गरियो । सोही नयाँ राजमार्ग हुँदै भोलिपल्ट २७ गते राकम कर्णालीमा बनेको नयाँ पुल तरेर सुर्खेत झ्रियो । २८ गते बिहान सुर्खेतमा पुराना शिक्षक नेताहरूसँग भेटघाट गरी जिल्लाको दक्षिणी भागमा पर्ने ऐतिहासिक स्थल ‘काँक्रेविहार’ दर्शन गरियो । अघिल्लो पटक सुर्खेत जाँदा सालघारीमा छरिएको अवस्थामा देखिएको ‘काँक्रेविहार’ पुनःनिर्माण भएर शिखर शैलीमा जुरुक्क उठेको रहेछ ।

सुर्खेतबाट बेलुका नेपालगञ्ज पुगेर प्लेनमा काठमाडौं उत्रिने हाम्रो योजना त्यो दिन सफल हुन सकेन । त्रिभुवन विमानस्थलमा भएको प्राविधिक गडबडी र खराब मौसमका कारणले नेपालगञ्जबाट काठमाडौं जाने उडान स्थगित भएको हुँदा हामीले विकल्प खोजी गर्‍यौं । दिउँसो बस चढेर बुटवल पुग्यौं र साँझको बस चढेर २९ गते बिहान काठमाडौं झ्रियो ।

यो भ्रमणबाट हामी दुई वृद्धहरूले केही निष्कर्ष निकालेका छौं । पहिलो, सुदूरपश्चिमका सबै पहाडी जिल्लाहरू पक्की सडक र दूरसञ्चारको सुविधाले जोडिएको हुँदा सबै उमेर समूहका मानिसहरूको लागि यात्रा गर्न सम्भव भएको रहेछ । खप्तड राष्ट्रिय निकुञ्ज, अछामको ‘रामारोशन’, बाजुराको ‘बडीमालिका’, डोटीको ‘शैलेश्वरी’, डडेलधुराको ‘अमरगढी किल्ला’ र ‘उग्रतारा मन्दिर’ आदि ख्यातिप्राप्त गन्तव्यहरूमा लाग्ने मेला–पर्व र मौसमको सामान्य जानकारी लिएर प्रस्थान गर्न सकिन्छ । हरेक बजार सदरमुकाममा राम्रा होटलहरू बनेका छन् । आकस्मिक सुविधा सहितका अस्पताल र स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन् ।

दोस्रो, मध्यपहाडी राजमार्गले नेपालका बस्ती र सडकहरूलाई अनौठो लाग्ने गरी जोडेको छ । विगतमा सोच्नै नसकिने गरी केही घण्टामै अछामबाट सुर्खेत र रुकुमबाट बाग्लुङ अनि पोखरा पुग्न सम्भव भइसकेको छ ।

तेस्रो, नयाँ–नयाँ पर्यटकीय गन्तव्य व्यावसायिक भइनसकेकाले स्थानीय बासिन्दाहरूको जीवनशैली, कला–संस्कृति, भाषा, खानपान, रहन–सहनमा चासो हुनेहरूको लागि पनि आकर्षक हुन्छ नै । नेपालको सुदूरपश्चिम त्यस्तै एउटा रोचक गन्तव्य त हो नै थपिएका सुविधाहरूले झनै सहज बनाएको पाइयो ।

मेरो लागि चाहिं चार दशकअघि शिक्षक सङ्गठन बनाउने र प्रजातन्त्रका पक्षमा जनता जगाएर आन्दोलन चलाउने मनसुवा बोकेर देशव्यापी दौडाहामा लागेका बेला पनि भ्रमण गर्न बाँकी रहेका केही स्थान पुग्ने अपूर्व अवसर थियो । त्यही कालका भए पनि अहिलेसम्म बाँकी रहेका शिक्षक साथीहरूसँग उहीं पुगेर भलाकुसारी गर्न पाउने झनै महत्वको मौका हुनपुग्यो । पछिल्लो समय थपिएका सुविधा र सहजताले गर्दा म जस्तै सेवानिवृत्त, छोराछोरीहरू हुर्केर आआफ्नो सुर गरिसकेका सामान्यतया स्वस्थ वयस्कहरूको लागि पनि त्यो भेगको भ्रमण अविस्मरणीय नै हुनेछ ।

comments powered by Disqus

रमझम