३ कात्तिक २०७० | 20 October 2013

चुनावी सुरक्षा

Share:
  

हिमाल (१३ असोज) मा प्रकाशित ‘महँगो चुनाव’ पढेपछि केही लेख्न मन लाग्यो । चुनाव होस् वा अन्य काममा दुई–चार जना मोटाउने र त्यसको भार सर्वसाधारणले थेग्नुपर्ने नेपालको पुरानै समस्या हो । समाचारमा भनिए जस्तै रु.३० अर्बभन्दा बढीको लगानी र सैनिक घेरामा हुन लागेको चुनावले आर्थिक र सामाजिक हिसाबले मात्र नभई राजनीतिक रूपमा पनि बोझ्लिो हुने खतरा छ । अहिले पनि द्वन्द्वको समयमा जस्तो त्रासदीले धेरैलाई सताइरहेको छ । चुनाव हुनुअघि सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन ।

गोपाल पौडेल, ललितपुर, इमेलबाट

मतदानको व्यवस्था गरौं

हिमाल (१३ असोज) मा प्रकाशित ‘विदेशबाट फर्केका वञ्चित’ समाचारले देशमा रोजगारीको अवसर नभएर विदेशिएका युवाहरू मताधिकारबाट वञ्चित हुनु परेको प्रष्ट बुझन सकिन्छ । बाध्यतावश कामका लागि विदेशिएर स्वदेश फर्केका युवालाई संविधानसभाको ऐतिहासिक र महŒवपूर्ण अवसरमा सहभागी गराउने व्यवस्था मिलाउनुपर्छ । अन्यथा युवाहरू अधिकारको लागि लड्न बाध्य हुन्छन् ।

मिलन बम, इमेलबाट

क्याप्टेनलाई सलाम

हिमाल (१३ असोज) मा प्रकाशित ‘महाभारतमा नेपाली क्याप्टेन’ समाचार पढेपछि केही लेख्न मन लाग्यो । इच्छा र जाँगर हुने हो भने अगाडि बढ्न कसैले रोक्न सक्दैन भन्ने कुराको बलियो उदाहरण भएका छन् गुल्मीका लोकनाथ पाण्डे । कामको लागि विदेशिएका लोकनाथले धेरैलाई रोजगारी मात्र दिएका छैनन् भारतीय फिल्म उद्योगमा राम्रो छवि कायम राख्न पनि सफल भएका छन् । पाण्डेको परिश्रम र लगनशीलतालाई सलाम ।

इन्दिरा माली, इमेलबाट

पठनीय समाचार

हिमाल (१३ असोज) मा प्रकाशित ‘करोडपति महन्त’ समाचार पढेपछि धर्मका नाममा कसरी ठगी भइरहेको छ भन्ने प्रष्ट हुन्छ । ऐतिहासिक जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरको भेटी र अचल सम्पत्ति दुरुपयोग पैसाका लागि मानिसले जे पनि गर्न सक्दछ भन्ने कुराको ज्वलन्त उदाहरण हो । जनकपुर मात्र होइन, नेपालका धेरै ठाउँमा रहेका आस्थाको धरोहर मन्दिरमा हुने गरेका आर्थिक हिनामिनाको सम्बन्धित निकायले वेलैमा खोजीनिती गर्नुपर्छ ।

शर्मिला खड्का, इमेलबाट

प्राविधिक सीपमा जोड

हिमाल (६ असोज) मा प्रकाशित ‘माल छ, चाल छैन’ समाचार पढेपछि प्राकृतिक हिसाबले हामी कति सम्पन्न रहेछौं भन्ने प्रष्ट हुन्छ । हिमाल ले वेलावेलामा यस्ता खोज समाचार प्रकाशित गर्दै आएको भए पनि रोजगारीसँग सम्बन्धित विषयवस्तुमा ध्यान नपुगे जस्तो लाग्दछ । स्वदेशमै राम्रो रोजगारीका लागि प्राविधिक शिक्षातिर युवालाई आकर्षित गर्ने खालका सामग्रीलाई उचित स्थान दिनुपर्छ । मलाई त लाग्छ, देश बिग्रनुमा प्राविधिक सीपको अभावसँगै भ्रष्ट कर्मचारी र नेता मुख्य दोषी हुन् ।

सुब्बा राओ, इमेलबाट

comments powered by Disqus

रमझम