१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

नकारात्मक मान्छे

Share:
  

सोचिबसोस् दुश्मन मेरो

आधा भरी छ ग्लास

किन सोचूँ म सकारात्मक ?

ग्लास ?

यो पृथ्वी नै आधा खाली छ

आधा के ?

घाँटी–घाँटीसम्म खाली छ ।

**

‘अर्को साल

चन्द्रमातिर घुम्न जानुपर्ला’

यस्तो चहकिलो योजना बनाइबस्ने

साहुजीहरूले सोचून् सकारात्मक

देशभरि सदैव छरिएकै छन्

उनीहरूका पर्चा–

‘गरीबहरू हो,

धनाढ्यको हित चिताऊ

मनमा अरू कुरा नखेलाऊ

यही हो कर्म सकारात्मक’

**

काँध फेरी–फेरी

झुम्दै रमाउँदै नाच्दै गाउँदै

बजारको डोली बोकिरहेका

कमरेडहरूले सोचून् सकारात्मक

कि

भोलि आउँछ समाजवाद

नभए पर्सि आउँछ

पर्सि पनि नआए

अर्को वर्ष आउँछ

अर्को वर्ष नआए

हजार वर्षपछि आउँछ

तर, आउँछ, आउँछ

**

सोचून् ग्लोबल लुटेराहरूले सकारात्मक

कि

धर्तीलाई अरू दुई–चार शताब्दी

लुट्न सकिन्छ निर्वाध

**

चोर, डाँका, फटाहा

प्रशासक, शासक, बादशाह, तानाशाह

सबै–सबै सोचिरहेका छन् सकारात्मक

कि

आफ्ना–आफ्ना दराज हुनेछन् हराभरा

आफ्ना–आफ्ना गोदामघर हुनेछन् भरिभराउ

**

म सोच्दिनँ त्यसरी

जसरी सोच्दछन् उनीहरू

**

मैले सकारात्मक सोचें भने

जुलूसमा हिंड्ने खुट्टाहरूको गति सुस्त हुन्छ

नाराहरूमा स्वर पुग्दैन, जोड पुग्दैन

खुनको आँसु रुवाएर दुनियाँलाई

गुराँसको हाँसो हाँस्ने सत्तासीनलाई

सतत् तरिबस्ने

गायब हुनेछ एक जोर आँखा

एक अञ्जुली प्रेमका लागि तड्पी–तड्पी

मर्नेछन् प्रश्नहरू ।

comments powered by Disqus

रमझम