१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

सतर्क रहनुहोला

Share:
  

एक्कासी बिग्रिएको छ देशको मौसम

सतर्क रहनुहोला

**

लुटेराको क्रीडास्थल अर्थात् पहाडको शिर

शिथिल झोक्राइरहेछ हड्डी मक्किएर

आँगनमा चम्किरहेछ समृद्धिको रत्यौली नाच

जुनसुकै बेला खस्न सक्छ सरकारी पहिरो

यसपालि पनि हुन्डरीले उडाइदियो ठेकदारी बाँध

जुन दिशाबाट पनि पस्न सक्छ सरकारी बाढी

दह्रोसँग कस्नुहोला मनको साँध

बेसरी अँठ्याउनुहोला आश्रयको हाँगो

नत्र डुब्न सक्नुहन्छ जुनसुकै बेला चनाखो रहनुहोला

**

घुम्न सक्छन् आकाशमा हेलिकप्टरको पखेटा

तपाईं डुबेका, पुरिएकालाई हेर्न आइरहेछन् केही ड्रोन आँखा

आइरहेछन् सर्प अनुहारका मानिस

मदहोश हेरिरहेछन् समृद्धिको बार्दलीबाट

समातेको मित्र हाँगो छोडेर

आशाको डोरी नफ्याँक्नुहोला माथितिर

हातबाट फुस्केर समाप्त होला जीवन

चाउचाउको प्रलोभनमा नबेच्नुहोला खेत

सचेत रहनुहोला

**

एक्कासी बिग्रिएको छ देशको मौसम सतर्क रहनुहोला

**

जुनसुकै बेला पड्किन सक्छ बाटोको एम्बुस

बाटो किन यति गिलो न गिलो छ ?

जाग्न सक्छन् बहुलट्ठी मृत्यु–चालक

छेउकुना गर्दै अनियन्त्रित बगिरहेछ समय–पाङ्ग्रो

किचिमिची पारिदिन सक्छ पुतली जस्तै

टपक्क टिप्न सक्छ सरकारी कालले

बाउँडिन सक्छ हिंड्दै गरेको यात्रा

बलात्कारीको पक्षमा मुस्कुराउन सक्छ फैसला

भोको सिंह झैं गर्जिरहेछन् सरकारी बुलडग

जुनसुकै बेला हुनसक्छ भयानक इन्काउन्टर

सुरक्षित रहनुहोला

**

हातमै पड्किन सक्छ दुःखको ग्रिनेट

गोजीमै फुट्न सक्छ आलु–प्याजको क्षेप्यास्त्र

छातीमा टाँसिन सक्छ बेकामीको तक्मा

आत्मघाती हुनसक्छ तपाईंकै आवाज

घाँटीमा अड्किएको अङ्कुश हुनसक्छ हकको मुट्ठी

खेलकुदका सामान बन्न सक्छन् तपाईंका आँखा

तारो बन्न सक्छ तपाईंको टाउको

सजग रहनुहोला

**

एक्कासी बिग्रिएको छ देशको मौसम

सतर्क रहनुहोला ।

comments powered by Disqus

रमझम