१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

भीरपारिको गाउँ

Share:
  

रोशन शेरचन

गोष्ठी सकेर यलवाङ्बाट निस्कँदा दिउँसो साढे एघार बजेको थियो । नाम्ख गाउँपालिकाका वडाध्यक्ष, होटलको छुङ्गी दिदी र स्थानीयले हाम्रो समूहलाई खादा लगाई बिदा गरे । त्यो दिन २०७६, असार ५ गते, मौसम जस्तै खुलेको चङ्गा मन त्यसै भावुक भयो ।

नाम्ख तिब्बतसँग जोडिएको, हुम्ला जिल्लाकै दुर्गम पालिका । यलवाङ्, कर्णालीको किनारमा अवस्थित सानो बस्ती पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन लाग्छ । हाम्रो समूह कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने सिलसिलामा स्थानीय बासिन्दा र सरोकारवालाहरूसँग छलफल गर्न यलवाङ् पुगेको थियो । समूहमा आर्टिटेक्ट दिपन पन्त, प्रदेश मन्त्रालयका अधिकृतद्वय तुलसीप्रसाद आचार्य र गोकुल सुनार, सन्दुप लामा सहित म थिएँ । डिभिजन वन कार्यालयको कर्मचारी सन्दुप स्थानीय बासिन्दा पनि थिए । यलवाङ् प्रहरी चौकीबाट सरुवा भएको एक प्रहरी जवान पनि हाम्रै समूहमा मिसिए ।

करीब एक घण्टाको हिंडाइपछि सल्लेरी आइपुग्यो । सल्लाको वनले ढाकेको सुन्दर बस्ती । बाटा छेउको होटलमा झेला बिसायौं । अस्ति यलवाङ् आउँदा यही होटलमा बास बसेका थियौं । होटल अगाडिको चौरमा ट्याक्टर पार्क गरिएको थियो । त्यो देखेपछि प्रहरी जवान त्यसैमा जाने इच्छा गरे । चालकलाई जेनतेन उसले मनाएरै छाड्यो । मेरो चाहना त हिंड्ने नै थियो ।

टे«लरमा ड्रम थिए, त्यसैमाथि बस्यौं । के बसेको भन्नु, उफार्दै र थेचार्दै सोत्तर बनायो । सल्लाको सुसाईको आनन्द लिंदै उकालो चढ्न पाएको भए रमाइलो हुन्थ्यो । शहरबाट हिंड्ने भनेर आउने, फेरि ट्याक्टर नै खोज्ने, मलाई त झेंकै चल्यो । यात्रामा सधैं आफैंले खोजे जस्तो हुँदैन भनेर चित्त बुझएँ । मुन्तिर कर्णाली प्रचण्ड प्रवाहमा बगिरहेको थियो । केही ठाउँमा म प्रहरी जवानसँगै हिंडे । उसले हरियो व्याकप्याक बोकेको थियो । “खै सर, हजूरलाई अप्ठ्यारो भयो होला, म बोकिदिन्छु”, धेरै पटक उसले मलाई झेला दिन भन्यो । मैले टारिरहें ।

“अनि कस्तो रह्यो त यलवाङ्को बसाइ ?” ऊ फरासिलो भेटेपछि म खुल्न थालें । म पहिलो भेटमै खुल्ने मान्छे होइन । साथी चयन गर्ने मामिलामा निकै विचारी छु ।

“यलवाङ्का स्थानीयहरू सहयोगी छन् । तर, मासु खान नपाएर हैरानै भइयो ।” मासुको तिर्सना रहेछ उसलाई । बौद्धमार्गीहरू बस्ने भएकोले त्यहाँ मारकाट गर्न पाइँदैन । होटलले मासु राख्दैनन् । उसले च्याङ्ग्रा काट्दाको हाँसो लाग्दो प्रसङ्ग सुनायो । मासु खान नपाएर साह्रै आतेस लागेपछि प्रहरी जवानहरूले सल्लाह गरेर गाउँलेहरू सुतिसकेपछि एक रात च्याङ्ग्रा काटेछन् । नजिकको कर्णालीमा काटकुट पारेर थान्कोमान्को लगाउँदा रातको दुई नै बजेछ । बिहान केही छिमेकीलाई पनि मासु बाँडेछन् ।

ऊ भन्दैथियो, “कसैले पोल लगाइदिए, दश हजार जरिवाना तिर्नुपर्छ । चार हजारको च्याङ्ग्रामा दश हजारको चुना लाग्यो भने त, घाटो भइहाल्यो ।” म मज्जाले हाँसे । त्यहाँ खाँटी उवाको झेलसँग सुकुटी खाने हाम्रो इच्छा पनि त्यसै सेलाएको थियो । मासुको नाममा प्लाष्टिकमा प्याक भएको चिकेनको सेतो खुट्टा आउने रहेछ तिब्बतबाट । साह्रै पीरो ।

गोष्ठीमा बौद्ध संस्कृतिबारे सुनेका थियौं । प्राचीन गुम्बा तिब्बतमा रहेछ । सांस्कृतिक क्रान्तिमा त्यो गुम्बा नष्ट भएपछि सन् १९८५ मा यलवाङ्मा नाम्ख ख्युङ् झोङ्को स्थापना भएको रहेछ । हाल करीब ४१३ विद्यार्थीले बौद्धधर्म अध्ययन गरिरहेका छन् । एकान्त साधना गर्ने भिक्षुहरू पनि धेरै रहेछन् । बौद्ध धर्मले त्यति गहिरो प्रभाव पारेको गाउँमा तल्तिरका मान्छेहरू भने मासु खान नपाएरै ठुस्स परेका छन् ।

रक्सीको प्रसङ्ग पनि उठ्यो । “म रक्सी खादिनँ सर । धेरैको परिवार रक्सीकै कारणले बिग्रेको छ । यस्तो दुर्गममा आएर रक्सी खाने हो भने कसरी पैसा बच्छ । केही किस्ता ऋण बाँकी छ । जागिरमा प्रवेश गरेको दश वर्ष भयो, सानो घडेरी जोडेको छ । यो वर्ष ऋण तिरिसक्छु ।” निकै दृढनिश्चयी सुनिन्थ्यो, ऊ ।

वार्तालापमा मज्जा आए पनि मेरो मनमा पिरलो पार्ने प्रसङ्ग अर्कै थियो । च्याछला झ्रना अगाडिको अक्करे भीर । अस्ति यलवाङ् आउँदा च्याछला भीरमा गहिरो डर पस्यो । अक्करे भीरमा तेर्सिएको चट्टान । त्यही चट्टानमा टेकेर हिंड्नुपर्ने । तल मडारिंदै बगिरहेको कर्णाली । सतर्कतापूर्वक चट्टानमाथि पाइला राख्दै पार भयौं ।

त्यसपछि झन् जोमिखपूर्ण खण्ड रहेछ । भीरमा डोरी झुन्ड्याइएको थियो । वरपर कोही देखिएन । तर, यहाँ भीर खन्ने काम भइरहेको भन्ने थाहा लाग्थ्यो । शायद भीर पार गर्न सजिलो होस् भनेर डोरी झ्ुन्ड्याएको होला । त्यस खण्डमा साहस जुटाउन नसकेपछि वैकल्पिक बाटो समात्यौं । थोरै उकालो चढेपछि पौने दुई फिट चौडाइको घुम्ती आयो । त्यो बढीमा चार मिटर लामो निकै अप्ठेरो बाटो थियो । तल छ्वाङ्गै कर्णाली । थोरै निहुरेर तल नहेरी सास रोकेर त्यो खण्ड पनि पार गरें । त्यतिवेला मनमा परेको डरको दबाब अझै सम्झ्न्छिु ।

फर्कंदा त्यही अप्ठेरोमा आइपुगेका थियौं । फेरि पार गर्नुपर्ने । सानो विराम भए जीवन समाप्त । त्यति बाटो कटेपछि त जति धेरै हिंड्न परे पनि फरक पर्दैनथ्यो ।

“पहिलो पटक यलवाङ् आउँदा तपाईंलाई भीरले दुःख दिएन ?” मैले विषयान्तर गरें । “अप्ठ्यारो भयो । हामी पाँच जवान थियौं । सबैले झेला, हतियार र गोली गट्ठा बोकेका थियौं । साथीको हतियार मैले नै बोकें । हात समाएरै भीरबाट ल्यायौं ।” उसले जवाफ फर्कायो ।

केही समयमा केरमी आइपुग्यौं । सडक छेउ पार्क गरिएको तिब्बतबाट मालसामान ओसार्ने टिप्पर देखिन्थ्यो । केरमीमा बिसाएनौं । अर्को सानो बस्ती देखा पर्‍यो । तुलसीजीले केही खाउँ भनेकाले एउटा चियापसलमा पस्यौं । चाउचाउ खाएपछि भोकबाट केही क्षण मुक्ति मिल्यो ।

च्याछला भीर नजिकिंदै थियो । श्रमिकहरू खुला चौरमा पुरानो पालमुनि खाजा खाँदै थिए । शायद दिउँसोको दुई बजेको थियो । क्रमशः भीर देखियो । मन ढक्क फुल्यो । केही समयबाट म मौन भएर मानसिक तयारी गर्दै थिएँ । भीर नजिक पुगेपछि व्याकप्याक माथि सारें र फित्ता कसें । साँघुरो भीरको भित्तामा व्याकप्याक ठोक्किएर पदयात्री मुन्टिएको घटना धेरै सुनेको थिएँ । जब भीर आइपुग्यो, थोरै निहुरिएर सास रोकेर हिंडे । तल हेरिनँ । कटेपछि भने फर्केर हेरें ।

तुलसीजी, गोकुलजी आउलान् आउलान्... आउँदैनन् । मेरो लगत्तै पछि भए जस्तो लागेको थियो । निकै पछि रहेछन् कि ? मनमा चिसो पस्न थाल्यो । केही बेरमा तुलसीजी देखिए, त्यसपछि गोकुलजी । ‘थम्स अप’ गरें । म आनन्दित बनेको थिएँ । लगत्तै अर्को जोखिमयुक्त खण्ड छ भन्ने चाहिं बिर्सेछु । सन्दुपले भनेपछि चिसिएँ । हिमालयन थार जस्तो फूर्तिलो सन्दुप भीरको बाटो सहजै हिंड्थ्यो । हामीलाई ढाडस दिइरहेको थियो ।

तुलसीजीलाई निकै दबाब परेको देखिन्थ्यो । चट्टानको बाटो नजाउँ भन्दै थिए । म ओर्लिसकेको थिएँ । क्षणभर अनिर्णित बनें । डराएर कहाँ फर्कने भन्ने सोचले सन्दुपकै पछि लागें । उनी अगाडि उभिएर सतर्क गराइरहेका थिए । कथंकदाचित चिप्लिएछ भने पनि उसले समातेर बचाउँछ भन्नेसम्म सोच्न पुगेछु । जिन्दगीमा धेरै दुर्गम बाटा हिंडियो तर यो यात्राले जति सातो कुनैले लिएको थिएन ।

धारपोरी आइपुग्दा साँझ् परेको थियो । त्यहाँबाट उकालो शुरू हुन्थ्यो । नजिकको पसलमा हँसिया मागेर केही साथीले लौरो बनाए । प्लाष्टिकको बोतलमा धाराको पानी भर्‍यौं । “सिमकोट पुग्न कति लाग्ला ?” कसैले सोध्यो ।

“तपाईंहरूको हिंडाइमा दुई अढाइ घण्टा लाग्छ”, स्थानीयले बताए । “चारै घण्टा लाग्दा पनि १० बजेसम्म त पुगिन्छ”, मैले हिसाब गरें । मेरो मनको कुरो भिन्न थियो, यही गाउँमा बस्ने । तर, केही साथी सिमकोट पुग्ने हतारो गर्न थाले । जिन्दगीभर हिंड्ने हो तर, मरिहत्ते गरेर रातविरात हिंड्ने होइन, मेरो ट्राभलिङ फिलसफी । “दिन आफ्नो, रात अरूको”, बूढापाकाको उक्त भनाइ सधैं साँचो लाग्छ । यसपटक भने साथीहरूसँग तानिएँ ।

उकालो चढ्यौं । अँध्यारोले छोप्दै लग्यो । मैले टाउकोमा हेडलाइट कसें । सहयात्रीहरूले मोबाइल टर्च बाले । कति बाटो काटियो, थाहा पत्तो छैन । हिंड्या छ, हिंड्या छ । एक ठाउँमा त ठूला ठूला ढुङ्गा चढ्नु पर्‍यो । तुलसीजी अत्तालिन थाले । “बाटो गलत त छैन ?” उनले सोधे । सन्दुप पनि हच्कियो । स्काभेटरले माथिको बाटो विस्तार गर्दा ढुङ्गा खसेर तल पुरिएको हो कि भन्ने दोधारमा पर्‍यो ऊ ।

बाटो सही भए केही नदेखे पनि गन्तव्य नजिकिन्थ्यो । अन्यथा उल्टो टाढिन्थ्यो । जतिसुकै परिचित भए पनि दिउँसो पो डाँडाकाँडा, बस्ती वा खोला जस्ता ‘रिफरेन्स प्वाइन्ट’ ले बाटो पहिल्याउन मद्दत गर्छ । ६ जना भएकोले एक रात जङ्गलमै पनि बिताउन सकिन्थ्यो । तर, भोक सहन असंभवप्रायः थियो । थुम्को आएपछि सिमकोटको बिजुलीबत्ती देखिन्छ भनेका थिए । तर, मरिकाटे आएको होइन । नपत्याउने उकालो रहेछ । बल्ल पातलो बस्ती आयो । एउटा पसल खुलै देखेकोले छिर्‍यौं । केही साथीले उसिनेको अण्डा र चाउचाउ खाए । म काठको बेन्चमा पल्टिएँ । गोकुलजी त एक झ्म्की निदाए नै ।

शक्ति सञ्चय गरेपछि फेरि उकालो चढ्यौं । अन्धकारमा लमतन्न सुतेको यौटा सानो बस्ती आइपुग्यो । जङ्गल सकिएकोले थुम्को नजिकिंदै छ भन्ने अनुमान गरें । चिसो स्याँठ चलिरहेको थियो । थकान र भोकले क्लान्त थियौं । सबै मौन । मोबाइल हेरें, साढे बाह्र बजेको थियो । सिमकोटै पुग्ने भन्ने साथीहरू झ्न् थकित देखिन्थे ।

केही समय हिंडेपछि झलमल्ल बत्ती बलेको देखियो । सिमकोट आइपुग्नै लागेछ, अब आधा घण्टा जति हिंड्नुपथ्र्यो । सन्दुपले आफ्नो घरमा खानाको व्यवस्था गरेको थियो । मार्सी चामल, कुखुराको मासुसँग तिनपाने लिने बिहानकै सल्लाह हो । बाटोको हिंडाइ लगभग सकिएको थियो । तर, भोकको दूरी लामै थियो । हामी ढुङ्ग्यानी बाटो फटाफट ओर्लन थाल्यौं ।

comments powered by Disqus

रमझम