१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

दशैंमा काम व्यवस्थापन

Share:
  
- लक्ष्मी बस्नेत
चाडबाडका बेला घरमा अतिरिक्त काम थपिन्छ। परिवारका सदस्यबीच कामको उचित बाँडफाँडले मात्र सबैको दशैं उल्लासमय हुन्छ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले दशैंमा हुने थप कामको सूची ५ असोजमै तयार पारिसकेकी छिन् । विजयादशमीकै दिन टीका थाप्न आउनेहरू १५/१६ जना हुन्छन् । त्यसपछिका दुई, तीन दिन झन् बढी आउँछन् । पाहुनालाई खुवाउने प्रायः परिकार नवमीकै दिन दम्पती नै मिलेर बनाउँछन् । खसी, कुखुरा र बंगुर गरी तीन थरी मासुका ६/७ थरी परिकार बन्छन् । “दशैंमा माछामासु खुवाउनै पर्छ, कोही खसी वा कुखुरा मात्रै खान्छन्, कसैको लागि बंगुर नभई हुँदैन, शाकाहारी पनि हुन्छन्, सबैका लागि खानेकुरा चाहिन्छ ।”

राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य समेत रहेकी पौड्याल सामान्यतया बिहान ५ बजेदेखि राति १२ बजेसम्म काममै हुन्छिन् । तर, कामको व्यवस्थापन गर्न सके झन्झट नहुने उनको अनुभव छ । “दशैंमा टीका लगाउन जाने÷आउनेले समयबारे अगाडि नै जानकारी गराए खानपानको व्यवस्थापन गर्न सजिलो हुन्छ । परिवारका सदस्यले कामको पनि बाँडफाँड गर्नुपर्छ”, डा. राई भन्छिन् ।

सुनिता विष्ट (काठमाडौं) ब्यूटीसियन हुन् । दशैंमा ग्राहकहरूको भीड लाग्छ । “चाडबाडका बेला महिलाहरू कपाल स्टेट वा कर्ली बनाउने, रङ्गाउने, फेसियल गर्ने र अन्य सौन्दर्यका लागि समय बुकिङ गरिराखेका हुन्छन्”, उनी भन्छिन् । अरुको दशैं बिदा शुरु हुँदा उनी भने राति अबेरसम्म व्यस्त हुन्छिन् । टीकाको दिन मात्र पसल बन्द गर्छिन् । चाडबाडको बेला थपिने घरका काम रातिसम्म बसेर वा बिहान चाँडै उठेर भ्याउँछिन् । संयुक्त परिवारमा बाँडफाँड गरेर काम गर्ने हुँदा उनलाई व्यवसाय गर्न सजिलो हुन्छ ।

कामको उचित बाँडफाँडले नै परिवारमा सबैको चाड रमाइलो हुने समाजशास्त्री सुरेश ढकाल बताउँछन् । परम्परादेखि घरभित्रको काम महिलाको जिम्मेवारी भएको बुझाइ छोड्नुपर्ने उनी बताउँछन् । अझ महिलामा पनि छोरीभन्दा बुहारीले बढी काम गर्नुपर्ने गलत मान्यता छ । “पुरुषले यो काम गर्न हुँदैन भन्ने जस्ता मान्यता पुरुष आफैंले तोड्नुपर्छ । पढ्ने उमेरका छोराछोरीको पनि प्रायः बिदा हुने भएकाले उनीहरूलाई पनि सक्ने काम लगाउनुपर्छ, नजानेको भए सिकाउनुपर्छ”, उनको सुझाव छ । चाडबाडमा मात्र नभएर अरु बेला पनि मिलेर गर्दा घरको काम व्यवस्थापन सजिलो हुने उनको भनाइ छ ।

काठमाडौंमा रोजगारी गरिरहेका रामेछाप देउरालीका कमल केसीको समस्या अलि फरक छ । उनी घरको कामले अहिलेदेखि नै चिन्तित छन् । उनकी श्रीमती दुई वर्षदेखि विदेशमा छिन् । साना दुई छोरी लिएर रामेछाप घर जानुपर्छ । घरका काम पनि एक्लै भ्याउनुपर्छ । “दशैंका बेला घरमा लगाउने कमेरो माटो लिन टाढाबाट जानुपर्छ । जत्ति पैसा दिन्छु भने पनि ल्याइदिने मान्छे पाइँदैन”, उनी भन्छन् । गाउँका घरमा सोह्रश्राद्ध लागेपछि कमेरो तथा रातो माटो लगाउने चलन हुन्छ । केसीलाई दशैं रमाइलोभन्दा पनि ‘टाउको दुखाउने चाड’ लाग्छ ।

केसीले दशैंमा चाहिने लुगाफाटो, मरमसला र पूजाका आवश्यक सामग्री अहिले किनिसके । नबिग्रिने सामग्री पहिल्यै तयार गर्दा पनि चाडमा कामको चाप घट्छ । घरमा बनाउन नभ्याए बजारमा पाइने गुणस्तरीय खानेकुरा किन्न सकिन्छ । अचार, सेल र मिठाई बजारमा पाइन्छ । गाउँघरतिर मासुको जोहो गर्न पनि गाह्रो हुन्छ । छरछिमेक मिलेर अलि चाँडैदेखि व्यवस्थापन गर्न सकिन्छ । आफन्तहरूलाई खुवाउन एकैपटक धेरै परिकार बनाउँदा काम थपिन्छ । बरु, थोरै तर स्वस्थ खानेकुरा उपयुक्त हुन्छ । यसो गर्दा घरको मान्छे खानेकुरा बनाइरहने, तर बोल्नै नपाउने समस्या हुँदैन । परिवारका सबै सदस्यको दशैं उल्लासमय हुन्छ ।

comments powered by Disqus

रमझम