३ कात्तिक २०७० | 20 October 2013

‘लोकदोहोरी विकास बोर्ड चाहियो’

Share:
  

१५ असोजमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा निर्वाचित लोकगायक चन्द्र शर्मा भन्छन्, “बीचमा संवाद राखेर र्याप हालिएका र शब्द उच्चारण गर्न समेत लाज मान्नुपर्ने गीतलाई लोकगीत भन्न मिल्दैन ।”

प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता किन परेको हो ?

कलाकार पेशा सबैभन्दा असुरक्षित छ । नाम कमाएका कलाकारले समेत मलामी नपाउने अवस्था आएपछि १० वर्ष पहिले प्रतिष्ठान खोलेका हौं । यसले कलाकारहरूलाई मर्दापर्दा सहयोग गर्छ । यसमा आवद्ध १७ हजार कलाकारको हित, लोकसंगीतको संरक्षण र सम्वद्र्धनमा प्रतिष्ठानले भूमिका खेलेको छ ।

आफ्नो कार्यकालमा के गर्ने योजना बनाउनुभएको छ ?

लोकदोहोरी विकास बोर्ड गठन गराउन सक्रिय हुनेछु । कलाकारका छोराछोरीलाई शिक्षा तथा स्वास्थ्यमा छूट दिलाउन पहल गर्दैछु । कलाकार कल्याण कोषमा वृद्धि, दोहोरी प्रतियोगिता आयोजना जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिनेछु ।

लोकसंगीतमा विकृति भित्रिएको साँचो हो ?

लोकगीत भन्न नमिल्ने गीतहरू पनि बजारमा आएका छन् । गीतको बीचमा संवाद राखेर र्याप हालिएका र शब्द उच्चारण गर्न लाज मान्नुपर्ने गीतलाई लोकगीत भन्न मिल्दैन ।

सूचनाप्रविधिले लोकसंगीतमा कस्तो प्रभाव पारेको छ ?

पहिले अडियो क्यासेट बिक्रीबाट कलाकारले रोयल्टी पाउँथे भने अहिले सीआरबीटी र यूट्युबमा गीत राखेबापत पैसा आउँछ । सीआरबीटीका लागि एक लाइन गीत रेकर्ड गराउने विकृति पनि भित्रिएको छ । लाखौं लगानीमा तयार गीतहरु पेनड्राइभबाट कपी गरेर बजिरहेका छन् । व्यावसायिक रेडियो, टीभीले निःशुल्क गीत प्रसारण गर्छन् । एकपटक बजाउँदा थोरै पैसा भए पनि कलाकारले पाउनुपर्छ भन्ने हाम्रो माग छ ।

सुगम संगीत, पप गीत र लोक संगीतमध्ये अहिले कसको बजार राम्रो छ ?

सबैको आफ्नै महत्व भए पनि लोक गीतको बजार राम्रो छ । यो वर्ष पनि लोक कलाकारले नै सबैभन्दा बढी रोयल्टी पाए । दर्शक/श्रोताले पनि लोक कलाकारहरूलाई बढी माया गरेका छन् ।

comments powered by Disqus

रमझम