३ कात्तिक २०७० | 20 October 2013

तरकारी खेतीले फेरियो जीवन

Share:
  

सविता श्रेष्ठ
चितवनको काउले–३ कालिङ्गका दिलबहादुर प्रजा (४२) कोे तीन कट्ठा बारीमा अहिले टमाटर, काँक्रो र सिमी लटरम्म छन् । ६ जनाको उनको परिवार तीन वर्षदेखि तरकारी खेतीबाटै पालिएको छ । पहिले यही बारीमा कोदो र मकै लगाउँदा मुश्किलले ६ महीना मात्र खान पुग्थ्यो । चाडबाडमा ऋण खोज्नै पथ्र्यो । अहिले त केही बचत समेत भएको दिलबहादुर बताउँछन् । “कुल्ली जानु परेन, गाउँघरमै मल माटो मिलाएर खेती गरेर फाइदा भा’छ” दिलबहादुर भन्छन् ।

चेपाङ, गिरी र पुरीहरूको बसोबास रहेको काउले–३ मा १५० परिवारले तरकारी खेती गरेका छन् । हात्तीबाङ्गसम्म सडक पुगेकोले उनीहरूलाई तरकारी बेच्न पनि सजिलो भएको छ । सडक बनेपछि तरकारी खेती विस्तार गरेका हात्तीबाङ्गका रामचन्द्र पुरी (तस्वीरमा) ले तरकारीकै आम्दानीले छोरालाई भरतपुरमा राखेर पढाउन सकेको बताए । “रकम संकलन र श्रमदानबाट तीन वर्षअघि १५ किमी हुग्दी–हात्तीबाङ्ग सडक बनाएपछि जीविका सजिलो भएको छ”, रामचन्द्रले भने ।

धादिङको जोगिमारा–१, २, ३ र ४ हुँदै काउले–३ लाई सडकले राजमार्गसँग जोडेको छ । यस क्षेत्रका किसानहरू आफ्नो उत्पादन मझ्मिटारमा रहेको सहकारीमा पु¥याउँछन् । गाउँका अधिकांश किसान तरकारी उत्पादनमा लागे पनि उनीहरू परम्परागत कृषि प्रणालीमै छन् । हात्तीबाङ्गको सूर्योदय युवा क्लबका अध्यक्ष खिम पुरी भन्छन्, “गाउँलेहरूलाई व्यावसायिक कृषि तालीम चाहिएको छ ।”

सविता श्रेष्ठ, चितवन


न्याय खोज्दै चारदशक

ईश्वरचन्द्र झा
धनुषाको देउरी पर्वाहा–५ का चन्द्रदेव मिश्र (६५) ले जीवनका ४३ वर्ष न्यायको खोजीमा भौंतारिंदै बिताएका छन् । तत्कालीन भूमि प्रशासन, पुनरावेदन अदालत, सर्वोच्च अदालत हुँदै अहिले उनी फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । “तर, अझ न्यायमा ढिलाइ भइरहेको छ”, मिश्र भन्छन् ।

पर्वाहा–३ को साविक कित्ता नम्बर ७२२ र २०२६ को सर्भेपछि कायम भएको कित्ता नम्बर ३२३ को ०–६–१०–० को पुर्जा बनाउन नपाएपछि मिश्र सर्वोच्चसम्म पुगेका थिए । उनका बुबा नचारी मिश्रले वर्षौंदेखि भोगचलन गर्दै आएको उक्त जग्गा २०२६ को सर्भेमा ‘फिल्ड–बूक’मा छुट्न गई ऐलानी कायम भएको थियो । धेरैपछि मात्र त्यो थाहा पाएका उनले २०३३ सालमा उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रीट दिएका थिए । तर, अहिलेसम्म पनि सर्वोच्चको निर्णय कार्यान्वयन भएको छैन ।

त्यसपछिको सबूत प्रमाण लिएर भूमि प्रशासन धाइरहेकै वेला जिल्ला मालपोत कार्यालयले २० जेठ २०६२ मा जग्गाको तारेख तोडेर मिसिल तामेलीमा राख्ने निर्णय गरेपछि उनी पुनरावेदन गएका थिए । पुनरावेदनबाट पनि उनकै पक्षमा निर्णय आयो, तर पनि न्याय नपाएको मिश्रले बताए । “सबै प्रमाण भए पनि त्यसवेलाको फिल्ड–बूकलाई आधार बनाएर ऐलानी कायम गरी ममाथि अन्याय गरिएको छ” मिश्र भन्छन्, “अदालतले दिएको आदेश पालना नभएसम्म लडिरहन्छु ।”

ईश्वरचन्द्र झा, जनकपुर


युवा पाइलटको सम्झना

१७ असोजको बिहान ९:३० बजे पोखराबाट चिनियाँ नागरिक ली जिनलाई लिएर स्टेफेन श्रेष्ठले उडाएको अल्ट्रालाइट विमान पुम्दीभुम्दीको शान्तिस्तूपा नजिकै बिजुलीको तारमा ठोक्किएर धानखेतमा खस्यो । तत्काल उद्धारमा आएका स्थानीयवासीले उनीहरूलाई बचाउन सकेनन् । पहिलो नेपाली अल्ट्रालाइट पाइलट तथा एभिया क्लबका सञ्चालक स्टेफेनले देशको पर्यटन क्षेत्रमा धेरै काम गर्न बाँकी रह्यो । निधन हुँदा उनी ३५ वर्षका मात्र थिए ।

रूसी आमा र नेपाली बाबुका छोरा स्टेफेनले अमेरिकामा पाइलट तालीम लिएर फर्केपछि सन् १९९७ मा एभिया क्लब स्थापना गरेर पर्यटकहरूलाई अल्ट्रालाइट विमानको रोमाञ्चकारी यात्रा गराउन थालेका थिए । उनले पोखराबाट काठमाडौं र चितवन क्रस कन्ट्री अल्ट्रालाइट र्यालीको सफल आयोजना गरेका थिए । तीन वर्षअघि उनले हिमाल सँग भनेका थिए, “म विभिन्न प्रकारका विमानबाट धेरै ठाउँमा घुमेको छु, तर खुलेको बिहान ककपिटबाट देखिने अन्नपूर्ण क्षेत्र जति सुन्दर ठाउँ विश्वमा कहीं छैन ।”

अब सम्झनामा मात्र सीमित स्टेफेनलाई नेपालको पर्यटन सम्बन्धी हरेक पोस्टर र ब्रोसरमा देखिने माछापुच्छ्रे अगाडिबाट उड्दै गरेको अल्ट्रालाइटको तस्वीरले अमर बनाउनेछ ।

comments powered by Disqus

रमझम