पोषणबारे हुन लागेको सम्मेलन कति महत्वपूर्ण छ ?
प्रत्येक वर्ष हुने यो सम्मेलन विश्वव्यापी रुपमा कुपोषणका विरुद्ध लड्नका लागि महत्वपूर्ण छ । ६१ देशका प्रतिनिधि र विभिन्न क्षेत्रका विज्ञ सहभागी हुने सम्मेलन मार्फत कुपोषण विरुद्ध लड्ने क्रममा सिकेका ज्ञान बाँड्ने, आगामी दिनका प्राथमिकताका विषयमा सहमति जनाउँदै राजनीतिक प्रतिबद्धता पनि खोजिनेछ । पोषण विस्तार अभियानलाई सफल बनाउन सबै देशमा राजनीतिक इच्छाशक्ति नभई हुँदैन । समयका हिसाबले पनि यो सम्मेलन महत्वपूर्ण छ । १० वर्षअघि जन्मिएको यो अभियानको दोस्रो चरण अब छिट्टै सकिने क्रममा छ । त्यसैले निर्धारित लक्ष्य अनुसार पोषणका क्षेत्रमा आवश्यक सुधार गर्नुपर्नेछ । यसको तेस्रो अभियान सन् २०२१ देखि २०२५ सम्म चल्नेछ । सम्मेलनमा तेस्रो चरणको अभियानमा सञ्चालन गरिने कार्यक्रमहरूबारे पनि छलफल हुनेछ । नेपाल सन् २०११ मा यो अभियानमा सहभागी हुने पाँचौं देश भएको थियो । संयोग नै भन्नुपर्छ नेपालमा हुन गइरहेको यो सम्मेलन पाँचौं नै हो ।
पाँचौं सम्मेलन नेपालमा नै आयोजना गर्न लाग्नुको कारण के हो ?
अफ्रिकी मुलुकमा भएको अघिल्लो सम्मेलनले पाँचौं सम्मेलन एशियाली मुलुकमा गर्ने निर्णय गरेको थियो । एशियामा नै पहिलो पटक नेपालमा सम्मेलन आयोजना हुँदैछ । अभियान के हो र कसरी चल्छ भनेर बुझाउन पनि नेपालमा आयोजना गर्ने निर्णय भएको हो ।
पोषण विस्तार अभियान सफल पार्न नेपालबाट शुरुदेखि नै राजनीतिक प्रतिबद्धता आएको थियो । राष्ट्रिय पोषण योजना मार्फत कुपोषण विरुद्ध लड्न नेपालले राम्रा कार्यक्रमहरू ल्याएकाले र पोषणबारे अवलम्बन गरेको नीति अन्य देशका लागि मोडल भएकाले पनि सम्मेलन आयोजकका लागि नेपाल छनोट भएको हो । नेपालले पोषणमा महत्वपूर्ण सुधार गरेको छ । सन् १९९० को दशकतिर नेपालमा कुपोषण दर उच्च थियो । त्यसपछिका वर्षमा घट्दै गएर सन् २००१ मा ३७ प्रतिशतमा झर्यो । सन् २०१७ मा आइपुग्दा नेपालले राम्रो प्रगति हासिल गरिसकेको छ । नेपालले बालबालिकामा बढी तौल समस्या पनि व्यवस्थापन गरेको छ । तर, धेरै देशमा बालबालिकामा मोटोपनको समस्या बढ्दो छ । ‘आमाको दूध खुवाउने’ कार्यक्रमका कारण नेपालले बालबालिकाको मोटोपन व्यवस्थापन गर्न सफल भएको हो । नेपालको यो सफलता अन्य देशका लागि सिकाइको विषय बन्न सक्छ । यो अभियान (सन मूभमेन्ट) ले पनि बच्चा जन्मेको पहिलो हजार दिनमा आमाको दूध खुवाउनुपर्नेमा जोड दिएको छ । कुपोषणको समस्या समाधान गर्न नेपालको दृष्टिकोण र नीति राम्रो छ ।
युनिसेफकै पछिल्लो प्रतिवेदनले नेपालमा पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकालाई कुपोषण भएको उल्लेख छ । के कारणले यति ठूलो संख्यामा बालबालिका कुपोषित भए ?
कुपोषणको समस्या सुधार्न एक दिनको मात्र पहल र प्रयास पर्याप्त हुँदैन । प्रत्येक दिन पहल गर्नु जरुरी छ । यो समस्या समाधान गर्न विश्वव्यापी रुपमा धेरै चुनौती छन् । धेरै देशमा भोकमरीबाट जोगिने उपाय र खाद्य सुरक्षाको बढी चर्चा भइरहेको छ । तर, खाना र पोषणको सम्बन्धबारे ध्यान दिइएको छैन । यो धनी देशहरूको प्रमुख समस्या हो । त्यसैले धनी देशहरूमा बालबालिकामा मोटोपनको समस्या बढिरहेको छ ।
म नेपालको एक मात्र केसलाई आधार मानेर पूर्ण जानकारी भन्न सक्ने अवस्थामा छैन । तर, पूरै विश्व प्रसव उमेरका युवा महिलामा एनिमिया (रक्तअल्पता) को समस्या समाधान गर्न कछुवा गतिमा प्रगति गरिरहेको छ । संयुक्त राष्ट्रसंघको ‘सन नेटवर्क’ मार्फत यो समस्या समाधानका लागि पहल गर्न सकिन्छ । बालबालिकामा कुपोषणको अवस्था नसुध्रिनुको अर्को कारण हो, आपत्कालीन अवस्था र प्राकृतिक विपत्ति । यस्तो समयमा भोकमरीको समस्याबाट उम्कन बालबालिकाको आवश्यकता अनुसार उपयुक्त पोषिलो खानाको व्यवस्था मिलाउनुपर्छ । त्यसैले राज्यसँगै प्रत्येक नागरिकको पनि भूमिका हुन्छ ।
कस्तो खानेकुरा सेवन गर्ने भन्ने जनचेतनाको अभावले पनि कुपोषणको समस्या समाधान हुन नसकेको हो त ?
अक्सर मानिसहरूलाई कस्तो खानेकुरा खाने भन्ने ज्ञान छैन । यसको एउटा कारण अशिक्षा पनि हो । विभिन्न समस्याले शिविरमा बसिरहेकाहरू खानेकुरा राम्ररी पकाएर खान पाइरहेका हुँदैनन् । त्यसैले यो वर्षको सम्मेलनको मुख्य नारा नै ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्नेछ । सम्मेलन मार्फत पोषणका चुनौती र पृथ्वीमा भएका पोषणका स्रोतसाधन लगायत विषयमा छलफल हुनेछ ।
कुपोषणको समस्या समाधान गर्न नेपालको नीति र दृष्टिकोण राम्रो भएको बताउनुभयो । तर, पछिल्लो समय सरकारका कतिपय कार्यक्रमले व्यापारिक प्रयोजनका लागि ल्याइएका खाद्य परिपूरकको प्रवद्र्धन गरिरहेको छ नि !
कतिपय अवस्थामा खाद्य परिपूरक पनि चाहिन सक्छ । तर, स्थानीयस्तरमा भएका खानेकुरा नै प्राथमिकतामा राख्नुपर्छ । स्थानीय खानेकुराको प्रवद्र्धन हुँदा भौगोलिक रुपमा कठिन ठाउँमा बसेकाहरूलाई रोजगारीको अवसर सिर्जना हुन्छ । यसले वातावरणलाई पनि फाइदा पुर्याउँछ । हाम्रो पोषण विस्तार अभियानमा साना तथा ठूला उद्यमीहरूको पनि सहभागिता छ । यो सम्मेलनले उनीहरूका लागि स्थानीयस्तरमा पोषण समस्या समाधानको बाटो देखाउनेछ ।
नेपालमा कुपोषणको समस्या समाधान गर्न ठूलो धनराशी खर्च भएको छ । तर, त्यस अनुसार किन प्रगति हासिल भएको छैन ?
कुपोषण कहिल्यै समाधान नहुने समस्या हो । यसको न्यूनीकरणका लागि निरन्तर राजनीतिक प्रतिबद्धता चाहिन्छ । नेपालमा केही राम्रा काम भएका छन् । जस्तो विद्यालय मार्फत पोषिलो खानेकुराको प्रवद्र्धन भएको छ । विद्यालयका खाजाघर मार्फत स्थानीयस्तरमा भएका खानेकुरा दिइनु राम्रो उदाहरण हो । यसले बालबालिकालाई विद्यालयमा आकर्षित गर्न र उनीहरूको स्वास्थ्य सुधार्न भूमिका खेलेको छ । यस्ता कामहरूले पोषणका क्षेत्रमा दिगोपन ल्याउन मद्दत गर्छ । कतिपय अवस्थामा नेपालको मौसम र भौगोलिक अवस्थाले पनि बालबालिकालाई पोषिलो खानेकुराको सहज पहुँचमा पुर्याउन सकेको छैन । यस्तै कारणले सोचे जस्तो प्रगति नभएको हुनसक्छ ।
नेपालको जस्तै समान आर्थिक अवस्था भएका मुलुकहरूमध्ये पोषणका क्षेत्रमा उदाहरणीय काम गरेका देशबाट सिक्ने कुरा के होला ?
जनसाङ्ख्यिक अवस्थामा आएको परिवर्तनले कृषि लगायत क्षेत्रमा असर पुर्याइरहेको छ । त्यसैले नेपालमा कस्तो खालको खानेकुरा र पोषण चाहिएको छ र कसरी पोषिला खानेकुरा स्थानीयस्तरमा पुर्याउन सकिन्छ भनेर निक्र्योल गर्नुपर्छ । पोषणका क्षेत्रमा कतिपय अमेरिकी मुलुकहरूले राम्रो काम गरिरहेका छन् । अफ्रिकी मुलुक रुवान्डाले लैङ्गिक समानताको विषयलाई प्राथमिकतामा राखेर पोषणको क्षेत्रमा काम गरिरहेको छ । त्यसैले त्यहाँ लैङ्गिक समानता र पोषणका क्षेत्रमा निर्धारण गरेका लक्ष्यहरू पूरा भएका छन् । यो कार्यक्रमबाट नेपालले पनि शिक्षा लिन सक्छ । खासगरी नेपालले विकेन्द्रीकरणको अभ्यास शुरु गरेसँगै स्थानीय सरकारहरूले पनि पोषण क्षेत्रमा विभिन्न मुलुकले गरेका सफलताबाट पाठ सिक्न सक्छन् ।