सफिकले रूपन्देही र कपिलवस्तु जिल्लाबाट चैत २०६४ मा ६५ वटा गोरु खरीद गरी रौतहट पुर्याए । त्यहाँबाट सिमाना कटाई भारतको विहार पुर्याउने योजना थियो । सहजै गाई–गोरु कटाउन उनले सशस्त्र प्रहरी बल रौतहटका तत्कालीन प्रमुख एसपी रामकृष्ण लामालाई ‘महीनावारी’ बुझउने गरेका थिए । तर, संविधानसभा निर्वाचनको सँघारमै भएकाले यसपटक एसपी लामाले नै गोरु सीमा कटाउन रोकिदिए । प्रहरीलाई भनसुन गरेर भए पनि सफिक गोरुहरू छिटो सीमापार गराउन चाहन्थे । उनी भनसुनका लागि २७ चैत २०६४ मा साविकको राजपुर फरहदवा गाविस–४ स्थित मोहम्मद आफताव आलमको घर पुगे । आलम रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए । त्यही साँझ् सवा ६ बजे आलमका काका शेख इद्रिसको खलियान घरमा भएको बम विस्फोटमा सफिक घाइते भए ।
विस्फोटमा साविक सरुअठा गाविस–२ का त्रिलोकप्रताप सिंह र वडा नं. ९ का ओसी अख्तर मियाँको मृत्यु भयो । स्थानीयका अनुसार, उक्त घटनामा घाइते र मृत्यु भएका करीब २२ जनालाई आलमले नजिकैको इँटाभट्टामा जलाए । उनले शक्ति र सत्ताको दुरुपयोग गरेर घटनासँग सम्बन्धित अधिकांश प्रमाण नष्ट गराइसकेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा दिएको बयानमा आलमले उक्त दिन घटना नै नभएको दाबी गरेका छन् । यस्तो अवस्थामा प्रहरीका लागि सबैभन्दा महत्वपूर्ण प्रमाण प्रत्यक्षदर्शी सफिक मोहम्मद नै हुन् । उनी एक वर्षसम्म भारतको मोतिहारीमा उपचार गराएर नेपाल फर्किएका हुन् ।
आलम पक्राउ परेलगत्तै सर्लाहीको गोडैटा नगरपालिका–२ स्थित घरबाटै प्रहरीले सफिकलाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री भने सफिकको खोजी भइरहेको बताउँछन् । तर, गोडैटा–२ का वडाध्यक्ष भोला महतोले आलम पक्राउ परेलगत्तै प्रहरीले सफिकलाई उनको घरबाटै नियन्त्रणमा लिएको बताए ।
आलमलाई पक्राउ गर्नुअघि प्रहरीले सफिकसँग उनको घरै पुगेर भिडियो बयान पनि लिएको थियो । हिमाल लाई प्राप्त भिडियो क्लिपमा उनले आफू आलमको घर जानुको कारण र घटना हुँदाको परिवेश सविस्तार बर्णन गरेका छन् । (भिडियोका लागि त्तच् कोर्ड स्क्यान गर्नुहोस्) गोडैटा, सर्लाहीका स्थानीयका अनुसार केही दिनअघि सफिकलाई लिएर प्रहरी पुनः उनको घर खानतलासी गर्न पुगेको थियो । सफिकलाई प्रहरीले लगेपछि उनकी श्रीमती बेपत्ता भएकी छिन् । आलमका मानिसहरूले उनलाई गायब बनाएको स्थानीयको आशङ्का छ । रौतहटका एसपी खत्री भने सफिककी श्रीमती प्रहरीको सम्पर्कमै रहेको दाबी गर्छन् । तर, उनको खोजीका लागि प्रहरी परिचालन गरिएको स्रोतको भनाइ छ ।
प्रहरीले प्रमाण बलियो बनाउनकै लागि घटनामा मारिएका ओसी अख्तर र पिन्टु भन्ने त्रिलोकनारायण सिंहको कपडा, मृतकलाई जलाइएको इँटाभट्टाको खरानी पनि जाँचका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ । पीडितको तर्फबाट बहस गर्दै आएका अधिवक्ता पुष्पराज पौडेल भौतिक प्रमाण नष्ट गरिएको सन्दर्भमा साक्षीले दिने बयान महŒवपूर्ण हुने बताउँछन् । चाल्र्स शोभराजको मुद्दा पनि घटनाका साक्षीले दिएको बयानबाट स्थापित भएको उनको भनाइ छ ।
घाइते र साक्षी खोज्दै प्रहरी
प्रहरीले अहिले घटनाका घाइते, प्रत्यक्षदर्शी र संलग्नहरूको खोजी गरिरहेको छ । घटनापछि खलियान घरको छानो टाल्ने तथा गारो र भुईं मर्मत गर्ने राजपुर नपा–३ बलुवाका ओजाहिर भन्ने सुमान मुसलमान र नुर अहमदसँग पनि प्रहरीले बयान लिइसकेको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर छोडिएको थियो । केही मृतकलाई बम विस्फोट भएको घरमुनि खाल्डो खनेर गाडिएको र माथिबाट प्लाष्टर गरिएको ती कामदारले स्थानीयलाई सुनाएका पनि थिए । एसपी खत्री भने खाल्डो खनेर पुरिएको भनाइ अहिलेसम्म कतैबाट नआएको बताउँछन् ।
जहाँ चुक्यो प्रहरी
पद र शक्तिको दुरुपयोग गरी अपराध गर्दै आएका आलमलाई १२ वर्ष पुरानो घटनामा पक्राउ गरेसँगै प्रहरीको प्रशंसा भएको छ । तर, पक्राउपछि प्रमाण जुटाउन गर्नुपर्ने आधारभूत काम नै प्रहरीले गरेन । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार आलमलाई पक्राउ गरेलगत्तै उनको घरमा छापा मार्नुपथ्र्यो । “आलमसँग अवैध हतियार रहेको कुरा बारम्बार बाहिर आएको थियो, उनीसँग भएका हातहतियार नियन्त्रणमा लिन पनि छापा मार्नुपर्दथ्यो” मल्ल भन्छन्, “प्रहरीले किन छापा मारेन, म अचम्ममा छु ।” स्रोतका अनुसार उनीसँग एके ४७ लगायत हतियार थिए । ती हतियार लुकाउन आलम सफल भएका छन् ।
बम विस्फोटमा जोडिएका अन्य व्यक्ति हुन्, मोहम्मद मोहताव आलम, रोज मोविन आलम र शेख सराज । पीडित रुक्साना खातुन र श्रीनारायण सिंहले दिएको जाहेरीमा उनीहरूको नाम पनि किटान गरिएको छ । तर, प्रहरीले उनीहरूलाई अहिलेसम्म पक्राउ गरेको छैन । आफतावका भाइ हुन्, मोहताव । मोविन र सराज भने आलमका सहयोगी हुन् ।