१० – २३ कात्तिक २०७६ | 27 Oct - 9 Nov 2019

नेपाली साहित्यका अन्तर्राष्ट्रिय दूत

Share:
  
- टीका ढकाल
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने कामको शुरूआत महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै गरेका थिए ।

तस्वीर सौजन्यः नेपाल सांस्कृतिक संघ
कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध कोरा राजनीतिले मात्र निर्धारण गर्दैन । अन्तर्राष्ट्रिय सम्बन्धका बृहत् पाटा छन्; जसमा कला, संस्कृति र साहित्य पनि पर्छन् ।

नेपालबाट अन्तर्राष्ट्रियस्तरमा उभिन सक्ने साहित्यकारको खोजी गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा मात्र भेटिन्छन् । देवकोटा अघि बालकृष्ण समले केही प्रयत्न गरे । समले आफ्ना केही कविता अंग्रेजीमा अनुवाद गरेका थिए ।

देवकोटा भने सीधै अंग्रेजीमै लेख्न सक्थे । आफूले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई आफैंले अंग्रेजीमा अनुवाद पनि गरेका थिए । नेपालमा पनि विश्वस्तरका साहित्य लेखिन्छन् भनेर अन्तर्राष्ट्रिय जगतलाई देखाउनुपर्छ भन्ने उनको अभिलाषा थियो । त्यसै कारण उनी तत्कालीन सोभियत संघको तासकन्द शहरमा आयोजित अफ्रो–एशियाली साहित्य सम्मेलनमा भाग लिन गएका थिए । त्यसअघि पनि उनी भारत, रोमानिया, चीन लगायत देशका साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए । देवकोटाको मृत्युपछि विभिन्न ख्यातिप्राप्त विदेशी साहित्यकारले उनका बारेमा लेखेका छन् । जसमध्ये राहुल सांकृत्यायनले लेखेका सामग्री अलि बढी पढ्न पाउँछौं । तर, देवकोटासँग प्रभावित हुने र उनीबारे लेख्ने सांकृत्यायन मात्र थिएनन् ।

भारतीय साहित्यकार डम मोरेले देवकोटालाई सन् १९५९ मा उनको अन्तिम क्षणमा काठमाडौंमै भेटेका थिए । त्यतिवेला उनी मात्र २० वर्षका थिए । अक्सफोर्ड विश्वविद्यालय पढेका उनले धेरै मूर्धन्य व्यक्तिहरूलाई भेटिसकेका थिए ।

सन् १९५७ मा बेलायतको पहिलो ‘हथोन्डेन पुरस्कार’ पाउने पहिलो विदेशी लेखक उनै थिए । वास्तवमा बाहिरी दुनियाँमा देवकोटालाई चिनाउने नै मोरेको संस्मरण ‘डाइङ पोएट’ हो, जुन उनको पुस्तक ‘गन अवे’ मा छापिएको छ । उक्त पुस्तक देवकोटाको मृत्यु लगत्तै १९६० मा छापिएको थियो ।

मोरेले सन् १९९४ मा भारतीय साहित्य एकेडेमी पुरस्कार पनि पाए । त्यो वेलासम्ममा इएम फोस्टर, डब्लुएच अउडेलन लगायतले उनलाई महान् लेखक भन्न थालिसकेका थिए । मोरेले सन् १९९२ मा ‘नेभर एट होम’ संस्मरण लेखे । यसमा उनले “३२ वर्षअघि ‘गन अवे’ पुस्तक लेख्ने क्रममा भेटेका दुई व्यक्तिको चर्चा गर्नुपर्दा नेहरू र लक्ष्मीप्रसाद देवकोटा सम्झन्छु” भनेर लेखेका छन् । डम मोरेमा देवकोटाको अविस्मरणीय छाप परेको बुझिन्छ ।

सन् १९८० मा कोलम्बिया युनिभर्सिटीका प्राध्यापक डेभिड जर्ज रुबिनले ‘नेपाली ड्रिम्स नेपाली भिजन्सः द पोएट्री अफ लक्ष्मीप्रसाद देवकोटा’ पुस्तक लेखेर देवकोटालाई अन्तर्राष्ट्रिय साहित्यमा थप चिनाएका छन् । पुस्तकमा देवकोटाका ४५ वटा कविताका अंग्रेजी अनुवाद पनि छन् । अनुवादका लागि झन्डै ६ महीना काठमाडौं बसेका उनले इतिहासविद् महेशराज पन्तसँग सहयोग लिएका थिए । देवकोटा सम्बन्धी उनको पुस्तक अहिले कोलम्बिया विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साहित्य अन्तर्गत पढाइ हुन्छ ।

नेपाली साहित्यमा रुचि राख्ने बेलायतका माइकल हटले पनि देवकोटालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेलेका छन् । उनले सन् १९९६ मा ‘मुनामदन’ को अनुवाद गरेका थिए । हट स्कूल अफ एशियन अफ्रिकन स्टडिज, यूनिभर्सिटी अफ लण्डनको भाषा र साहित्यका प्राध्यापक हुन् ।

ल्युदमिला आगानीनाले देवकोटालाई रूसमा चिनाउने काम गरेकी थिइन् । आगनीना तासकन्द सम्मेलनमा देवकोटाकी दोभाषे थिइन् । त्यहाँ जानुभन्दा केही समयअघि देवकोटाले भारतमा पेटको क्यान्सरको शल्यक्रिया गराएका कारण उनको स्वास्थ्य कमजोर थियो । यसै कारण रूसी सरकारको अनुरोधमा उनी उपचार गराउन थप एक महीना उतै बसे । त्यसै क्रममा आगानीना देवकोटासँग निकट भइन् । उनले देवकोटाको निधनपछि नेपाली भाषा साहित्यमा नै विद्यावारिधि गरिन् । देवकोटाका केही कविता रूसी भाषामा अनुवाद गरेर छपाइन् । नेपाल–रूस मैत्री संघको अध्यक्ष पनि भएकी उनको सन् २०१२ मा मृत्यु भयो ।

नेपालको सौम्य शक्तिको एउटा तत्व साहित्य हुनसक्छ भने त्यसको सद्भावना दूत महाकवि देवकोटा नै हुन् । उनी नेपाली साहित्यका अन्तर्राष्ट्रिय ध्वजावाहक हुन् । देवकोटाकै पालामा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुन थालेको थियो । तर, त्यसपछिको नेपाली साहित्यले उनको पदचाप पछ्याउन सकेन ।

comments powered by Disqus

रमझम