३ कात्तिक २०७० | 20 October 2013

खुशीको खोजी

Share:
  
- प्रा. चैतन्य मिश्र
सुख र खुशी निजी वा व्यक्तिगत भए पनि राज्यले लिने नीतिले हाम्रो सुख वा दुःख निर्धारण गर्छ ।

मीनरत्न बज्राचार्य
बौद्ध विहारको घुमघाममा रमाउँदै काठमाडौंकी सुनीता शर्मा ।
सुख–खुशी मानिसको अन्तिम गन्तव्य हो । मानिसलाई पैसा चाहिन्छ । तर, पैसा खान हुँदैन । पैसा सुख प्राप्तिको बाटो भने बन्न सक्छ । पैसा कमाउनु, पढ्नु र शक्ति आर्जन गर्नुको उद्देश्य सुख प्राप्ति नै हो ।

तर, सुखको परिभाषा दिन सजिलो छैन । सुख भनेको के हो भनेर सोच्दै जाँदा चार परिभाषाहरू सम्झ्ना आउँछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्ः

*खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ

आफू मिटाई अरूलाई दिनु जहाँ छ*

आफूसँग नहुँदा पनि अरूलाई दिनु र दान दिएर खुशी हुनु सुख प्राप्त गर्ने एउटा विधि हो ।

यसको विपरीत अर्थ दिने पन्ध्रौं शताब्दीको अर्को भनाइ छः ‘यावत् जिवेत सुखं जिवेत्, ऋणं कृत्वा घृतं पिवेत्’ अर्थात् जसरी भए पनि सुखसँग जिउनु, ऋण गरेर भए पनि घिउ नै पिउनु ।

तेस्रो परिभाषा छः ‘जीवन दुःखको घर हो; सुख देवलोक अर्थात् स्वर्गमा मात्रै छ ।’ अर्थात् यो लोकमा सुख छैन, स्वर्गमा दैवसँग मिलन भएपछि मात्रै सुख प्राप्त हुन्छ ।

चौथो, अहिले नेपालको परिवेश हेर्ने हो भने, सुख संविधानसभाको चुनावमा मात्र छ जस्तो लाग्छ । सारा संवाद, दल, मिडियाको ध्यान त्यसमै छ । मानौं त्यो नहुँदा नेपालीको भविष्य हुँदैन र सबैले सुख होइन दुःख पाउँछन् ।

सुखका आ–आफ्नै परिभाषा

विभिन्न धर्मले सुखका बारेमा भिन्न व्याख्या गरेका छन् । बौद्ध धर्मले सुख प्राप्त गर्नेभन्दा दुःख हटाउने तरीकाबारे धेरै बताउँछ । बुद्धका आठ सम्यक् आदर्शले दुःख निवारण गर्ने तरीका बताउँछन् । बुद्ध धर्ममा आदर्श, दृष्टि, आकांक्षा, वचन, कर्म अर्थात् जीविकोपार्जन, यत्न, सोच र ध्यान गरी आठ मार्गले दुःख निवारण गर्छन् भनिएको छ । दुःखमय यो लोकबाट पार पाउन मानिसले ती आठ मार्ग अँगाल्नुपर्ने र तिनै मार्गबाट निर्वाण वा स्थायी सुख प्राप्त हुन्छ भनिएको छ, त्यहाँ ।

हिन्दू धर्मले सुखको बाटोबारे धेरै परिभाषा नदिए पनि अनेकौं ग्रन्थले त्यसबारे केही भनेकै छन् । मानव जीवनको लक्ष्य धर्म, अर्थ, काम र मोक्ष रहेको बताउँदै ती ग्रन्थले धर्मले सामाजिक सम्बन्ध र कर्तव्य, अर्थले वस्तु, धन र बुद्धि, कामले इच्छा र चाहना तथा मोक्षले मुक्ति वा निर्वाण प्राप्त हुने परिभाषा दिन्छन् । भक्तियोग, ज्ञानयोग, कर्मयोग र राजयोगबाट मानिसले जीवनको उद्देश्य प्राप्त गर्ने पनि ती ग्रन्थको भनाइ छ । २५ वर्षसम्म ब्रह्मचर्य, त्यसपछि गृहस्थाश्रम हुँदै वानप्रस्थ र अन्त्यमा सन्न्यास गरी मानिसले चार वटा चरणमा जीवन बिताउँदा सुःख प्राप्ति हुने ती ग्रन्थहरूको व्याख्या छ ।

क्याथोलिक धर्मले ईश्वरसँगको लगावबाट सबैभन्दा धेरै सुख पाइने बताउँछ । क्रिश्चियन धर्मावलम्वीले ईश्वरलाई सम्झ्ँदै प्रार्थना गर्नुको कारण त्यही हो । इस्लाम धर्मले मृत्युपछि मात्रै दिगो सुख प्राप्त हुने र सुखको बगैंचामा पुगिने मान्यता राख्छ । सुखको बगैंचामा पुगेपछि भौतिक देहले दैविक सुख पाउने र अल्लाहको साथ पनि पाउने मान्यता त्यो धर्मको छ ।

भौतिक र अध्यात्मिक सुख

सुख दुई प्रकारका हुन्छन्, भौतिक र अध्यात्मिक । विभिन्न धर्मले गरेका व्याख्याहरूको संश्लेषण गर्दा यो बुझ्न्छि । भौतिक सुखलाई सजिलै बुझ्न र व्याख्या गर्न सकिन्छ भने अध्यात्मिक सुख व्यक्तिको स्वभाव र समाज, प्रकृति र कसैको लागि ‘देवलोक’ सँगको सम्बन्धको चरित्रले निर्धारण गर्छ । अध्यात्मिक सुख, सामाजिक सम्बन्ध, उत्साह, जस्ता भावनात्मक विषयसँग सम्बन्धित हुन्छ । भौतिक र अध्यात्मिक सुखलाई व्यक्तिगत, सामाजिक, आर्थिक र राजनीतिक गरी विभिन्न तहमा हेर्न र बुझ्न सकिन्छ ।

भौतिक र अध्यात्मिक सुख व्यक्तिगत तहमा हरेक मानिसले महसूस गर्न सक्छ । तर, कुनै पनि व्यक्ति समाजद्वारा निर्मित हुने र समाजको बृहत् रूप विश्वको राजनीतिक, आर्थिक र सामाजिक परिपाटीले व्यक्तिगत तहको भौतिक र अध्यात्मिक खुशी प्राप्त हुने या नहुने हुन्छ । व्यक्तिगत सुख आफैं प्राप्त नभएर निर्माण गर्नुपर्छ । जसका लागि राजकीय पक्ष र अर्थतन्त्र अनुकूल हुनु आवश्यक हुन्छ ।

सुख र दुःखको परिभाषा राजनीतिक दर्शन अनुसार फरक–फरक हुन्छ । लोकतन्त्र, साम्यवाद, समाजवाद, पूँजीवाद आदिका विवाद के ले सुख दिन्छ र के ले दुःख दिन्छ भन्नेसँगै सम्बन्धित छन् । अरू देशमा जस्तै नेपालमा पनि लोकतन्त्रले मानिसलाई खुशी दिन सक्छ कि सक्दैन भन्ने बहस चलिरहेको छ । मोहन वैद्यहरू संविधानसभा र लोकतन्त्र मार्फत नभएर अर्कै बाटोबाट सही राजनीतिक परिपाटी र सुख प्राप्त हुन्छ भन्दैछन् । ‘लोकतान्त्रिक व्यवस्था छल गर्ने बाटो र खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ हो भन्ने र यसले दुःख दिन्छ भन्ने निष्कर्ष वैद्यहरूको छ । अरूहरू चाहिं त्यो धारणाका विपक्षमा देखिन्छन् । भौतिक तहमा व्यक्तिगत सुख सामाजिक, आर्थिक र शारीरिक सुरक्षासँग गाँसिएर आउँछन् । घरमा वा बाहिर निस्कँदा चोरिने वा आक्रमणमा परिने खतरा देख्दासम्म हामीलाई सुख हुँदैन । खाना भएन भने ईश्वरको भक्ति गरेर सुखी हुन सकिंदैन । काम पाइने र न्यूनतम आवश्यकता पूरा हुने राजनीतिक र आर्थिक व्यवस्था हुँदा मात्र मानिस सुखी हुन सक्छ ।

सुखका लागि रोजगार मुख्य तत्व हो । रोजगारी नभएको मानिससँग आफ्नो ल्याकत देखाउने ठाउँ हुँदैन । रोजगारीसँग आम्दानी जोडिन्छ । पूँजीवादी समाजमा हामीलाई जताततै पैसा आवश्यकता पर्छ र पैसा नहुँदा हामी ‘अपाङ्ग’ बन्छौं । तर, पैसा खुशी प्राप्त गर्ने महत्वपूर्ण साधन भए पनि त्यसले मात्र खुशी दिंदैन ।

सामाजिक सम्बन्धको चरित्रले हामीलाई खुशी वा दुःखी तुल्याउँछ । धन, जागीर सबै भएको मानिस परिवार नभएर एक्लो छ, परिवार र आफन्त भए पनि उनीहरूसँग राम्रो सम्बन्ध छैन भने खुशी हुन सक्दैन । असल सामाजिक सम्बन्ध सुखको महŒवपूर्ण शर्त हो । आर्थिक र भौतिक रूपमा सम्पन्न मुलुकहरूमा सामाजिक सम्बन्ध फितलो भएकाले धेरै मानिस दुःखी हुन्छन् । व्यक्तिगत स्वतन्त्रता सुखको अर्को शर्त हो । डोरीले नबाँधे पनि यो गर, त्यो नगर भनेर बाबु–आमा वा अरू कसैले बन्धनमा पार्यो भने हामी सुखी हुन सक्दैनौं । हामीले लोकतन्त्र रोज्नु पनि स्वतन्त्रताका लागि नै हो । तर राज्यले दिएका अधिकार पनि दलित, महिला लगायत कतिपय समुदायले लिन नसकेको अवस्था छ । अधिकार लिने सामथ्र्य नहुँदा पनि हामी खुशी हुन सक्दैनौं ।

हामी कहाँ छौं ?

को कति खुशी छन् भनेर विश्वव्यापी रूपमा अध्ययन पनि हुने गरेको छ । त्यस्ता अध्ययनहरूले नेपालको अवस्थालाई अन्य मुलुकहरूको बीच–बीचमा देखाएका छन्, न धेरै खुशी न धेरै दुःखी । डेनमार्क, नर्वे, फिनल्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड लगायत देशका मानिसहरू धेरै खुशी रहेको अध्ययनहरूको निष्कर्ष छ । तर, ती अध्ययनमा अध्यात्मिक सुखको मापन गरिएको छैन ।

हामी नेपालीहरू पनि पहिलेभन्दा केही सुखी नै देखिएका छौं । पारिवारिक आय बढेको छ । मानिसहरू पहिलेभन्दा धेरै पढेका र सचेत भएका छन् । तर, बढेको सचेतनताले कहिले दुःखी बनाउँछ भने कहिले खुशीको बाटोमै रहेको महसूस गराउँछ । पहिलेको तुलनामा बाल मृत्युदर कम भएको छ । छोराछोरी नमर्दा आमाको दुःख कम भएको छ । म आफू स्कूल पढ्ने समयमा एकतिहाई बच्चाको मृत्यु हुन्थ्यो । अहिले एक हजारमा ६० बालबालिकाको मात्र मृत्यु हुन्छ । मेरी आमाका १३ जना सन्तानमा अहिले हामी तीन जना मात्र बाँचेका छौं । त्यो वेला नेपालीको औसत आयु ४२ वर्ष थियो भने अहिले ६९ वर्ष पुगेको छ । औसत आयु २७ वर्ष बढ्नु सामान्य कुरा होइन । गरीबी घटेरै यो सम्भव भएको हो । सरुवा रोग नियन्त्रण, खोप, सरसफाई, शिक्षा आदिको विस्तारले पनि यो संभव बनेको हो । थोरै हदमा भए पनि जनउत्तरदायी राजनीतिको परिणाम हो यो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनमा नेपाल अहिले पनि धेरै तल छ । तर सन् १९८० देखि २०१० सम्ममा विश्वका सबै मुलुकमध्ये कुन देशले धेरै प्रगति ग¥यो भन्दा नेपालकै नाम सबैभन्दा अघि आउँछ । यो उल्लेखनीय प्रगतिलाई विश्लेषण गरेर भविष्यका लागि सही बाटो पहिल्याउन सकिन्छ ।

नेपालको फूटबल टोलीले भारतलाई हराउँदा खुशीको लहर छायो भने अफगानिस्तानसँग हार्दा दुःखी बनायो । तर, वर्षौंसम्म युद्धमा फँसेको अफगानिस्तानले जित्दा हामी पनि भविष्यमा जित्न सक्छौं भन्ने आशा जगाएको छ । हाम्रो कमजोरी के हो भने, विद्यार्थीहरूलाई आशा जगाउने गरी हामीले कहिल्यै पढाएनौं । नेपाल गरीब थियो भन्ने मात्र पढाइयो । नेपालको राम्रा दिन कहिल्यै आएनन् भन्ने गलत निष्कर्ष सुनाइयो । यस्तो निष्कर्षले थिचिंदा हामी सम्पन्न हुन सक्छौं भनेर कल्पना गर्न कठिन बन्यो ।

वास्तवमा तेह्रौंदेखि सत्रौं शताब्दीसम्मको काठमाडौंको मठमन्दिर, धारा, बाटोघाटो, ढल आदि हेर्ने हो भने ५०० वर्षअघि काठमाडौं संसारकै समृद्ध ठाउँहरूमध्ये थियो भन्न सकिन्छ । यो सत्यले हामी त्यस्तै अवस्थामा पुग्न सक्छौं भन्ने आशा समेत जगाउँछ ।

भारतलाई सिनेमा, क्रिकेट जस्ता विषयले दिगो खुशी दिंदै जोडेको छ । हामीलाई पनि दशैं जस्ता चाडपर्वले खुशी दिएका छन् । पार्क, मलहरूमा घुम्न जाने र रमाउने चलन हाम्रोमा पहिले थिएन । रोपाइँ, जात्रा, रोदीमा रम्थे । विदेशमा जस्तो सार्वजनिक पार्क र भौतिक संरचना बनाउन हामी समर्थ छैनौं । सार्वजनिक क्षेत्र गरीब छ, निजी क्षेत्र धनी । मार्बल लगाएको घर पुग्ने बाटो हिलाम्मे रहेको देखेर विदेशी साथीहरू छक्क पर्छन् ।

भोलि राम्रो हुनेछ र सबै सुख विस्तार हुनेछ भन्ने सवै नेपालीहरूको आशा छ । तर यस्तो हुन्छ वा हुँदैन, राजनीति र अर्थतन्त्रमा आउने परिवर्तनको चरित्रले निर्धारण गर्नेछ । राज्यले लिने दिशा र गति सकारात्मक हुँदा मात्र आम नेपाली खुशी र सुखी हुन सक्छन् ।

comments powered by Disqus

रमझम