३ कात्तिक २०७० | 20 October 2013

सुख–दुःख इत्यलम्

Share:
  
- कमलमणि दीक्षित

www.oldindianphotos.in
वि.सं. १९३६÷३७ ताका खिचिएको तस्वीरमा कोक्रोमा बच्चा बोकेकी एक नेपाली महिला ।

हाम्रा महाकविले भनेथेः ‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ’ अनि जवाफ पनि आफैंले दिएका थिएः ‘आफू मिटाई अरूलाई दिनू जहाँ छ’ भनेर । यो त अलि बढ्तै माथिल्लो तहको कुरा भयो, सर्वसाधारणले सुख खोज्न आफैंलाई मेटाउने आँट कहाँ गर्छन् र ! अलि तल ओर्लेर विचार गरुँ । दिनु या दान गर्नु भनेको सुखी हुने यौटा बाटो हो अवश्य, तर दिने कल्लाई या केलाई ? महाभारतमा भीष्म पितामहले हो क्यारे युधिष्ठिरलाई भनेका थिए, “दरिद्रान् भर कौन्तेय मा प्रयच्छेश्वरे धनम् । व्याधितस्यौषधं पथ्यं, नीरुजस्य किम् औषधैः ।। (विपन्नहरूलाई देऊ, सम्पन्न व्यक्तिलाई होइन । बिरामीलाई पो औषधि काम लाग्छ, निरोगीलाई औषधि किन चाहियो ?)” यो लेखाइ कमल दीक्षितको होइन । कदीले यस्तो आध्यात्मिक लेख कैल्यै लेख्न सक्दैन । तर, फसाद के प¥यो भने हिमाल का सम्पादकले मलाई भन्नुभयो, “यस दशैंको अंकमा हामी ‘कसरी सुख पाउने ?’ भन्ने विषयमा जाने भयौं, त्यसमा तपाईंको यौटा लेख चाहियो ।” कस्तो अभौतिक, ‘याब्स्ट्र्याक्ट’ विषय छानेको भनेर आफ्नो विमति जनाए पनि मैले त्यसैमा नलेखी सुख थिएन ।

क्यै लेख्नै परेपछि, कुनै सामल पाइन्छ कि भनेर पैले त म साबिक बमोजिम मपुपुभित्र छिरें । शीर्षकमा ‘सुख’ परेका एक दर्जन जति पुस्तक देखिए त्यहाँ, तर ती सबै आध्यात्मिक खालको लागे मलाई । क्षितिशचन्द्रको ‘सुखको बाटो’ या शिवगोपालको ‘सुख कहाँ छ ?’ अथवा किशोर नेपालले अणुव्रतका बारेमा लेखेको ‘सुखी जीवन’ सबैले मानसिक सुखलाई नै इङ्गित गरेका छन् । भौतिक सुख खोज्न त कि तुलसीराम कुँवरको ‘सुखी संसारको परिकल्पना’ पढ्नुपर्यो कि ‘सुखको खोजी’ गर्ने स्वेट मर्टेनको अनूदित ग्रन्थ नै हेर्नुपर्यो । कि पौराणिककालदेखि भौतिक सुखको प्रतिपादन गर्ने चार्वाकलाई सोध्नुपर्यो ! किनभने प्राचीन ऋषिहरूमा उनी एक जनाले मात्र हिम्मत गरेर भन्न सकेका थिए, “स्वर्गमा गएर सुखभोग गर्ने विचार छाड, सुख गर्ने भनेको यसै संसारमा हो, ऋण गरेर पनि रमाइलो गर, मरेर गएपछि क्यै बाँकी रहँदैन । स्वर्ग नर्क भन्ने कुरा बकबास मात्र हो ।” यसरी एउटा ऋषि र अरू ऋषिका कुरा बाझ्न्छिन् । अब हामीले कुन चाहिंका कुरा मान्ने ? त्यसै हुँदा म ऋषिमुनिका कुरालाई छाडेर सबभन्दा भौतिक कुरा गर्ने संयुक्त राष्ट्रसंघतर्फ नै लागें ।

संसारका सब राष्ट्र र संसारभरिका मान्छेको प्रतिनिधित्व गर्ने संरासं, अर्थात् ‘यूएन’ ले सन् २०१० तिर एउटा अध्ययन गरायो संसारभरको ‘सुख–शान्ति’ (ह्याप्पिनेस) को र त्यसको प्रतिवेदन सार्वजनिक गरियो ‘ग्लोबल रिपोर्ट अन ह्याप्पिनेस, २०१०–१२’ भन्ने । त्यसले भन्छः विश्वमा सबभन्दा ‘सुखी’ देश डेनमार्क हो रे, र सबैमा कम सुखी अफ्रिकाको टोगो रे– १५६औं । यो गन्तीमा नेपाल भने १३५औं नम्बरमा परेको छ अनि भारत १११ मा । यस गणनामा यूके २२ नम्बरमा र युएस १७ नम्बरमा देखिन्छन् अनि रसिया ६८ मा । भूटान कुन नम्बरमा परेको छ थाहा भएन, तर भूटानका जिग्मे सिंगे वाङचुकले संरासंले यो सुख–तथ्यांक–गणना गर्नुभन्दा धेरै अघि, सन् १९७२ मै आफ्नो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई ग्रस नेशनल ह्याप्पिनेस (जीएनएच) नाम राखी आफ्ना प्रजा कति सुखी छन् भनेर प्रचार गर्न थालेका थिए । तर त्यसको उद्देश्य सद्भावयुक्त थिएन । भूटानले त्यो सुख या ‘ह्याप्पिनेस अंक’ खोज्नलाई अथवा संरासंले ‘ग्लोबल रिपोर्ट अन ह्याप्पिनेस–परिसूचकांकसम्म पुग्न के के तत्व समावेश ग¥यो त्यो हामीलाई थाहा छैन । त्यस्तै हामी कसरी १३५ मा धकेलियौं त्यो पनि हामीले बुझेका छैनौं । भनेपछि हामी आफैंले देशको सुखानुभूति–परिसूचकांकको हिसाब निकाल्न किन प्रयास नगर्ने ?

संरासंको गणनालाई चोखै राखूँ । अनि २०७० सालमा हामी १३५औं नै छौं भन्ने समेत मानेर अघि बढौं । उसो भए, हामी नेपालीहरू एकको अंकमा अथवा त्यति नभए पनि १० देखि २० भित्र कैले थियौं होला ? कल्पना गरौं, (कल्पना त गर्न पाइन्छ नि !) महाभारतकालमा हामी कहाँ थियौं ? कुरुक्षेत्रतिर त पुगेकै रहेछौं, भनेपछि लडाईं झ्गडामा हामी कैल्यै निरपेक्ष भएनछौं । सुख त त्यहाँ भएन नै होला । ऐतिहासिक समयमा पुगेपछि भने गोपालवंश, महिषपालवंश र किरातकाल समेत बेहोरे काठमाडौंवासीले । पाटनको क्वाल्खूको भुईंमुनिबाट कसरी हो अरिंगाल निक्लेर किरातीहरूलाई धपाएपछि दक्षिणबाट आएका लिच्छविहरूले नेपालको शासन गरे निकै शताब्दीसम्म । तर, नेपालको संस्कृति, स्थापत्य र कलाको स्वर्णयुग मानिने त्यो लिच्छविकालमा हामी नेपाली जनताचाहिं कत्तिको सुखी थियौं त्यो थाहा छैन । त्यसवेलाका कविजीहरूलाई पत्याउने हो भने प्रजा अर्थात् जनता पनि अति नै सुखी थिए रे । त्यल्लाई पनि मानिलिऊँ । तर त्यसवेला समेत हामी सुख–सूचकांकमा धेरै तलको अंकमा थियौं होला जस्तो लाग्दैन । ‘सकस’ का जगदीश घिमिरे भन्नुहुन्छ, “नेपाली जनता जैले पनि सकसमै थियौं शासकहरूको खुट्टामुनि, ऐले जस्तै ।”

अब अलिकता व्यक्तिगत कुरा गरुँ । भनौं ‘हिमाल’ का किरण नेपालले मलाई “नेपालीहरू कैले सबभन्दा सुखी थिए भन्नुस्” भनेर सोध्नुभयो रे ! जवाफमा म के भनुँला ? म भनिदिउँला अत्यन्त ‘प्रतिक्रियावादी’ र ‘पुरातनपन्थी सामन्ती’ भएर, एकक्षण पनि नसोची ‘राणाकालमा’ । त्यसो भन्नलाई मसँग यौटा अमोघ अस्त्र हुनेछ एक जना पुराना अंग्रेज कविको यौटा सूक्ति । टमस ग्रे (१७१६–१७७१) ले भनेका थिए “ह्वेन इग्नरेन्स इज ब्लिस, टि’ज फूलिस टु बी वाइज” (अज्ञानमै आनन्द छ भने क्यै बुझन खोज्नु मूर्खता हो) । मेरो भनाइको तात्पर्य के हुनेथियो भने नेपाली प्रजाजन राणाका र शाहका पाउको धूलो हुनुमै आनन्दित थिए, उनका ‘छत्रछायाँ’ मा बस्न पाउँदा नै प्रशन्न थिए, सन्तुष्ट थिए । आफूहरूसँग के छैन, आफूमा के के को अभाव छ उनलाई पत्तै थिएन । जे थियो त्यसैमा उनीहरू दङ्ग थिए । उनका आवश्यकता पनि सीमित थिए, त्यसै हुँदा मागहरू पनि न्यून । के पुगेको छैन भन्ने मलाई नै थाहा नभएपछि कसरी माग्ने ? त्यसैले नेपालका प्रजा सुखी थिए, यो हुन्थ्यो मेरो आशय ।

अब विचार गरुँ वास्तवमा सुख भनेको के त ? यसको सोझे परिभाषा त सजिलै छः ‘सुख भनेको मन खुशी हुने स्थिति’ अर्थात् मानसिक आनन्द हो । त्यो कसरी आउँछ ? भनूँ– जीउ स्वस्थ रहिरह्यो भने र मनमा शान्ति भैरह्यो भने मान्छेलाई आनन्द प्राप्त हुन्छ । तर, त्यही आनन्दलाई पनि विभिन्न नाम दिएका छन् जान्नेहरूले । कोही परमानन्द भन्छन् कोही महानन्द । ‘चरमानन्द’ भन्नेहरू पनि छन् । त्यस्ताले भने मादक पदार्थले दिने सुखलाई र अझ् यौनसुखलाई समेत चरमानन्द मान्दछन् । अझ् जान्नेहरू भने त्यस्ता किसिमका आनन्द क्षणिक मात्र हुन् भन्छन् । उनीहरूचाहिं ब्रह्मानन्दलाई चरमानन्द मान्छन् र त्योचाहिं समाधिमा मात्र प्राप्त हुन्छ रे । तर, त्यहाँसम्म मेरो प्रवेश छैन । आफूलाई थाहा नभएका र आफ्नो गति नभएका कुरामा म किन कपाल दुखाऊँ ? सुख–दुःख इत्यलम् !

comments powered by Disqus

रमझम