३ कात्तिक २०७० | 20 October 2013

ठाउँ फेरी–फेरी दशैं

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
नौरथाको नौ दिन दुर्गा भवानीको पूजा–आराधना गरेर दशौं दिनमा विजय दशमीको टीका थापी मनाइने दशैं वस्तुतः पारिवारिक मेलमिलाप र मिलनको चाड हो ।

बिक्रम राई
पर्यटकीय गन्तव्य बनेको छ, तनहुँको बन्दीपुर ।

हामी नेपालीलाई दशैंले एकआपसमा आवद्ध हुँदै सद्भाव फैलाउने अनि उत्सवी माहोलको आमोद–प्रमोद छोप्न सिकाउँछ । ऋण काढेरै भए पनि राम्रो लगाउने, मीठो खाने अनि रमाइलो गर्ने यो चाड लामो विदाको राष्ट्रिय पर्व पनि हो । दशैंमा वर्षभरिको सबभन्दा लामो विदा पाएर विद्यार्थी, मजदूर, कर्मचारी एवं व्यापारीहरू भौगोलिक पीडाबाट मुक्त हुन आफ्नो कुलदेवता भएको घर फर्केर कुलभोज खान्छन् ।

काठमाडौंका नेवारहरू अष्टमीको भोजलाई ‘कुछीभ्वय्’ भन्दछन् । धर्म–संस्कृतिको पावन्दीले गर्दा कुल र जातभात मिल्ने नाता कुटुम्ब बाहेक अरूलाई जमरा कोठामा प्रवेश निषेध हुन्छ । कुलभोजमा पनि बाहिरिया सदस्यहरूलाई समावेश गरिंदैन । तर, आफ्नो कुलधर्म र कुलपूजामा अरू समुदायलाई अस्वीकार गर्ने संस्कृतिलाई आधुनिक नेपाली समाजले बहिष्कार गर्न थालेको छ । परिवर्तित नेपाली समाजको एकै परिवारभित्र पनि अन्तरधार्मिक, अन्तरभाषिक र अन्तरसांस्कृतिक पृष्ठभूमिका सदस्यहरू समावेश छन् ।

लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको क्रममा जातीय, भाषिक वा भौगोलिक विविधताका नाराले विभाजनका रेखा कोर्न थाले पनि युवापींढीका प्रेमबन्धनले तिनलाई लत्याइसकेको छ । भारतीय कवि हरिवंश राय बच्चनको ‘वैर कराती मन्दिर मस्जिद, मेल कराती मधुशाला’ हाम्रै परिवारभित्र चरितार्थ हुन थालेको छ ।

शहरी क्षेत्रका कतिपय नेपाली परिवार फरक जाति, धर्म वा भौगोलिक पहिचानबाट बनेका छन् । भोट, हिमाल, पहाड, मधेश वा तराईका बासिन्दा एकै परिवारमा भेटिन्छन् । दशैंको कुलभोजमा लहरै बस्ने नातेदारहरूमा हिन्दू, बौद्ध, शिख, इसाई वा इस्लाम जस्ता फरक धर्मका मान्छे हुन थालेका छन् । अष्ट्रेलिया, यूरोप, अमेरिका वा अफ्रिकाका मान्छे पनि पारिवारिक सदस्यको रूपमा भेटिन थालेका छन् । वस्तुतः हामी आफ्नो परिवारभित्र मान्छे भेट्दैछौं, मान्छे–मान्छेभित्रको भेदभाव हैन । त्यसैले, दशैंको हृदयलाई विशाल भन्दा विशाल बनाउने अवसर हामीलाई जुरेको छ ।

थपौं नयाँपन दशैंमा

दशैंको लामो विदा र परिवारको सुखद् मिलनलाई अरू आनन्दी बनाउने एउटा उपाय घुमफिर पनि हो, जसलाई आजभोलि गाउँ पर्यटन वा आन्तरिक पर्यटन भन्न थालिएको छ । कतिपय धनीमानी परिवार भारत, थाइल्याण्ड, मलेशिया, सिंगापुर, दुबई वा यूरोप र दक्षिण अफ्रिकातिर पनि निस्कन थालेका छन् । आम नेपालीका लागि भने स्वदेशभित्र विश्व सम्पदा सूचीमा परेका सांस्कृतिक धरोहर एवं प्राकृतिक सम्पदा हेर्ने अवसर पनि जुर्न सकेको हुँदैन । तसर्थ, दशैंको विदाको सार्थकता आफ्नै देश दर्शनमा खोज्ने हो कि भन्ने तात्पर्य जोड्ने जमर्को गर्दैछु, यो दशैंमा ।

मनसुन पछि खुल्दै गएको शारदीय आकाशले रंगीविरंगी चंगालाई स्वागत गर्ने र लिंगे पीङको मच्चाइमा मज्जा लुट्ने दशैंको मौसमलाई घुमफिरको अवसरमा परिणत गर्ने थुप्रै सम्भाव्यता छन् । सन् १९९८ को नेपाल भ्रमण वर्षका द्रष्टा कर्ण शाक्यको होस्टेमा हैंसे गर्दै आन्तरिक पर्यटनको नयाँ क्षितिज खोल्न सफल दीपेन्द्रपुरुष ढकाल र नेपाल पर्यटन बोर्डको प्रयासले गर्दा जिल्ला जिल्लामा नयाँ–नयाँ पर्यटकीय स्थलहरूको पहिचान भएको छ । सडक सञ्जाल, हवाई यातायात र सञ्चार सुविधासँगै सञ्चारमाध्यममा आन्तरिक पर्यटनका पानाहरू दिनदिनै थपिंदै गएका छन् । आन्तरिक पर्यटनका पुस्तक–पुस्तिका एवं नियात्रा वर्णनहरू पनि उत्तिकै आइरहेका छन् । पर्यटन उत्सव तथा महोत्सवहरू देशव्यापी रूपमा हुँदै छन् ।

यस्तो परिवेशको लामो विदामा सपरिवार कुनै रमणीय स्थलमा गएर गाउँ पर्यटन (होमस्टे) को अवधारणामा दशैं मनाउँदा नौलो आनन्द प्राप्त हुनेछ । डा. प्रेम शर्माद्वारा सम्पादित पुस्तक ‘गाउँ पर्यटन’ मा २०७० साल जेठ महीनासम्म दर्ता भएका होमस्टेको नाम, ठाउँ, सञ्चालक, बेडरूम संख्या र सम्पर्क टेलिफोन नम्बरको फेहरिस्त छ । ‘गाउँ पर्यटन’ मा सामुदायिक ४८, निजी ३६ र अन्य ४ गरेर ८८ वटा होमस्टेका गन्तव्य भेटिन्छन् । गाउँ पर्यटनमा सिरुवारी, बन्दीपुर, ककनी, गोरखा, लुम्बिनी, चितवन, पोखरा, इलाम र काठमाडौं उपत्यकाको सरोफेरोमा रहेका गाउँ वस्तीहरूको नाम उल्लेख छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च र नेपाल पर्यटन बोर्डद्वारा प्रकाशित सामग्रीहरू हेरेर पनि यसपालिको दशैं कहाँ मनाउने भन्ने निर्क्यौल गर्न सकिन्छ ।

देशमा होस् वा विदेशमा, नेपालीहरू प्रायः आफ्नो राष्ट्रको पहिचान जनाउन बुद्ध र सगरमाथाको नाम लिन्छन् । विश्वसुन्दरीको प्रतिस्पर्धामा उत्रेकी इशानी श्रेष्ठले पनि भरखरै त्यसै गरिन् । अरूले ‘तिमी सगरमाथा पुगेका छौ वा लुम्बिनी पसेका छौ’ भनेर सोधिहाल्यो भने चाहिं कतिपय नेपाली अप्ठ्यारोमा पर्न सक्छन् । त्यसैले, दशैंको मौकामा ती स्थलहरूमा आफ्नो पदचिन्ह छोड्नु उचित हुन्छ । सगरमाथाको तस्वीर आफ्नै क्यामेरमा खचाखच पार्ने काममा विलम्ब गर्नुहुँदैन । लुम्बिनीको अशोक स्तम्भको आडमा आफूलाई उभ्याएर छातीमा शान्तिदूतको विल्ला टाँस्न पनि बिर्सन हुँदैन । विश्वसम्पदाका यी दुई धरोहर बाहेक हामीसँग नहेरी नहुने ठाउँ कति छन् कति !

प्राकृतिक सौन्दर्यले भरिभराउ ठाउँमा जाने हो भने थुप्रै राष्ट्रिय निकुञ्ज छन् । विश्व रामसार सूचीमा परेका कोशी टप्पू, माइपोखरी, घोडाघोडी ताल, बीस हजारी ताल, रारा ताल वा फोक्सुन्डो ताल जस्ता अनुपम ठाउँहरू पनि उत्तिकै छन् । पारिवारिक भ्रमणको सन्दर्भमा पोखरा र आसपासका विभिन्न पर्यटकीय स्थलहरू र पदयात्राका मार्गहरू (घाचोक, नौडाँडा, घोडेपानी, घान्द्रुक, सराङकोट तथा अन्नपूर्ण सर्किट) मा पर्ने ठाउँलाई गन्तव्य बनाउन सकिन्छ । खर्चबर्चले भ्याउने हो भने यीमध्ये धेरै स्थानमा तारे होटलको सुविधा पनि सुलभ भइसकेका छन् ।

काठमाडौंमा बसेर अतीतका यात्रा सम्झ्ँदै दशैं मनाउन कहाँ जान पाए हुन्थ्यो भन्ने इच्छालाई कोट्याउँदा इलाममा फिक्कलको चियाबारी, श्रीअन्तुको सूर्योदय र माइपोखरीको सन्नाटालाई आत्मसात् गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ । त्यस्तै, बन्दीपुरको टुँडिखेलमा बसेर एकै दृश्यमा अन्नपूर्ण हिमाललाई शिरदेखि फेदीसम्म हेर्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै, ल्वाङ घलेगाउँमा बसेर बिहानीको सूर्य किरणले पहेंलै बनाएको मार्दी खोला र सुनैको ढिक्का भएर उभिएकी माछापुच्छ«े एकै नजरमा हेर्न पाए कति रमाइलो हुन्थ्यो । सके त फेरि एक पटक फोक्सुन्डो तालको नीलो पानीको गहिराइ नियाल्न पाए कति आनन्द आउँदो हो । मलाई तोप्केगोला (ताप्लेजुङ) को तालमा हरियो झयाउको गलैंचा ओढेका ढुंगामाथि उभिएर पानीभित्र आफ्नो छायाँ हेर्दा पनि अनुपम आनन्द लागेको थियो ।

नेपालको प्राकृतिक छटालाई आफ्नो गन्तव्य बनाउने हो भने, नेपालीको विविध संस्कृतिको आतिथ्यलाई आफ्नो चाहना बनाउने हो भने सुविधा र सामथ्र्य अनुसारको ठाउँमा गएर दशैंलाई अविस्मरणीय बनाउन सकिन्छ । यसबाट नेपाली–नेपाली बीचको सौहार्द सम्बन्ध पनि अझ् मजबूत बन्छ ।

comments powered by Disqus

रमझम