३ कात्तिक २०७० | 20 October 2013

भूटानको खुशी नाटक

Share:
  
- डा. भाम्पा राई
जनसंख्याको २० प्रतिशतलाई खेदाएर जनता खुशी रहेको भन्नु नाटक बाहेक केही होइन ।

भूटानका राजा जिग्मे खेसर नाम्ग्याल रानी जेत्सुन पेमाका साथ ।

राजतन्त्रात्मक मुलुक भूटानको राज्य सञ्चालनमा राजपरिवार र नातेदार बाहेक अरूको खासै भूमिका छैन । अहिले दुई दलीय व्यवस्था भनिए पनि राजपरिवारबाट पूरै निर्देशित र नियन्त्रित छ । पहिले त राजा जिग्मे नै सर्वेसर्वा थिए । चार दिदीबहिनीका उनी एक्ला पति हुन् । फूटबल खेल्थे । टोली लिएर माछा मार्न खोलामा जान्थे । उनी र उनको परिवारले माछा मार्ने खोलामा अरू जान समेत पाउँदैनथे । त्यस्तो समयमा उनले दक्षिणका नेपाली भाषीलाई निकाल्ने योजना बनाएका रहेछन् । दक्षिणका चिराङ, सरभाङ, साम्ड्रूपजोङ्खर, छुका, साम्ची र दागना जिल्लामा नेपालीभाषी बहुल थियौं । हामीलाई खेदाउँदा अन्तर्राष्ट्रिय समुदायले औंला उठाउला भनेर भूटानी राजाले आम राष्ट्रिय खुशी (ग्रस न्याशनल ह्याप्पिनेस– जीएनएच) घोषणा गरेको पनि पछि थाहा भयो । त्यो घोषणा विश्व समुदायलाई भ्रम पार्न गरिएको थियो ।

खुशी छैन भूटान

भूटान सरकारको निम्तोमा गएका पश्चिमा र भारतीयहरूले भूटानमा खुशी रहेको खबर ल्याउने गर्छन् । राजपरिवार, आसेपासे र राजधानी थिम्पू, पारो र पुनाखा वरपर बस्नेहरूको जनजीवन खुशी देखिन पनि सक्छ । तर भूटान त्यति मात्र होइन । शरणार्थीका भूटानमा रहेका आफन्तहरू ठूलो समस्यामा छन् । अर्काे जिल्ला जान पुलिस पास (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) नलिई उनीहरूले पाउँदैनन् । दक्षिण भूटानका ६ जिल्लामा रहेका ८० हजार नेपाली भाषी बालिगले गएका दुवै निर्वाचनमा मतदान गर्न पाएनन् । सम्पत्ति किन्न, पढ्न र सरकारी काम गर्न उनीहरूलाई दिइँदैन । तर, यो खबर भूटान सरकारले बाहिर ल्याउँदैन भने बाहिरियाले पनि भूटान सरकारले भनेको मात्र पत्याउने गरेका छन् ।

दक्षिणका नेपाली भाषीमाथिको अन्यायलाई विश्व समुदायले ध्यान नदिउन् भन्ने उद्देश्य बाहेक भूटानी राजाको आम राष्ट्रिय खुशीको घोषणा गर्नुको अर्काे उद्देश्य देखिंदैन । दक्षिणका नेपाली भाषीलाई खेदाउनुअघि दक्षिण भूटानको शिक्षा र उद्यमशीलता राम्रो स्तरमा थियो । मानिसहरूको समृद्धि र राजनीतिक चेतना पनि बढ्दैथियो । जिग्मेले नेपाली भाषी खेदाउने योजना त्यही कारण बनाएको बुझन गाह्रो पर्दैन । किनभने, बढ्दो राजनीतिक चेतनाले सत्ताको जग हल्लिने आशंका उनलाई थियो । भारतको सहयोग रहनु उनका लागि अनुकूल भइदियो ।

अन्यायको हद

जनसंख्याको करीब २० प्रतिशतलाई खेद्नु नै भूटानी राजाको तानाशाही देखाउन पर्याप्त छ । वाक् स्वतन्त्रता, हिंडडुल स्वतन्त्रता छैन, नेपाली भाषीले दौरा–सुरुवाल लगाउन पाउँदैनन्, नेपाली पढ्न पाइँदैन । नेपाली भाषा पढाइ हुने दक्षिण भूटानका करीब एक सय विद्यालय सन् १९९० मा बन्द भएदेखि खुलेका छैनन् । त्यही कारण दक्षिण भूटानका बालबालिकाले पढ्न पाएनन् ।

मुलुकको २० प्रतिशत जनसंख्यालाई खेदाएपछि प्रतिव्यक्ति आय बढेको देखिनु पनि अस्वाभाविक होइन । खेदाइएकाको सम्पत्ति त्यहाँ भएकालाई बाँडेपछि पाउनेहरू धनी हुने नै भए । दक्षिण एशियामा सर्वाधिक भीसा चार्ज लिने मुलुक भूटान नै हो । अहिले एक लाखभन्दा बढी भारतीय मजदूर लगिएको छ ।

एक जना तानाशाहले एकलाख हाराहारीमा निर्धा हिन्दू र किरातलाई खेद्दा विश्वले ठूलो प्रतिक्रिया नजनाउनु सबैभन्दा ठूलो आश्चर्य हो । त्यति नै संख्यामा क्रिश्चियन वा मुस्लिमलाई कतै खेदाइएको भए संसारमै तहल्का मच्चिन्थ्यो । हामीलाई भूटानले मात्र होइन, संसारले नै अन्याय ग¥यो ।

न्याय हुँदा खुशी

खेदाइएका सबै भूटानीलाई राष्ट्रिय सम्मिलनको नीति ल्याएर देश फर्किने वातावरण बनाइयो भने मात्र भूटानमा साँचो खुशी आउँछ । त्यसका लागि भारत पहिले जसरी तगारो बन्नुहुँदैन । लुटिएको हाम्रो जायजेथा फिर्ता गरिनुपर्छ । हामीले पनि हिंडडुल गर्ने, भेला हुने, संगठन गर्ने, राजनीति वा पेशा गर्ने अधिकार पाउनुपर्छ ।
भूटानबाट भारत जाने निहुँमा लुकेर मकहाँ आउनेहरूले हाम्रो खेतबारी बाँझे रहेको समाचार ल्याउँछन् । नेपाली भाषीको काम सरकारी अड्डाका कर्मचारीले घूस नखाई गर्दैनन् भन्छन्, उनीहरू । राम्रो उपचार व्यवस्था नभएकाले सानोतिनो रोगको उपचार गर्न पनि भारत आउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । त्यस्तो अवस्थालाई कसरी खुशी भन्न सकिएला र ?

(थिम्पू जोनल हस्पिटलमा कार्यरत डा. राई सन् १९९२ मा भूटानबाट खेदिएयता झपाको दमकमा शरणार्थी जीवन बिताइरहेका छन् ।)

comments powered by Disqus

रमझम