८-१४ मंसीर २०७६ | 24-30 Nov 2019

रात्रिकालीन प्याकेज अल्लारे लहडबाजी

Share:
  
- मिलन बगाले
नेपालको पर्यटन भन्नु नै प्रकृति र संस्कृतिको अन्तरघुलन हो।

सरकारले २० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यका साथ ‘भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ । घोषणासँगै निजी र सरकारी दुवै क्षेत्रले आआफ्नै ढङ्गले तयारी गरिरहेका छन् । पर्यटकका लागि नयाँ–नयाँ होटलहरू सुगमदेखि दुर्गम दूरदराजसम्म धमाधम बनिरहेका छन् । आवागमनका लागि बस, जहाज, अन्तर्राष्ट्रिय एअरपोर्ट आदिको प्रबन्ध द्रुत गतिमा भइरहेको देखिन्छ । समग्रमा भ्रमण वर्ष सफल पार्न सरकार हौसिएको छ । हौसिंदा कतिपय ठाउँमा गडबडी पनि भएको छ ।

असोज अन्तिम साता लुम्बिनी पुग्दा मेसो पाइयो, लुम्बिनी त नघुम्ने वर्षको तयारी गरिरहेको छ । भैरहवाको बुद्ध चोकदेखि लुम्बिनी प्रवेशद्वारसम्मको सडक धूलाम्य र हिलाम्य छ । एकाध मजदूर र मेशिनहरू सडकमा राखेर कसैले काम ओगटेर बसे जस्तै देखिन्छ ।

कोही घुम्न आउलान् कि भन्ने डरले बाटो भत्काएर, बनाउँदा बनाउँदैको पुल अलपत्र छाडेर, परिसरभित्र फोहोर थुपारेर, झडी पालेर, पोखरी फोहोर बनाएर तर्साउन बसे जस्तो देखिन्छ, लुम्बिनी । लुम्बिनीको विरुप अवस्था टुलुटुलु हेरिरहेको सरकारले ‘भ्रमण वर्ष २०२०’ का लागि गरेको तयारीको खबरले कसरी उत्साह देओस् खै ?

परिसरभित्र विभिन्न देशले बनाएर संरक्षण गरेका गुम्बा र विहारको सुन्दरता, सरसफाइले मन शीतल बनाए पनि जाने बाटो र नेपाल सरकारको जिम्मामा परेको पाटोले लुम्बिनी घुमौं जस्तै लाग्दैन ।

रात्रिकालीन प्याकेज

पर्यटकलाई नेपाल भित्याएपछि के देखाउने ? व्यवसायी सौराहामा राति–राति जीप सफारी गराएर घुमाउने ‘दिवा सपना’ देखिरहेका छन् भने सरकार चाहिं पर्यटकलाई ‘नारायणहिटीभित्र खाना खुवाउने’ तयारी गर्दैछ । साँझ् ६ बजेदेखि ९ बजेसम्म पर्यटकलाई नारायणहिटी दरबार सङ्ग्रहालय घुमाउने र त्यहाँको लमजुङ खण्ड (कोठा) मा पर्यटकसँग महँगो पैसा लिएर राजकीय भोज खुवाउने सरकारी योजना अखबारमा आएको छ ।

राजाहरूले रात्रिकालीन भोज दिने लमजुङ कक्षमा पर्यटकलाई खाना खुवाउने सरकारी भोक आपत्तिजनक छ । नारायणहिटी दरबारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप व्यवस्थित किसिमले सङ्ग्रहालय बनाएर मात्रै सर्वसाधारणका लागि खुला गरिनुपर्दथ्यो तर त्यसो गरिएन ।

नारायणहिटी सङ्ग्रहालयको प्रत्येक भुइँ र भित्ताको ऐतिहासिक महत्व छ । सङ्ग्रहालयभित्रको डिजाइनका राष्ट्रिय/अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गर्दै यसको गरिमा जोगाउनुपर्छ । रातिराति डुल्ने, भतेर खाने र फोटो खिचाउने ठाउँ होइन, यो ।

राजाहरूको निवास र दरबार हत्याकाण्ड स्थल भएकाले अत्यधिक चासो भएको ठाउँ हो, नारायणहिटी । नेपाली राजसंस्थाको धेरथोर इतिहास बुझ्ेका हरेक विदेशी पर्यटक पनि पस्न र हेर्न रहर गर्ने ठाउँ हो, यो । सम्पदा संरक्षणको मर्म बुझ्ेका विज्ञहरूको मत, अन्तर्राष्ट्रिय अभ्यास सबै हेरेर अत्यन्त सुविचारित गुरुयोजना बनाई त्यसै अनुरूप संरक्षण, मर्मत र अन्य कामहरू गरिनुपर्छ ।

सम्पदा संरक्षण गर्दा आम्दानी बढ्छ, त्यसमा दुईमत छैन तर आम्दानी बढाउने नाममा ऐतिहासिक सम्पत्तिको महिमा र गरिमालाई बचाउन सक्नुपर्छ ।

नारायणहिटीभित्रको रात्रिकालीन भतेरको चर्चासँगै सौराहाको रात्रिकालीन सफारीको रहरले पनि संरक्षणप्रेमीलाई झस्काएको छ । ताल विनाको पोखरा र जङ्गली जनावर विनाको सौराहाको कल्पना गरियो भने त्यहाँको पर्यटन ओरालो झर्छ । सौराहामा दिउँसोको गतिविधि, तडकभडक र कोलाहल नै सम्हालिनसक्नु भैसकेको छ । दिउँसोको पर्यटकीय गतिविधि र जङ्गल सफारीमै लगाम कस्नुपर्ने अवस्था आइसकेको सौराहामा रात्रिकालीन जीप सफारीको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण छ । रातदिनको हल्लाखल्लाले जङ्गली जनावर लखेटिने वा आफैंमाथि आक्रमण गर्न आउने खतरालाई बेवास्ता गरिनुहुन्न । रातको समयमा जङ्गली जनावरले आनन्दले सुत्न वा जङ्गलभित्र विचरण गर्न पाउनुपर्‍यो । रातको समयमा जीपको घारघुर र पर्यटकको हाहाहुहुले जीवजन्तुलाई गम्भीर असर पर्छ र अन्ततः त्यहाँको पर्यटन नै थलिन्छ ।

नेपालको पोखरा, सौराहा, लुम्बिनी वा अन्यत्र कतैको पर्यटन भन्नु नै प्रकृति र संस्कृतिको अन्तरघुलन हो । सौराहा सेरोफेरोलाई प्रकृति र संस्कृतिले दिन सक्नेसम्म दिएको छ । संसारभरका मान्छे तान्ने खूबी सौराहासँग छ— हात्ती, गैंडा र अनेक लोपोन्मुख जनावरहरूको वासस्थान, थारू संस्कृति, उर्वर भूमि, सुन्दर भूदृश्य र सहज बाटो, बसदेखि जहाजसम्म ।

नारायणहिटी परिसर ठूलो छ । दरबार भव्य र सुन्दर छ । त्यसैले यसको जतन गरिनुपर्छ । पर्यटकलाई सम्साँझै होटलभित्र पठाउनुपर्छ भन्ने होइन तर रातिराति घुमाउने यी विकल्पहरू पनि उचित छैनन् । उचित विकल्पसहित पर्यटकलाई दिनरातै घुमाउन सकिन्छ । छानो उधिनेर आकाश र जग उधिनेर पाताल देखाउने लहडभन्दा माथि उठेर भ्रमण वर्ष सफल बनाउन रहर गर्नेको जय होस् !

comments powered by Disqus

रमझम