८-१४ मंसीर २०७६ | 24-30 Nov 2019

ठाडो प्रश्नकर्ता !

Share:
  
- गोपाल गड्तौला
एएफपी, बीबीसी, द टेलिग्राफ, असाइ सिम्बुन जस्ता ख्यातिप्राप्त विदेशी सञ्चारमाध्यममा काम गरेका वरिष्ठ पत्रकार केदारमान सिंहले पञ्चायती व्यवस्था शुरू हुँदा प्रधानमन्त्री बीपी कोइरालालाई गिरफ्तार गरेको घटनादेखि तत्कालीन राजा वीरेन्द्रले २०४६ सालमा दलहरूमाथिको प्रतिबन्ध हटाएको रिपोर्टिङ पनि गरे।

‘यो थियो काठमाडौंबाट केदारमान सिंहको रिपोर्ट ।’

विक्रम राई
साँझ् पौने ९ बजे बीबीसी नेपाली सेवा मा दैनिकजसो सुनिने नाम थियो, केदारमान सिंह । बीबीसी नेपाली सेवा का श्रोता उनको नामसँग परिचित थिए । उनले लामो समय काठमाडौंलाई कार्यक्षेत्र बनाएर रिपोर्टिङ गरे । उनीसँग पत्रकारका रूपमा देखेका र भोगेका धेरै किस्सा छन् ।

बीपी गिरफ्तारीको रिपोर्टिङ

सिंह १ पुस २०१७ मा तरुण दलको भेलाको रिपोर्टिङका लागि साइकल चढेर थापाथली पुगेका थिए । उनी सगरमाथा संवाद समिति मा काम गर्थे । सबैको ध्यान हातमा दियो बोकेर मञ्चमा नाचिरहेकी युवतीमा थियो । एक्कासी सेनाका चार जर्नेल मञ्चमा चढेर प्रधानमन्त्री बीपी कोइराला अगाडि पुगे । सबैको ध्यान त्यतै गयो । बहालवाला प्रधानमन्त्रीलाई स्यालुट समेत नगरी एक जर्नेलले भने, “मौसूफको हुकुम छ ।” बीपीले सोधे, “अहिल्यै ?” सेनाले तत्काल जानुपर्ने बताएपछि बीपी मञ्चबाट तल झ्र्न थाले ।

गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायत नेतालाई पनि उनीहरूले त्यसरी नै तल झरे । सेनाले घेरेर मोटरतर्फ लग्दै गरेका बीपीलाई पत्रकार दीर्घामा रहेका सिंहले सोधे “कहाँ लगेको हो तपाईंलाई ?” बीपीले थाहा नभएको बताए । यही प्रश्न सोध्दा सूर्यप्रसाद उपाध्याय भने फुस्फुसाए मात्र । हक्की स्वभावका गणेशमान सिंहले ‘जहाँसुकै लैजाओस्’ भनेर जवाफ दिए ।

बीपीलाई प्रधानमन्त्रीको झ्ण्डावालमा चढ्न नदिई सेनाको गाडीमा राखे । अन्य मन्त्रीलाई पनि ‘त्यता होइन यता’ भन्दै सेनाकै गाडीमा राखे । त्यो रात सेनाले नेताहरूलाई सिंहदरबारमा राख्यो । सिंह पनि रिपोर्टिङका लागि राति ८ बजेसम्म सिंहदरबारमै बसे । यसबारे उनको समाचार भोलिपल्टको मदरल्याण्ड मा छापिएको थियो । नेताहरू समातिएको खबर फैलिए पनि ठूलो प्रतिरोध कतै भएन । चारैतिर सेना तैनाथ थिए । तर, कांग्रेस र कम्युनिष्टहरूले खुला र भूमिगत दुवै खाले संघर्ष भने थाले । २०१८ सालमा राजा महेन्द्र पूर्वी नेपालको भ्रमणमा थिए । झापाबाट फर्किंदै गर्दा जनकपुरमा राजा चढेको जीपलाई लक्षित गरेर बम विस्फोट गराइयो । भ्रमणमा सँगै गएका पत्रकार सिंह लगत्तैको अर्को गाडीमा थिए । तर, कसैलाई कुनै क्षति भएन ।

राजा महेन्द्र त्यो दिन साँझ बाराको परवानीपुरमा बास बसे । सिंहले त्यहीं मदरल्याण्ड र सगरमाथा संवाद समिति का लागि अन्तरवार्ता गरे । महेन्द्रले पञ्चायती व्यवस्थाबारे भनेका थिए, “मैले यो कदम जनताको हितको लागि नै उठाएको हुँ ।” अन्तरवार्ता लिइसकेपछि राजा महेन्द्रले सिंहलाई सोधेछन्, “तिमीलाई मसँग केही भन्नु छ ?” उनले केही भन्नु नभएको बताए । बाहिर निस्किएपछि अन्तरवार्तामा सँगै रहेका सरकारी कर्मचारीले भनेछन्, “यस्तो मौकामा त केही मागेको भए हुन्थ्यो नि !”

जनकपुर विस्फोटपछि राजभक्ति देखाउन सरकारी अधिकारीले दुर्गानन्द झालाई पक्राउ गरी काठमाडौं ल्याए । केन्द्रीय कारागारको महिला बन्दीगृह बाहिर रूखमा झुण्ड्याएर माघ २०२० मा झाको हत्या गरियो । बन्द राजनीतिक वातावरणमा यस्ता घटना चाँडो बाहिर आउँदैनथे । सिंह भन्छन्, “राणाहरूले समेत ब्रह्महत्या लाग्छ भनेर ब्राह्मणको हत्या गर्दैनथे, तर त्यो घटनामा भने राजाका चाकडीबाजले ब्राह्मण युवककै ज्यान लिए ।”

प्रधानमन्त्रीबाटै धम्की !

२०४६ सालमा पञ्चायतको अन्तिम दिन गन्ती शुरू हुन थालेपछि खपेका धम्की पनि उनको स्मरणमा ताजै छन् । एकपटक आधारातमा विछ्यौनाछेउको टेलिफोन बज्न थाल्यो । फोन उठाउनेबित्तिकै कड्किएको आवाज आयो, “के हो केदारजी, सधैं सरकारको विरोधमा मात्र प्रचारबाजी गर्ने ? अराष्ट्रिय तत्वलाई सघाउने हो भने ठीक हुन्न ।” यस्तो धम्की दिने प्रधानमन्त्री मरिचमान सिंह थिए । उनले नम्र भएर जवाफ दिए, “जनतालाई साँचो खबर दिनु पर्‍यो नि ! जे देखेको हुँ त्यही लेख्छु, यसमा तपाईंलाई के आपत्ति भयो र ?”

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उनलाई राजा र पञ्चायती व्यवस्थाप्रति अनास्था फैलाउने सामग्री बीबीसी नेपाली सेवा बाट नबजाउन बारम्बार आग्रह गरिरहन्थे । तर, उनको भाषा धम्कीपूर्ण भने हुँदैनथ्यो ।

उनले २०४६ सालको आन्दोलनमा जुलूसमै हिंडेर रिपोर्टिङ गर्दा कतिपयले ‘बीबीसीको केदारमान सिंह यही हो’ भनेर औंल्याए भने कतिपय हातै मिलाउन आए । २०४६ सालको आन्दोलन चर्किएपछि राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरेको रिपोर्टिङ उनले नारायणहिटीबाटै गरेका थिए । प्रजातन्त्र आउनुअघि र आएपछि उनको प्रभाव यस्तो थियो कि विदेश मामिलामा आयोजित सरकारी पत्रकार सम्मेलनहरू त उनी नआउन्जेल शुरू नै हुँदैनथे ।

तलब रु.५० !

स्नातक सकेपछि २०१६ सालमा सगरमाथा संवाद समिति मा काम थाल्दा सिंह २० वर्षका थिए । उनको तलब मासिक रु.५० थियो । काम थालेको करीब एक वर्षमा विशेष संवाददाता भए । त्यहीवेला मणिन्द्रराज श्रेष्ठको मदरल्याण्ड मा पनि काम गर्न थाले ।

अंग्रेजीमा राम्रो दक्खल भएकाले सिंहलाई काठमाडौंका विदेशीसँग हिमचिम बढाउन गाह्रो भएन । त्यतिवेला महामारीको रूपमा फैलिएका बिफर, प्राकृतिक विपत्ति, पर्वतारोहणमा आएका पश्चिमाहरूको रुचि र अनुभव, गुम्सिंदो राजनीतिक वातावरण तथा आम जीवनशैली उनका समाचारका विषय थिए । तर, धेरैले राजनीतिक समाचार नै पढ्न रुचाउँथे । राजाको उपत्यका बाहिरको भ्रमणमा प्रायः उनलाई नै लगिन्थ्यो ।

सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र गोरखापत्र ले भारतीय समाचार एजेन्सी युएनआई बाट प्राप्त अन्तर्राष्ट्रिय समाचार मात्र प्रकाशन तथा प्रसारण गर्थे । उतिवेला भारतसँग चीन र पाकिस्तानको सम्बन्ध अहिलेभन्दा खराब थियो । उनी भन्छन्, “ती देशसँग सम्बन्धित समाचार भारतीय सञ्चारमाध्यमबाट पूर्वाग्रही ढङ्गमा आउँथ्यो ।” त्यहीवेला फ्रान्सेली समाचार एजेन्सी एएफपी ले काठमाडौंमा पनि संवाददाता राख्न खोजेको थियो । सिंहले २०१८ सालदेखि एएफपी को काठमाडौं संवाददाता भएर काम थाले । सिंहले काठमाडौंबाट एएफपी, बीबीसी र द टेलिग्राफ यूके का लागि काम गरे । उनी २६ वर्ष एएफपी को काठमाडौं ब्यूरो चिफ भए । बीबीसी नेपाली सेवा मा झण्डै तीन दशक काम गरेपछि २०५२ सालबाट विदा भए । २०६३ सालमा पत्रकारिताको नियमित कामबाट विश्राम लिंदा उनी जापानको प्रख्यात दैनिक पत्रिका असाइ सिम्बुन मा कार्यरत थिए ।

उनले पश्चिमा जगतलाई पत्रकारिताको माध्यमबाट नेपाल बुझ्न सघाए । उनी अहिलेको पत्रकारितासँग सन्तुष्ट भने छैनन् । सिंह भन्छन्, “आज पत्रकारिता फैलिएको छ तर, उँचाइ लिनसकेको छैन ।”
लामो समय सहकार्य गरेका बीबीसी नेपाली सेवा का पुराना पत्रकार मणि राणा उनी निर्भीक पत्रकार भएको बताउँछन् । राणा भन्छन्, “तथ्यमा अडिन सक्ने र पत्रकारमा हुनुपर्ने गुण भएको मान्छे हो ।”

comments powered by Disqus

रमझम