८-१४ मंसीर २०७६ | 24-30 Nov 2019

घर जाने लामो बाटो

Share:
  
६४ वर्षअघि ल्याण्डरोभरबाटै गरिएको लण्डन–सिङ्गापुर यात्राको इतिहास पछ्याएको ‘द लास्ट ओभरल्याण्ड एक्सपिडिसन’ टोलीले हालै केही समय नेपालमै विताएको थियो।

शेइलिन टिओ

नेपालबाट तिब्बती पठारतिरको यात्रामा जानुअघि पाटन दरबार स्क्वायरमा राखिएका ल्याण्डरोभर ।कुन्द दीक्षित
पूर्वी नेपालमा मनसुनी वर्षा कम हुन थालेको थियो, दशैं पर्वका वेला तीनवटा ठूला ल्याण्डरोभर झापाको काँकडभिट्टा आइपुगे ।

सिङ्गापुरदेखि लण्डनसम्मको यो ‘द लास्ट ओभरल्यान्ड एक्सपिडिसन’ ले ‘द अक्सफोर्ड एण्ड क्याम्ब्रिज फार इस्टर्न एक्सपिडिसन’ को ६४ वर्षअघि हिंडेको बाटो पछ्याइरहेको छ ।

भर्खरै स्नातक सिध्याएका ६ जना युवा सहित १० जनाको टोली सिरिज वानका अक्सफोर्ड र क्याम्ब्रिज नामका दुई र थप अर्को ल्याण्डरोभरमा १९ देश छिचोल्दै २९ हजार किलोमिटरको यात्रा तय गर्दैछन् । फरक यत्ति छ कि पहिलो ओभरल्याण्ड एक्सपिडिसनले लण्डनबाट सिङ्गापुर यात्रा गरेको थियो, अहिलेको यात्रा ठीक उल्टो हुँदैछ ।

एडम बेनेटको ६४ वर्ष पुरानो अक्सफोर्ड गएको महीना पाटन दरबार स्क्वायरमा पस्यो । दशैंको वेला थियो, सबै नेपालीले आफूसँगका पार्टपुर्जा, यन्त्र पूजा गर्ने क्रममा अक्सफोर्ड पनि पुजियो । अभियान दलका नेता एलेक्स बेस्कोबी र चालकहरूले सवारीमा अबिर छर्किए । रेडिएटर्समा सयपत्रीको माला लगाइदिए र बाँकी अभियान गाडी नबिग्रिकन सम्पन्न होस् भनेर देवतालाई प्रार्थना गर्दै घण्टी पनि बजाए ।

सन् १९५५ मा दार्जीलिङको मानेभञ्ज्याङ पुगेको अक्सफोर्ड ल्याण्डरोभर । अघिल्लो महीना मात्र सोही स्थानमा खिचिएको उही ल्याण्डरोभरको तस्वीर (तल) ।
यिनै बेस्कोबी, जसले सिङ्गापुर–लण्डनको पहिलो ल्याण्डरोभर यात्रामा सहभागी टिम स्लेसरसँग पुनः यात्रा गर्ने सपना देखे । अहिलेको अभियानमा स्लेसरका नाति नाथन जर्ज पनि छन् । अहिले ८८ वर्ष लागेका टिमले सन् १९५५ मा यस्तो अविस्मरणीय यात्रा गरेका थिए ।

यात्राको दक्षिणपूर्वी एशिया क्षेत्रको थालनी सिङ्गापुरबाट मलेशिया, थाइल्याण्ड, म्यानमार हुँदै भारततर्फ लागेको थियो, जुन पुरानै पदचाप थियो । त्यसवेलाका कतिपय गोरेटा, सामान्य बाटो अहिले खुला र फराकिला राजमार्ग बनेका छन् । नयाँ शहर, अग्ला घर बसिसकेका छन् ।

यो यात्राको शुरुआत २५ अगष्टमा सिङ्गापुरबाटै गरिएको थियो र यसले १४ डिसेम्बरमा लण्डन टेक्ने लक्ष्य लिएको छ । अक्सफोर्ड र उसका सहयात्री समूहले बाटाभरि उत्सुक दर्शकहरूलाई आकर्षित गरे । दार्जीलिङमा यो समूहलाई ‘द लेडी विथ ल्याण्डरोभर’ उपनामले चिनिएकी स्थानीय सामन्था दोङ सहितको समूहले स्वागत गर्‍यो ।

सन् १९५६ मा दुई रोभरमध्येको अक्सफोर्डले पटनाको ट्रंक रोडदेखि काठमाडौंसम्म भर्खरै खोलिएको त्रिभुवन राजमार्ग हुँदै यात्रा गरेको थियो ।

भारत, पाकिस्तान र अफगानिस्तानका सीमा तनावका कारण यस पटकको यात्रा भने भारतबाट नेपालहुँदै तिब्बततर्फ जानेछ । पहिलो ओभरल्याण्ड यात्राको सहयोगी ‘बीबीसी’ का ‘नेचर जर्नालिस्ट’ डेविड एटेनबरो आजको जस्तो अवस्था भएको भए पहिलेको यात्रा सम्भव नहुने बताउँछन् ।

“विश्व अहिले निकै विभाजित भइसकेको छ, देशका सीमाहरू प्रवेश गर्न नै रोक छ, त्यसैले पहिले जस्तै यात्रा अहिले गर्न सकिन्छ भन्नेमा मलाई शड्ढा छ”, उनी भन्छन् ।

काठमाडौं छाड्नुअघि बेस्कोबीले गम्भीर हुँदै भने “नक्शाका रेखाहरू आफ्ना ठाउँमा छन् । तर, हामी के पाइरहेका छौं भने मानवताको यो सुन्दर अनि समस्त शृङ्खला जहाँ प्रत्येक संस्कृति वा धर्म सिमानाहरूमा बन्द हुँदैनन् । यो फैलिन्छ, विलाउँछ र एकत्रित हुन्छ ।”

काठमाडौं हुँदै रसुवा अनि सीमा छिचोल्दै तिब्बत पुगेको यो टोली यतिवेला उज्वेकिस्तान पुगिसकेको छ ।

comments powered by Disqus

रमझम