त्यही ठाउँमा राखिएको नेपाली पुस्तकहरूको पसलमा पुरानादेखि नयाँ लेखकसम्मका पुस्तक पाइन्छन् । नेपाली सांस्कृतिक पोशाक, पूजा सामग्री, नेपाली काष्ठकला, हस्तकलाका पसल पनि छन् । हिन्दू संस्कार अनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्री खोज्न टोकियोका नेपाली त्यहीं पुग्छन् । एक दशकअघि पढ्नका लागि जापान पुगेका पुष्करजङ्ग थापा (३७) ले टोकियोमा नेपालको झल्को दिने व्यवसाय शुरु गरेका हुन् । जापानमा भारतीयका पसलले राम्रै व्यापार गरिरहेको देखेपछि उनले पनि नेपाल चिनाउने काम गर्ने प्रेरणा पाएका थिए । नेपालीकै रेस्टुरेन्टमा नेपाली खाना भन्दै भारतीय परिकार खुवाएपछि उनले पहिला नेपाली रेस्टुरेन्ट खोले ।
रेस्टुरेन्टपछि उनलाई नेपाल चिनाउने ‘स्टल’ राख्ने सोच आयो । विदेशमा समेत नेपालीपन र अपनत्व जोगाउन आफूले नयाँ अवधारणामा काम गरेको उनको भनाइ छ । त्यसका लागि उनले नेपाली सामग्रीको व्यवसाय थाले जहाँ नेपालमै उत्पादन गरिएका सामग्री मात्र पाइन्छ । नेपाली सामान खोज्ने जो–कोही उनको शपिङ मल नेपाली मुरा पुग्छन् ।
“काम शुरु गर्नुअघि मनमा डर नलागेको होइन तर, हिम्मतका साथ जग्गा भाडामा लिएर काम शुरु गरें” उनी भन्छन्, “अहिले रेस्टुरेन्टको नेपाली स्वादमा जापानीहरु पनि आकर्षित भएका छन्, अन्य सामग्री खोज्न आउने नेपाली पनि बढेका छन् ।” कतिपय जापानीहरु नेपाल आउनुअघि जानकारी लिन र नेपाली परिकार चाख्न त्यहाँ पुग्ने गरेका छन् । नेपाली चाडपर्वमा विभिन्न सांस्कृतिक तथा स्थानीय पोशाक, पूजा सामग्री र अन्य नेपाली वस्तुहरूको माग बढ्छ ।