८-१४ मंसीर २०७६ | 24-30 Nov 2019

‘निस्फिक्री नदी’

Share:
  
- कनकमणि दीक्षित
‘विनाश विना विकास सम्भव छैन’ भन्ने कथनले प्रकृति र जनमानस दुवैको भविष्य खल्बलाउँदैछ । खै खोला ? सिक्किमको टिष्टा जलाशयमा बनेका बाँधहरु ।

नेपालको पश्चिमी सीमा महाकाली नदी र यसको उद्गमबारे चर्चा चलिरहेकै वेला पूर्वी सीमातर्फ आँखा लगाऊँ । बीचमा छ उत्तर–दक्षिणको सिंगलीला, अनि सिमानाको दुईतिर हिमाली धार बगिरहेछन्, दार्जीलिङ–सिक्किमपट्टि टिष्टा नदी र नेपालपट्टि तमोर । कञ्चनजंघाको पूर्वी मोहडाबाट झर्दछ टिष्टा भने तमोर उक्त हिमशृंखलाको पश्चिमबाट ।

टिष्टालाई त अब नदी भन्न पनि नमिल्ने भइसकेको छ । भारतका ठूल्ठूला जल इन्फ्रास्ट्रक्चर कम्पनी, लगानीकर्ता तथा गान्तोक सरकारको सहकार्यमा यति धेरै ‘क्यास्केड’ (एकपछि अर्को) बाँधले टिष्टालाई बाँधेको छ कि १०० किमी लम्बाइमा १३ किमी नदी मात्र निस्फिक्री बगेको छ ।

बाँध, पेन्स्टक, सुरुङ र नहरहरूले पूरै टिष्टाको परिचय एउटा लामो जलविद्युत् फ्याक्ट्री जस्तो बनाइदिएको छ । यहाँ छन् बडेमानका आयोजना जस्तै २०० मेगावाटको टिष्टा–३, ५२० मेगावाटको टिष्टा–४ र ५१० मेगावाटको टिष्टा–५ ।

सिंगलीला वारि टिष्टाकी भगिनी नदी तमोर छ, जसको १९० किमी मूलधारमा आजसम्म एउटै बाँध बनेको छैन । छ त मात्र तमोरसँग मिसिने पुवा खोलामा — ६.२ मेगावाटको विद्युत् आयोजना । लोडसेडिङको कष्टकर समय छिचोलेर नेपाल आत्मनिर्भर बन्ने विद्युतीय यात्रामा छ । समृद्धिको कसी जलविद्युत् हो यसमा कुनै शड्ढा छैन । गएको साता काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सहभागिता सहितको ‘पावर समिट’ मा उत्पादक, लगानीकर्ता र सरकारको उत्साहित सहभागिताले पनि यो दर्शाउँथ्यो ।

नेपालमा दशकौंदेखि जलविद्युत्लाई ‘सेतो सुन’ (‘ह्वाइट गोल्ड’) भनेर बखान गरिए पनि नागरिक र अर्थतन्त्र दुवैले लोडसेडिङको ठूलो मार घरीघरी खेप्नु परेकै हो । तर पनि तमोरको मूलधारमा एउटै जलविद्युत् आयोजना बनेन । तर, हामीलाई उतापट्टिको टिष्टामा जस्तै ठूलो हस्तक्षेप गरी तमोर ‘नदी’ को चिनारी मास्नु पनि थिएन/छैन ।

मुलुकको ‘समृद्धि यात्रा’ मा कसैले जङ्गल र नदी बचाउने कुरा गरे उसलाई सोझै ‘विकास विरोधी’ भन्दै हिलो छ्याप्ने काम हुने गरेको छ, मानौं संरक्षणवादी ‘अराष्ट्रिय तत्व’ हुन् । वातावरण र जनसमुदायको हित खातिर आवाज उठाउने जुझारूलाई नेपालमा मात्र होइन अन्यत्र पनि यस्तै आरोप लगाइने गरिन्छ ।

नेपालमा पर्याप्त जलविद्युत् उत्पादन हुनैपर्छ, जनतालाई सुख दिन । र, मुलुक जलविद्युत्मा आत्मनिर्भर मात्र होइन, निर्यातको क्षमता पनि राख्नुपर्दछ । तर, नदीहरुमा बन्ने बाँध माथि जसरी संसारभर नै बहस उठ्न थालेको छ त्यसमा कान थाप्न जरुरी छ ।

आज संसारका ७५ लाख माइल बग्ने नदीहरूमध्ये ३७ प्रतिशत ठूला नदीको बहावमा मात्र कुनै संरचनाको रोकतोक छैन । बाँधिनबाट बच्ने नदीहरु विशेषगरी दक्षिण अमेरिकाको एमजन, अफ्रिकाको कङ्गो र आर्कटिक् क्षेत्रमा पर्दछन् । १७०० माइलको चीन–बर्मामा बग्ने साल्विन एक मात्र ठूलो नदी हो जसमा एउटै बाँध छैन ।

संसारभर ६० हजार ठूला बाँध बनेका छन्, ३७०० निर्माणाधीन छन् । यसअघि पुग्न गाह्रो ठानिएका ठाउँहरुमा पनि अब धमाधम बाँध र जलाशय बन्दैछन् । एमेजन्को विशाल जङ्गलबीच ५०० बाँध बन्दैछन् । भारतको अरुणाचल प्रदेशका नदीहरूको हाल टिष्टा जस्तो हुँदैछ । नेपालकै कतिपय नदीको पनि यस्तै हालत हुँदैछ ।

एकातिर बाँध र जलाशय, बिजुली र सिंचाइको उत्साह छ, अर्कोतिर भने फरक अभियान शुरू भएको छ — नदीलाई विना संरचना, बाधा निस्फिक्री अविरल बग्न दिनुपर्छ भन्ने । यो प्रकृतिप्रतिको माया मात्र नभई वैज्ञानिक सोचमा आधारित पनि छ । बाँध, जलाशय र तटबन्ध जस्ता संरचनाले नदीका प्राणी, जलचर र छेउछाउको प्रकृति सबैलाई असर पार्दछ । बाँध र जलाशयको कारण नदीले समथरलाई उर्वर बनाउने माटो फैलाउन पाउँदैन । धेरै ‘सिल्ट’ बोक्ने कोशी नदीलाई जसरी चतराको दक्षिणमा पूर्व–पश्चिम तटबन्धभित्र बाँधिएको छ यसले जोखिम निम्त्याइरहेको छ, तटबन्ध फुटिहाले मानवीय क्षति अकल्पनीय हुनेछ ।

हामी जलविद्युत्लाई ‘क्लिन इनर्जी’ भन्न रूचाउँछौं । डिजल, कोइलाबाट उत्पादित बिजुलीको तुलनामा यो पक्कै पनि सफा ऊर्जा हो । तर विज्ञहरु भन्न थालेका छन्, जलविद्युत् क्लिन इनर्जी होला, ‘ग्रीन इनर्जी’ भने होइन, त्यसैले पनि निरपेक्ष बस्न मिल्दैन । कतै त बाँध र तटबन्ध भत्काउने क्रम पनि शुरू भएको छ । अमेरिकामा करीब १५०० बाँधहरू ‘विनिर्माण’ गरिएका छन्, नदी–नालालाई पुरानै बहाव र बाटोमा बग्न दिइएको छ ।

आज नेपालमा बाँध बनाउने ‘मोमेन्टम्’ छ । मेघ आले जस्ता अभियन्ताले मात्र एकोहोरो आवाज उठाइरहेका छन् — कुनै एक नदीलाई त नछोइदेऊ, स्वच्छन्द बग्न देऊ भन्दै । आज उनको अनुनय सुन्ने थोरै छन् । शायद भोलिपर्सि त्यो संख्या बढ्नेछ, जसले भन्नेछन् — विकास चाहिन्छ, विना विनाश ।

comments powered by Disqus

रमझम